February 16th, 2017

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शशि राज पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले फाइनान्सलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिट्यान्स लगायत कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्नेछन् ।

यस प्रणालीमा हालसम्म कम्पनीले ६९ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीहरु र १ मर्चेन्ट बैकिङ्ग कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । श्री एन्भेष्टमेन्ट एण्ड फाइनान्ससँगको सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ७३  पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]