February 17th, 2017

आदिवासी/जनजाती समुदायका विद्यार्थीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो छात्रवृत्ती

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोपोन्मुख आदिवासी/जनजाती समुदायका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । लोपोन्मुख आदिवासी/जनजाती समुदायका विद्यार्थीको उच्च शिक्षामा विशेष टेवा पुर्याउने उद्देश्यले स्थापना गरेको रा.वा.बैंक स्वर्ण जयन्ती छात्रवृत्ती बैंकले शुक्रबार एक समारोहका बीच प्रदान गरेको हो । देशभरका विभिन्न कलेजमा अध्ययनरत लोपोन्मुख आदिवासी/जनजाती समुदायका ६ जना विद्यार्थीहरुलाई कक्षा ११ र १२ तथा स्नातक तह अध्ययनका लागि सो छात्रवृत्ती प्रदान गरिएको हो । 

कक्षा ११ र १२ अध्ययनका लागि धर्मराज पथ्थरकट(कुशवाडीया)का लागि मासीक रु ३,५००।– का दरले दुई वर्ष सम्म बैंकले छात्रवृत्ती प्रदान गरेको छ । त्यसैगरी मासीक रु ५,०००।– का दरले तीन वर्ष सम्म स्नातक तह अध्ययन गर्नका लागि कृष्णगोपाल हायु, प्रविन्द्र राजी, विपुल मेचे चौधरी, मेनुका हायु र राजाराम राजीलाई छात्रवृत्ती प्रदान गरिएको छ । उक्त छात्रवृत्ति बैंक संचालक समितिका सदस्य डा.रामदेव सिंहद्धारा प्रदान गरिएको हो । 

सो अवसरमा संचालक डा.सिंहले बैंकको संस्थागत सामाजीक जिम्मेवारी अन्तर्गत छात्रवृत्ती प्रदान गरिएको बताए । साथमा छात्रवृत्ति पाउने विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि शुभकामना समेत पूदान गरे । 

कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद बैद्यले यस किसिमको छात्रवृत्ती बैंकले गत वर्षदेखि दिँदै आइरहेको जानकारी गराए । साथमा, बैंकले गरेको राम्रो कार्यहरुको बारेमा आ–आफ्नो स्थानका साथीभाई तथा छरछिमेक बीच प्रचार गरिदिन आग्रह समेत गरे ।

सो छात्रवृत्ती प्रदान कार्यक्रममा बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कबिराज अधिकारी, केशब प्रसाद लम्साल, विभागीय प्रमुख उद्धब प्रसाद खनाल, कपिलमणी ज्ञवाली, देबेन्द्र रमण खनाल, शंकर कुमार रायमाझी, विभागीय उप प्रमुख नारायण प्रसाद सुवेदी, कम्पनी सचिव शंभुनाथ योगी  लगायतको उपस्थित थियो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]