February 16th, 2017

चार विकास बैंकलाई किनेको एनसीसीको मुनाफामा उल्लेख्य गिरावट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्ष ईन्टरनेशनल, एपेक्स, आईडी र सुप्रिम डेभलपमेन्ट गरी चार वटा विकास बैंकलाई खरिद गरेको बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव ५६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनसीसीले २४ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा एक सय आठ दशमलव २५ प्रतिशतले वृद्धि गरी ५५ अर्ब ४६ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले एक सय २२ दशमलव ८७ प्रतिशत बढाएर ४८ अर्ब ४२ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा एनसीसीको खुद ब्याज आम्दानी एक सय चार दशमलव १५ प्रतिशतले बढेर एक अर्ब तीन करोड ११ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६७ दशमलव ५२ प्रतिशतले घटेर सात करोड ६७ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा चार करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ६५ करोड ३७ लाख रुपैयाँ राखेको छ भने दुई अर्ब ३० करोड ३९ लाख रुपैया जगेडा कोषमा राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५४ प्रतिशतले बढेर एक दशमलव ८४ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव तीन प्रतिशतले बढेर १२ दशमलव ०५ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रति शेयर आम्दानी वार्षिक १६ दशमलव १४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ४९ दशमलव २४ रुपैयाँ, तरलता अनुपात २७ दशमलव ३३ प्रतिशत र मूल्य आम्दानी अनुपात २२ दशमलव ४९ गुणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]