February 13th, 2017

शाह बंशबाट यसरी सुरु भयो सुन भित्राउने कार्य

गोरखा राज्य अन्य राज्यको तुलनामा गरिब राज्य थियो । यसैकारण गोरखाका प्रसिद्ध राजा राम शाह पनि पर्वतका राजाबाट हेपिनु परेको थियो। उनले आफ्नो विवाहका लागि मकवानपुर, तनहुँ, पाल्पा पर्वत आदि ठाउँमा कन्या खोज्न पठाएका थिए। यही क्रममा उनी विवाहका लागि पर्वत पुगेका थिए। पर्वत राज्य गोरखाभन्दा धनी राज्य थियो । पर्वतकी राजकुमारी माग्न पुगेका राम शाहलाई पर्वतका राजा राज मल्लले अनादर गरेपछि उनी क्रुद्ध भएर विवाह नै नगरी फर्केका थिए। फर्कंदा उनको भेट राजा नारायण मल्लसँग भयो । ती राजा आफ्ना माहिला छोरा राज मल्लसँग नभई जेठा छोरा गलकोटका राजा जितारी मल्लसँग बसेका थिए। राजा नारायण मल्लले आफूले पालेर राखेको भान्जी मुसीकोटे मैयाँ राम शाहलाई दिने कुरा गरे। राम शाहबाट यो कुरा मञ्जुर भएपछि राम शाहले मुसीकोटे मैयाँसँग गलकोटमा विवाह गरेको इतिहासकार प्रा. दिनेशराज पन्तले ’गोरखाको इतिहास’ भाग १ मा उल्लेख गरेका छन्।

जसरी राम शाहलाई पर्वतका राजाले अपमान गरे, पृथ्वीनारायण शाहलाई पनि मकवानपुरका युवराज दिग्वन्धन सेनले विवाहकै सन्दर्भमा अपमान गरेका थिए । विवाहिता पत्नीलाई आफ्नो राज्य गोरखामा ल्याउन मकवानपुर पुगेका थिए, पृथ्वीनारायण शाह। उनका जेठान दिग्वन्धन सेन अलि चढेका थिए।  

कारण मकवानपुर राज्यमा तराईको प्रदेश पनि पर्थ्यो। त्यहाँबाट हुने आयले गर्दा मकवानपुरे सेनहरूमा घमण्ड थियो । गोरखा भने निर्धन राज्यमा गनिन्थ्यो । पृथ्वीनारायण शाहलाई सानो तथा निर्धन राज्य गोरखाको युवराज सम्झी दिग्वन्धन सेनले हेप्न खोजे। अनि के टेर्थे पृथ्वीनारायण शाहले। उनलाई सह्य भएन र उनी दुलही नलिई रित्तै हात गोरखा फर्के।

पृथ्वीनारायण शाह आफ्ना ससुराली खलकको यस्तो हर्कतबाट क्रुद्ध भए। उनी यी मकवानीहरूलाई कसरी सिध्याउने भन्ने कल्पनामा उनी डुब्न थाले। त्यहाँबाट आफ्नो राज्य गोरखा फर्कंदा बाटोमा पर्न आएको चन्द्रागिरिबाट नेपाल खाल्डोका तीन सहर काठमाडौं, पाटन र भक्तपुरको झलक देख्न पाएका उनी यी राज्यको समृद्धिबाट प्रभावित भए र यिनलाई जित्ने कल्पना गर्न थालेको इतिहासकार पन्त बताउँछन्।जसरी आफ्नो ससुरालीले आफूलाई हेप्दा पृथ्वीनाराण शाहले आफू कुनै दिन ठूलो र समृद्ध राज्यको राजा हुने सपना देखेका थिए, उनका पुर्खा राम शाहले पर्वतका राजाबाट हेपिँदा कालान्तरमा उनी प्रसिद्ध राजा भएर देखा परे। उनले पर्वतको ताकम नाम गरेको ठाउँमा तपस्या गरेर विभिन्न ज्ञान प्राप्त गरे। 

कालान्तरमा उनको न्याय निसाफमा देखिएको प्रसिद्धिका कारण ’न्याय नपाए गोरखा जानू’ भन्ने उक्ति प्रसिद्ध हुन पुग्यो।इखालु राजा पृथ्वीनारायण शाहले साना राज्यहरूलाई आक्रमण गर्दै गोरखामा मिलाउँदै ठूलो राज्यको राजा हुने सपना त पूरा गरे नै, उनले निर्धन राज्य गोरखालाई धनी बनाउन नुवाकोट कब्जामा आएपछि तिब्बतसँग व्यापार विस्तार गरे।आफ्नो नाममा टक छापे र भोटमा चलाए । उनले आफ्नो आर्थिक समृद्धिका लागि दक्षिणतिर (भारत)बाट चाँदी र उत्तरतिर (तिब्बत)बाट सुन पैठारी गर्ने गरेका थिए।

कान्तिपुरमा सुनको थुप्रो
जतिखेर गोरखा राज्य निर्धन राज्य थियो, त्यस बेला काठमाडौं खाल्डोका राज्य निकै धनी राज्य थियो। त्यसमा पनि निकै धनी राज्य मानिन्थ्यो कान्तिपुर । कान्तिपुर र काठमाडौं खाल्डोका अन्य राज्य धनी बन्नुको मुख्य कारण थियो तिब्बतसँगको ब्यापार। 

यो व्यापारको आम्दानीले काठमाडौं खाल्डोका राजाहरू धनी बनेका तथ्यलाई पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए। उनले सोचे, ‘जबसम्म त्यो व्यापार आफ्नो हातमा पारेर कान्तिपुरका शासकलाई निर्धन बनाउन सकिँदैन, तबसम्म कान्तिपुरका शासकको उन्मूलन गर्न सकिदैन।’ यस्तो दूरदृष्टि थियो, पृथ्वीनारायण शाहमा। त्यस बेला मंगोलियाका खानीबाट निस्की ल्हासामा आउँथ्यो नम्बरी सुन। ल्हासा हुँदै सुनको धाउ (बुकी सुन) र खारिएको सुन नेपाल झथ्र्यो । यही सुनले झकिझकाउ थिए, काठमाडौं खाल्डोका राज्यहरू। कान्तिपुरका वाणिज्यदूत काजी भीम मल्लभन्दा पहिले नै नेपालमा सुन आउन थालेको थियो। कान्तिपुर र ललितपुरका साझा राजा महिन्द्र मल्लको समय (इ. १५६०(७४) बाट नेपालमा सुन आउन थालेको हो। त्यसपछि ज्यादा मात्रा सुन प्रताप मल्लको समयमा आयो।

सुनकै कारण प्रताप मल्लको तत्कालीन कान्तिपुर राज्य निकै रवाफिलो थियो । उनले गुह्यश्वरी, तलेजुको छानामा सुनको जलप लगाए । आफ्नो राज्यभित्रका विभिन्न देवालयमा आफ्ना र परिवारका सालिकमा सुनका जलप लगाए। अनि उनका नाति भूपालेन्द्र मल्ल पनि के कम ? उनले पशुपतिका मन्दिरका छानाका ताँबाका पाताका छानामा सुनको जलप लगाए । त्यस बेला कान्तिपुरमा ‘सुनको थुप्रो’ लागेको चर्चा बंगाल र बिहारका नवाबमा पनि थियो।

त्यस बेला काठमाडौं खाल्डोका व्यापारीहरूले तिब्बतमा व्यापार कोठी खोलेका थिए। तीमध्ये कान्तिपुरका साहूमहाजनहरू बढी थिए । त्यसैले कान्तिपुर राज्य अन्य राज्यभन्दा धनी थियो। ललितपुर र भक्तपुरका व्यापारीहरूको संख्या तिब्बतमा कम थियो।

ललितपुरका व्यापारीका ल्हासाका कोठी कम रहेको हुनाले प्रताप मल्लका भतिजा ललितपुरका राजा श्रीनिवास मल्लले चाहना भए पनि सुनको जलप भएको सालिक स्थापना गर्न सकेका थिएनन्। तिब्बतमा कोठी रहेका ललितपुरका व्यापारी जोधाजु शाक्यले उनलाई सुनको जलप भएको सिंहासन चढाएका इतिहासशिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक ’श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी’मा उल्लेख गरेका छन्। उनका अनुसार श्रीनिवासका छोरा योगनरेन्द्र र भक्तपुरका राजा भूपतिन्द्र मल्लले पनि कान्तिपुरका राजा भूपालेन्द्र मल्लसँग साँठगाँठ गरेर आआफ्ना तलेजु मन्दिरअगाडिको पत्थरको खम्बामा स्थापना गरेको आआफ्ना सालिकमा सुनको जलप लगाएका थिए।

उपत्यकामा नाकाबन्दी
नुवाकोटलाई हात पार्ने एकपटकको नरभूपाल शाहको प्रयास असफल भएको थियो। नरभूपाल शाहले विक्रम संवत् १७९२ मा नुवाकोट आक्रमण गरेका थिए। पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरी विक्रम संवत् १८०१ असोज १५ गते हात लिए। त्यस बेला नुवाकोट कान्तिपुर राज्यअन्तर्गत पर्थ्यो। यही नै गोरखा राज्य विस्तारको पहिलो सफलता थियो। पृथ्वीनारायण शाहले भूगोल विस्तारसँगै आर्थिक पाटोलाई पनि निकै महत्व दिएका देखिन्छ, उनको राज्यविस्तारको सुरुआतलाई हेर्दा। उनले काठमाडौं खाल्डोलाई आर्थिक रूपमा तहसनहस पार्न खोजेका देखिन्छ। यसमा उनलाई सफलता पनि प्राप्त भयो।

नुवाकोट राजनीतिक र आर्थिक दुवै दृष्टिले महत्वपूर्ण स्थान थियो त्यो बेला। नुवाकोटलाई उपत्यकाको पश्चिमी ढोका थियो। त्यो जित्न सके उपत्यकाको पश्चिमी ढोका बन्द हुने निश्चित थियो भने त्यो अग्लो ठाउँमा रहेकाले त्यहाँबाट उपत्यका हान्न सजिलो पर्थ्यो। नुवाकोट त्यस बेला कान्तिपुर र भोटको व्यापारको मूलबाटो थियो र त्यही व्यापार नै कान्तिपुरको मुख्य आयको स्रोत थियो। नुवाकोट जित्न सकेको खण्डमा कान्तिपुरमा संकट पैदा गरी त्यहाँका भारदारउपर अनेक प्रयोग गर्न सकिन्थ्यो। 

व्यापारको मूलबाटो हुनाका साथै नुवाकोट सागपात, फलफूल र अनेक प्रकारका बीउका लागि प्रसिद्ध थियो। पृथ्वीनारायण शाहले तत्कालै काठमाडौं उपत्यका वरिपरिका आर्थिक र राजनीतिक दृष्टिले महत्वपूर्ण थुम्काहरूमा पनि अधिकार स्थापना गर्न आवश्यक ठाने। 

क्रमशः तराईमा पनि आफ्नो अधिकार स्थापित भएपछि पृथ्वीनारायण शाहले दक्षिणतिरबाट आउने मुगल बादशाहका टक खिच्ने र काठमाडौंको टक्सार मासी नेपाली मोहरमा टक ढाल्ने नियम चलाए । उनले तिब्बतबाट सुन ल्याउने र दक्षिण भारततिरबाट चाँदी ल्याउने गरेका थिए।
यही क्रममा उनले विक्रम संवत् १८११ साउन २१ गते नालदुम कब्जा गरे । हालको प्रसिद्ध पर्यटकीय स्थल नगरकोट छेउको ठाउँ नै त्यस बेलाको नालदुम हो। यो क्षेत्र कुतीतिरको महत्वपूर्ण वाणिज्य मार्ग थियो । नुवाकोट र नालदुम गोरखा राज्यको अधीनमा आएपछि काठमाडौंका तीन राज्यको उत्तरतिरको व्यापार ठप्प हुने नै भयो।

उत्तरतिरको नाका ठप्प पार्दै पृथ्वीनारायण शाहले काठमाडौं खाल्डोको आर्थिक अवस्था कमजोर पारे। उनले दक्षिणतिरको बाटोसमेत बन्द गरिदिए। आफ्नो ससुराली राज्य मकवानपुरमा विक्रम संवत १८१९ भदौ ९ गते आक्रमण गरेर पृथ्वीनारायण शाहले गोरखा अधिनस्थ बनाए। यसरी उपत्यकाको दक्षिणतिरको बाटो पनि बन्द भयो।

भोटसँगको व्यापार
पृथ्वीनारायण शाहलाई थाहा थियो, भोटसँगको व्यापारले मात्रै आफ्नो आर्थिक अवस्था दह्रो हुन्छ । उनले शुद्ध चाँदीको तौलमा घटी नगरी आफ्नो पहिलो सिक्का चलाए । यसका लागि उनले हरिदेव पण्डितलाई तिब्बतका लागि आफ्नो वाणिज्य दूत बनाए, व्यापारिक सम्बन्ध जोड्नका लागि।  भोटसँगको व्यापारबाट ठूलो परिमाणमा सुन पृथ्वीनारायण शाहको हातमा र्पयो र उनको आर्थिक अवस्था पनि दह्रो भयो।नुन र सुनका लागि प्रसिद्ध थियो तिब्बत। तिब्बतसँग नेपालको ठूलो व्यापारिक सम्बन्ध थियो । र, नेपाल थियो, एक महत्वपूर्ण व्यापारिक बाटो।

उत्तरबाट सुन दक्षिणबाट चाँदी
पृथ्वीनारायण शाहले कुतीतिरबाट व्यापार सुरु गर्दा उनले टक छाप्न सकेका थिएनन् । त्यस बेला उनले भक्तपुरको टक उपयोग गरेका थिए। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा अधीनमा आएपछि उनले सुनको व्यापार आफ्नो हातमा लिने क्रममा भक्तपुरका राजा रणजित मल्लले वाणिज्य दूत बनाएका हरिदेव पण्डितलाई उनले पनि आफ्ना वाणिज्य दूत बनाएका थिए।  रणजित मल्ल उनका मीतबाबु थिए। यो सम्बन्धबाट उनले विभिन्न काम चलाएका थिए, नातागत र रणनीतिक रूपमा । हरिदेव पण्डित उप्रेती थरका हुन् । उनी इतिहासकार प्रा.डा. प्रेमरमण उप्रेतीका पुर्खा हुन्। पृथ्वीनारायण शाहले १८२५ मा कान्तिपुरमा आफ्नो अधिकार स्थापित गरे। कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्लले आफ्नो नाजुक आर्थिक अवस्थाका कारण दूषित चाँदीको टक चलाएका थिए। त्यो मासेर पृथ्वीनारायण शाहले शुद्ध चाँदीको टक प्रचलनमा ल्याए।

क्रमशः तराईमा पनि आफ्नो अधिकार स्थापित भएपछि पृथ्वीनारायण शाहले दक्षिणतिरबाट आउने मुगल बादशाहका टक खिच्ने र त्यसलाई काठमाडौंको टक्सार मासी नेपाली मोहरमा टक ढाल्ने नियम चलाए। उनले तिब्बतबाट सुन ल्याउने र दक्षिण भारततिरबाट चाँदी ल्याउने गरेका थिए। 

सुनसम्बन्धी आदेश
पृथ्वीनारायण शाहले तिब्बतमा तोकेका वाणिज्य दूत हरिदेव पण्डितलाई पटकपटक सुनसम्बन्धी आदेश दिएको पत्रहरू संशोधन मण्डलले ‘पृथ्वीनारायण शाहको उपदेश’मा प्रकाशित गरेको छ। विक्रम संवत १८१२ बदी १२ मा दिएको आदेशमा भोटमा आफ्नो हजार रुपैयाँको सुन रहेको र त्यो चाँडो पठाउन आदेश दिइएको छ । यस्तै १८१२ माघ ६ गते तिब्बतका अधिकारीहरूले सुनसम्बन्धी कारोबारमा धर्मपत्र नै गराइदिएका थिए। सो धर्मपत्रअनुसार अघिल्ला वर्ष रिंजि छिवो लामाले सुनको जे भाउ गरेका थिए, यसमा कुनै घटीबढी नगर्ने पत्रमा उल्लेख छ। सुनको भाउ घटाए वा सुन अड्काए श्रीकामिनी, श्रीभैरवी, श्रीलामाज्यू, स्वयम्भू क्षेत्र र श्री बौद्ध क्षेत्रको कुदृष्टि परोस् भन्ने धर्मपत्र गरिएको छ। 

यस्तै सुनको भाउ घटीबढी गरे श्री बौद्ध र स्वयम्भू क्षेत्र भत्काएको पाप लागोस् भनी तिब्बती अधिकारीहरूले प्रतिज्ञा गरेका छन्।यसरी सुनको कारोबार गर्दा पृथ्वीनारायण शाह नुवाकोटमा राजधानी बनाएर बसेका थिए। त्यहीँबाट हरिदेव पण्डितलाई सुनसम्बन्धी आदेश दिएका छन्।  विक्रम संवत १८१३ फागुन १७ गते लेखेको पत्रमा सुनसम्बन्धी काम चाँडै गर्नू ढिला नगर्नू र खबर चाँडै गर्नू भन्ने आदेश दिइएको छ। यस पत्रमा सुनको भाउसम्बन्धी केही तथ्य खुलेका छन्। 

त्यस समय तिब्बतीहरूले सुनको भाउ प्रतितोला १८ रुपैयाँ लिने गरेको तर पृथ्वीनारायण शाहले प्रतितोला १६ रुपैयाँमा सुन किन्न खोजेको स्पष्ट हुन्छ। उनले हरिदेवलाई सकेसम्म १६ रुपैयाँमा सुन किन्ने प्रयास गर्न र एक सुका (२५ पैसा) थप्न परे पनि थप्न र त्यतिमा नदिए १७ रुपैयाँसम्म लगाउनसमेत तयार हुन आदेश दिएका छन्। 

यदि ठूलो परिमाणमा सुन दिने भए प्रतितोला १८ रुपैयाँ तिर्न पनि तयार हुन पृथ्वीनारायण शाहले पत्रमा आदेश दिएका छन्।१८१३ चैत १२ गते लेखेका पत्रमा पृथ्वीनारायण शाहले उत्तर (तिब्बत)बाट आएको सुन दक्षिण (मधेस)तिर बेच्ने गरेको र मधेसबाट सुनका लागि व्यापारी (महाजन)का मानिस आउने गरेको संकेत पनि गरेका छन्।

उनले लेखेका पत्रहरूको सार यस्तो छ, ’१८ महिन्द्र मल्लीमा भए पनि आँट । मधेसका महाजनका मानिस यहाँ रुपैयाँ लिएर आइरहेछन् । एकपटक टक्सार चलाउने र्पयो। १८ मै पनि अशुद्धचाहिँ नपरोस्।’ त्यस बेलासम्म पृथ्वीनारायण शाहको आफ्नो टक थिएन र मल्ल राजाहरूले चलाएको टक नै चलाउँथे। पृथ्वीनारायण शाहले १२(१५ हजार तोला सुन किन्दा होसियारी नपुगी तलमाथि भयो भने नाफाको सट्टा नोक्सान हुने भएकाले सुन किन्दा तौलामा, सुनको जातमा र भाउमा राम्ररी होश र्पुयाउन पनि सुझाएका छन्।

इतिहासशिरोमणि बाबुराम आचार्यको विश्लेषणअनुसार कुतीतिरबाट खरिद भएको सुन राजकोषमा थन्क्याउनका लागि किन्नेभन्दा पनि विदेशी व्यापारीलाई बिक्री गरी नाफा लिने व्यवस्था भएको देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]