February 13th, 2017

अराजक बन्दै बैंकिङ क्षेत्र

बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशनलाई ठाडै चुनौति दिँदै कतिपय बैंकर्सले अराजकतालाई पश्रय दिइरहेका छन् । गभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय हरेक कार्यक्रममा भन्ने गरेका छन्, जनताबाट उठाएको निक्षेप सही ठाउँमा लगानी गरिदिनुस् । अधिकांश कार्यक्रममा बोल्दा उनले बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्ने गरेका छन् । तर बैंकहरुले भने कानूनी सीमाभन्दा बढी ऋण प्रवाह गरेर गभर्नरको निर्देशनलाई ठाडै चुनौति दिइरहेका हुन् । नाफाको लालचमा फसेका कतिपय बैंकहरुले वित्तीय क्षेत्रमा अराजकताका साथसाथै जोखिम पनि निम्त्याइरहेका छन् । 

एक बैंकर भन्छन्– फेरी नियम मिच्नेलाई नै बढी नाफा हुने भएकाले यहाँ राष्ट्र बैंकको कमजोरी पनि देखिन्छ । उनका अनुसार नियममा बस्नेलाई घाटा र नियम मिच्नेलाई नाफा हुने प्रवित्तिले अराजकता फस्टाएसँगै आय असमानता र विभेद सिर्जना भएको छ । 
‘मैले सिसिडी रेसियो ७८ वा ७९ प्रतिशत राखेर बाँकी पैसा १ प्रतिशत ब्याजमा ट्रेजरी बिलमा राखेको छु,’ अर्का एक बैंकरले भने, ‘सँगैको अर्को बैंकले सिसिडी रेसियो ८४ प्रतिशत पुर्याएर १२ प्रतिशत ब्याजमा कर्जा दिएको छ ।’ यसरी बदमासी गरेर बढी नाफा कमाउँदा बैंकिङ क्षेत्रमा अराजकताले जरो गाड्न सुरु गरेको ती बैंकरले बताए । ‘कुनै बैंकले १ अर्ब मात्रै बदमासी गर्ने हो भने ११ करोड रुपैयाँ बढी नाफा कमाउँछ,’ ती बैंकरले भने । यति ठूलो विभेद र कानुनको बर्खिलाप हुँदा पनि राष्ट्र बैंक चुप लागेकोप्रति उनले आक्रोश पोखे । 

बैंकहरूले मनलागि निक्षेप सिर्जना गरेर लगानी गरिरहेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय बजारमा तरलता अभाव भएर बैंकहरूमा लगानीयोग्य रकम नभएपछि अवैध बाटोबाट कृत्रिम निक्षेप सिर्जना गरेर लगानी गरेका हुन् । 


वाणिज्य बैंकहरूले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई ७ दिने अन्तरबैंक लगानी गर्ने र त्यसपछि उनीहरूसँगै निक्षेप लिने काम भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । ‘एउटा वाणिज्य बैंकले विकास बैंक वा वित्त कम्पनीलाई अन्तरबैंक लगानी गर्ने, त्यो विकास बैंक वा फाइनान्स कम्पनीले अर्को वाणिज्य बैंकमा निक्षेप राख्ने गरेको पाइयो,’ उनले भने । यस्तो किसिमको चलखेल गरेर ठूलो मात्रामा निक्षेप सिर्जना गरिएको स्रोतको दाबी छ । तर, यस्तो निक्षेपको आकार कति छ भन्नेबारेमा यकिन तथ्यांक आइनसकेको राष्ट्र बैंकले बताएको छ । 


बैंकहरूमा तरलता अभावको प्रसंग चर्किंदै गएपछि राष्ट्र बैंकले गत माघ १० र ११ गते सबै बैंकमा निरीक्षण टोली पठाएर अध्ययन गरेको थियो । अधिकांश बैंकको कर्जा फाइल अहिले पनि राष्ट्र बैंकसँगै छ । यसपछि बैंकहरूले थप कर्जा प्रवाह गर्न बन्द गरेका छन् । उक्त कर्जाको फाइल अध्ययन गर्दा कृत्रिम निक्षेप सिर्जना गरेर वास्तविक पुँजी र निक्षेपमा कर्जाको अनुपात (सिसिडी रेसियो) कायम गरेको पाइएको राष्ट्र बैंकले बताएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]