February 14th, 2017

राष्ट्रिय वाणिज्य बैंकले कमायो एक अर्ब २१ करोड मुनाफा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब सात करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा सात दशमलव ६८ प्रतिशतले वृद्धि गरी एक खर्ब ३८ अर्ब २९ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २१ दशमलव ६४ प्रतिशतले वृद्धि गरी ९३ अर्ब ९० करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २६ दशमलव ७६ प्रतिशतले बढेर तीन अर्ब चार करोड ७६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३० दशलमव १३ प्रतिशत बढेर एक अर्ब १५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । 

बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ६५ प्रतिशतले घटेर दुई दशमलव ७५ प्रतिशत कायम भएको छ भने पूँजीकोष (जोखिम भारित सम्पत्ति) शुन्य दशमलव ४३ प्रतिशतले बढेर १० दशमलव ९९ प्रतिशत रहेको छ । बैंकले जगेडाकोषमा १ अर्ब २३ करोड ४९ लाख रुपैयाँ र प्रोभिजनमा ५९ करोड १३ लाख रुपैयाँ राखेको छ  । यो अवधिमा बैंकले ४३ करोड ५८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]