February 17th, 2017

सुधारतर्फ सेयर बजार : साताभरमा ४७ अंकले बढ्यो

साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भयो । कारोबार रकममा पनि राम्रो सुधार देखियो । समग्रमा भन्नुपर्दा, यो साता सेयर बजार सुधारोन्मुख देखिएको छ । १२ सयको रेञ्जमा झरेको नेप्से परिसूचक १३ सयको मध्यतिर पुगेको छ । बजार बढेसँगै लगानीकर्ताको मनोबल पनि बढ्दै छ । साथमा सूचिकृत कम्पनीहरुको सेयरमूल्यमा पनि सुधार देखिएको छ । 

साताको सुरुको दिनमा ४३.७२ अंकको पहिरो गएको बजारमा सोमबार २६.४८ अंकको वृद्धि देखियो । सोमबार कारोबार खुलेको तीन घण्टासम्म त बजार ओरालै लागिरहेको थियो । तर, अन्तिम एक घण्टामा बजारले युटर्न मार्यो र दोहोरो अंकको वृद्धि हासिल गर्यो । मंगलबार सामान्य ४.०१ अंकले घटेको बजार बुधबार ४१.८३ अंकले बढ्यो । विहीबार पनि सेयर बजार २७.०५ अंकको वृद्धिसँगै बन्द भयो । फलस्वरुप गत साताको अन्तिम दिन १२९६.२३ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३४३.८५ अंकमा छ । जसअनुसार, यो साता नेप्से परिसूचक ४७.६२ अंकले बढेको देखिन्छ । 

यो साता कारोबार रकममा पनि उल्लेख्य सुधार भएको देख्न सकिन्छ । साताको पहिलो दिन ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडमाथिको कारोबार भयो । मंगलबार बजार घटेसँगै कारोबार पनि ४१ करोडमा झर्यो । त्यस्तै, बुधबार ५२ करोड र विहीबार ६५ करोड ७१ लाख रुपैयाँको कारोबार भयो । समग्रमा यो साता सेयर बजारमा दुई अर्ब ५८ करोड ६६ लाख ४४ हजार नौ सय २७ रुपैयाँ पुँजी परिचालन भएको हो । यो रकम गत साताको कारोबार रकमको तुलनामा ४८.७२ प्रतिशत बढी हो । गत साता सेयर बजारमा एक अर्ब ७३ करोड ९२ लाख १२ हजार चार सय ८८ रुपैयाँ पुँजी परिचालन भएको थियो ।  

बैंक अफ काठमाण्डू लुम्बिनी, प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, शिखर इन्स्योरेन्स जस्ता ठूला कम्पनीको धेरै कारोबार भएको छ । यो साता बीमा कम्पनीहरुका सेयरधनीले राम्रो कमाई गरेका छन् । यसै सातादेखि नेप्सेमा कारोबार खुलेको दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]