February 17th, 2017

साताभर चर्चामा रहेका १० बैंकिङ खबरहरु

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । काजगी मुद्रा नेपालमै छाप्ने सरकारको तयारीसम्बन्धी समाचारले विशेष चर्चा पायो । कृषि विकास बैंकको विशेक्ष् मुद्धती निक्षेप योजनाले पनि सबैको ध्यान खिच्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

कृषि विकास बैंकको विशेष मुद्धती निक्षेप योजना
कृषि बिकास बैंक लिमिटेडले “बिशेष मुद्धती निक्षेप योजना” नामको नयाँ सेवा सञ्चालनमा ल्यायो । बैंकले आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखेर बार्षिक १२ प्रतिशत व्याज मासिक रुपमा उपलब्ध गराउने गरि यो योजना ल्याएको हो । प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थाहरुले हरेक वर्गका ग्राहकहरुलाई लक्षित गरी आकर्षक ब्याजमा आधारित निक्षेप सुविधा उपलब्ध गराउँदै आएको परिप्रेक्षमा आफूहरुले पनि आकर्षक निक्षेपको नयाँ सेवा सञ्चालन गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको बैंकले जनाएको छ । “बिशेष मुद्धती निक्षेप योजना”को अबधि एक बर्ष रहेको छ । यस योजनामा व्यक्तिगत ग्राहक मात्र सहभागि हुन पाउने समेत बैंकले स्पष्ट पारेको छ । न्यूनतम तीन लाख मौज्दात राखिएको यस योजनामार्फत सर्वसाधारणको अंश बृद्धि हुने, ग्राहक पहुँच बढने र तरलता ब्यवस्थापनमा समेत सहज हुने विश्वास बैंकले दिएको छ ।

नोट र राहदानी नेपालमै छाप्ने तयारी
नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्र जस्ता अति सुरक्षित रुपमा गर्नुपर्ने छपाईका काम अब नेपालमा नै हुने भएको छ । सरकारले सोसम्बन्धी कार्य अघि बढाउन सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि छलफल गरेको छ । छलफलबाट प्राप्त सुझावका आधारमा मुद्रण विभागले प्रस्तावित विधेयक परिमार्जन गरी मन्त्रालयमा पेस गर्ने छ । मन्त्रालयले सम्बद्ध निकायको परामर्श लिई अन्तिम रुप दिने निर्णय गरेको छ । 

ग्लोबल आईएमई र प्यासिफिकको एकीकृत कारोबार
ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकलाई आफुमा गाभेर यसै साताको आइतबारदेखि कारोबार सुरु गर्यो । बैंक सञ्चालक समितिको निर्णयानुसार ग्लोबल आइएमई  बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सार्ने प्राप्ति (एक्विजिशन) गरेको हो । प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी सात अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

२४ हजार युवालाई विनाधितो ऋण
राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी स्वरुप कार्यविधि तयार भएका युवासँग आवेदन माग गर्यो । परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा १० युवालाई पाँच लाख रुपैयाँको निब्र्याजी ऋण उपलब्ध गराउनेछ । त्यसमा ५० प्रतिशत महिला पर्नेछन् । सो ऋण प्रतिवर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्नेछ । कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुन बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।

बैंक र सुनको सुरक्षा
चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैङ्क, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसै घण्टा परिचालन गरियो । सातको सोमवारदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले बताएकोे छ । यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतवार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो ।

स्टान्डर्ड चार्टर्डलाई एफपीओ निष्काशनको अनुमति
स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले एफपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पायो । बैंकले १२ सय ९० रुपैयाँका दरले सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्न लागेको हो ।

सिटिजन्स बैंकको सबै बचत खातामा व्याज बढ्यो
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुधबारदेखि लागु हुने गरी यस बैंकको सम्पूर्ण वचत खाताहरुमा १ प्रतिशतका दरले ब्याज बृद्धि गर्यो । बैंकले आफ्नो बचत खाताहरुको ब्याजदर न्यूनतम २ प्रतिशत र अधिकतम ४ प्रतिशत सम्म हुने गरी व्याज दर कायम गरेको छ । यसोही दिनदेखि लागू हुने गरी बैंकले सिटिजन्स ५ वर्षिय मुद्दति योजना समेत सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत मुद्दति खातामा वार्षिक १२ प्रतिशत सम्म व्याजदर पाइने छ । यो योजना एक देखि पाँच वर्षसम्मको लागि रहेको छ । यस योजना अन्तर्गत न्यूनतम एक लाख रुपैयाँमा मुद्दती खाता खोल्न सकिने छ । दुई वर्षसम्मको मुद्दती खाता हुने र ग्राहकले जुनसुकै वखत आफनो खातामा रहेको रकम झिक्न सक्नेछन् । यसैगरी २ वर्ष भन्दा वढी अवधिको मुद्दती खाता हुने ग्राहकले २ वर्ष पश्चात कुनै पनि बखत आफ्नो रकम झिक्न सक्नेछन् । यसरी आफ्नो खाताबाट रकम झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । 

नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्यो । त्यस्तै, सोमबार राष्ट्र बैंकले ९१ दिने अवधिका लागि ७७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्यो ।  

दुई सहकारी संस्थाबीच एकीकरण
काठमाडौंको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जोरपाटी स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्थाले हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरे । एकिकृत संस्थाको चुक्ता पूँजी एक करोड ६६ लाख ७८ हजार रुपैयाँ, बचत ६ करोड २१ लाख ५० हजार, कर्जा लगानी ८ कराड ८३ लाख ९० हजार रुपैयाँ पुगेको छ । दुवै संस्थाको गरी सेयर धनी संख्या ८ सय ९१ पुगेको छ । एकिकरणपश्चात दुबै सस्थाको कुल पूँजी १० करोड ७५ लाख पुगेको छ ।

बैंककै कर्मचारी चोर निक्ले
धनगढीको नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट २३ लाख ४४ हजार रुपैयाँ हराएको खबर फैलिएको एक सातामा बैङ्ककै एक कर्मचारीले सो रकम चोरी गरेको फेला पर्यो । चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो । निजले माघ २८ गते बैङ्कको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको छ । पचोरी गरेको रकम निजले आफन्तका घरमा लुकाइराखेका थिए । रकम चोरी भएपछि बैङ्कले आइतवार जिल्ला प्रहरी कार्यालयमा खोजबिनका लागि निवेदन दिएको थियो । 

अन्य

  • महाकाली बिकास बैंक र बुम रेमिट्यान्सबिच रेमिट्यान्स सम्झौता भयो । 
  • सात वर्षदेखि भाडाको घरबाट बैंकिङ कारोबार सञ्चालन गर्दै आएको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नै स्वामित्वको भवनबाट कारोबार सुरु गर्यो । 
  • आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक भरतपुर र नवलपरासीमा शाखा कार्यालय विस्तार गर्यो ।
  • सिद्धार्थ डेभलपमेट बैंक लिमिटेडले पाल्पाको तानसेन बजारमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्यायो ।
  • नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता गर्यो ।
  • हिमालयन बैंक लिमिटेडले ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का वालवालिकाहरुलाई सहयोग प्रदान गर्यो ।
  • प्राईम कमर्सियल बैंक र बुम रेमिट्यान्सबिच बिप्रेषण सम्झौता भयो ।
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खज्र्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली बित्तीय सेवा शुभारम्भ गर्यो ।
  • सिद्धार्थ बैंकको पन्ध्रौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्यो । 
  • कुमारी बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पायो । 
     

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]