February 14th, 2017

नेपालमै छापिने भो : पैसा पनि, राहदानी पनि

नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्र जस्ता अति सुरक्षित रुपमा गर्नुपर्ने छपाईका काम अब नेपालमा नै हुने भएको छ । सरकारले सोसम्न्धी कार्य अघि बढाउन सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि छलफल गरेको छ । छलफलबाट प्राप्त सुझावका आधारमा मुद्रण विभागले प्रस्तावित विधेयक परिमार्जन गरी मन्त्रालयमा पेस गर्ने छ । मन्त्रालयले सम्बद्ध निकायको परामर्श लिई अन्तिम रुप दिने निर्णय गरेको छ ।

हाल बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षणसम्बन्धी सम्पूर्ण छपाइ विदेशमा हुने गरेको छ । राष्ट्र बैंकले चीन, भारत, इन्डोनेसियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । भिन्नभिन्न छपाइका कामका लागि विदेशस्थित मुद्रण कम्पनीमा छपाई गर्ने गरिएको र यस्तो छपाइवापत ठूलै रकम खर्च हुने गरेको छ । २० करोडप्रति बैंक नोट छाप्दा ४२ करोड रुपैयाँ सुरक्षण छापाखानालाई भुक्तानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैँकका अनुसार, बैंक नोट छाप्न वार्षिक ५० करोड रुपैयाँभन्दा बढी रकम बिदेशिने गरेको छ । यस्तै, एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजिजमा छाप्ने गरिएको छ । 

हालै मात्र नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नोट छपाईका लागि चिनियाँ कम्पनीसँग र १० रुपैयाँ दरका नोट छपाईका लागि फ्रान्सेली कम्पनीसँग सम्झौता गरेको छ । चिनसँग पाँच रुपैयाँका २६ करोड थान नोट छपाउन ३० लाख ७० हजार ६ सय अमेरिकी डलर र फ्रान्ससँग १० रुपैयाँका २४ करोड थान नोट छपाउन ३० लाख ६४ हजार आठ सय यूरोको खरिद सम्झौता भएको हो । त्यस्तो खर्चको भुक्तानी वैदेशिक मुद्रामा गर्नुपर्ने भएकाले वैदेशिक मुद्राको सञ्चितीमा समेत भार पर्ने गरेको छ । यस्तै भारलाई कम गर्ने उद्देश्यले सरकारले स्वदेशमै छपाई गर्नेसम्बन्धी योजनालाई कार्यान्वयनमा ल्याउन लागेको हो । 

यसरी गरिन्छ नोट निष्काशन
नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले निर्णय गरेबमोजिम हुन्छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ । त्यसरी छापिने नोटमा ६ अङ्कको नम्बर राखिएको हुन्छ । ६ अङ्कको नम्बर राखी ‘अ १’ बाट नोट छाप्न शुरू गरी ‘अ १००’ सम्म पु¥याइन्छ । यसको आवश्यकताअनुसार ‘क’ देखि ‘ज्ञ’ सम्म नम्बरसमेत राखी नोट छाप्ने काम गरिन्छ ।

नेपाल राष्ट्र बैङ्कमा गभर्नरसहितको विज्ञ सम्मिलित नोट डिजाइन समिति रहेको हुन्छ । नोट डिजाइन गरी राष्ट्र बैङ्कको बोर्डबाट स्वीकृति गराएपछि मन्त्रिपरिषद्मा पेश गरिन्छ । स्वीकृत भएको नोटमा गभर्नरको हस्ताक्षर स्क्यान गरेर राखी नोट छाप्ने काम गरिन्छ । राष्ट्र बैङ्कले नोट छाप्नुपूर्व ग्लोबल टेण्डर आह्वान गरेर प्राविधिक र आर्थिक पक्ष सबल रहेको कम्पनीलाई नोट छाप्ने कामको जिम्मा दिइन्छ । छापिएको नोटको ‘प्रिफेक्स नम्बर’ चलनचल्तीमा ल्याएको सूचना राष्ट्र बैङ्कले जारी गरेपछि मात्र नयाँ नोटको मान्यता हुन्छ । समितिको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बैङ्क नोट कुनै तोकिएको ठाउँ वा अड्डाबाहेक अन्यत्र नचल्ने गराउन सक्छ । बैङ्कद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएको नोट नेपालभित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुने नेपाल राष्ट्र बैङ्क ऐनको दफा ५३ मा व्यवस्था गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]