February 13th, 2017

सूर्योदय लघुवित्तको मुनाफा दुई गुणा बढ्यो

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४९ लाख ८० हजार नौ सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई गुण बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सूर्योदयको खुद मुनाफा ७० करोड ३२ लाख दुई सय ९० रुपैयाँ थियो । 

चार करोड रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तको सञ्चालन मुनाफा दुई गुणाले बढ्दा खुद व्याज आम्दानी ८६.६५ प्रतिशतले बढेको छ । जसअनुसार, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड १० लाख ५० हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालू आर्थिक वर्षमा दुई करोड ३५ लाख ४१ हजार रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी भने एक करोड ८६ लाख आठ हजार रुपैयाँबाट बढेर तीन करोड ४७ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको कुल सम्पत्ति ४९ प्रतिशत बढेर ७१ करोड ७९ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा कम्पनीको कर्जा निक्षेप अनुपात ३३०.६४ प्रतिशतबाट घटेर ३०४.०८ प्रतिशत कायम भएको छ । कम्पनीले निक्षेप र कर्जा लगानीमा क्रमशः २६.४१ प्रतिशत र ८५.२४ प्रतिशतले सुधार गरेको छ । जसअनुसार, संस्थाको निक्षेप संकलन ४३ करोड १६ लाख ४६ हजार रुपैयाँ र कर्जा लगानी ५६ करोड २० लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सूर्योदयले ३४ करोड १४ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३० करोड ३४ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत रहेको संस्थाले जगेडा कोषमा तीन गुणा बढाएर तीन करोड २३ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । संस्थाको प्रतिसेयर वार्षिक आम्दानी ७४ रुपैयाँ ९० पैसा, प्रतिसेयर कुल सम्पत्तिकमो मूल्य एक हजार सात सय ९४ रुपैयाँ ८६ पैसा, तरलता अनुपात ७४.२९ प्रतिशत र प्रतिसेयर नेटवर्थ एक सय ८० रुपैयाँ ९० पैसा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]