February 12th, 2017

गभर्नरले भने, ‘बाउबाजेको जस्तो पैतृक ठानेर बैंकले जनताको पैसा चलाउन पाइँदैन’ 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकरलाई जनताबाट उठाएको रकम दुरुपयोग नगर्न आग्रह गरेका छन् । ग्लोबल आइएमई बैंकमा प्यासिफिक डेभलपमेण्ट बैंकको एक्विजेशनपछिको एकीकृत कारोबारको आइतबार उद्घाटन गर्दै गभर्नर नेपालले जनताको पैसा ठीक ठाउँमा लगानी गरिदिन आग्रह गरेका हुन् । ‘तपाईहरुले कहाँ कति लगानी गर्नुहुन्छ, त्यो महत्वपूर्ण हुन्छ, किनकी तपाईहरुले लगानी गर्ने पैसा जनताको हो । त्यसैले त्यो जनताको पैसा ठीक ठाउँमा लगानी गरिदिनुस् ।’ उनले भने, ‘बाबु बाजेको पैतृक सम्पत्तीजस्तो जनताको पैसा चलाउन पाइँदैन ।’

 अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी उच्च देखिएकोप्रति आक्रोशित देखिएका गभर्नर डा. नेपालले भने, ‘उत्पादनशील क्षेत्रमा लगानी बढाउँदा जोखिम कम हुनुका साथै मुलुकको अर्थतन्त्रमा थप सहयोग पुग्छ । तर किन जथाभावी लगानी ?’
बैंकिङ क्षेत्रको विद्यमान समस्याबारे राष्ट्र बैंकभन्दा बढी जानकारी व्यवसायीलाई रहेको भन्दै गभर्नर डा. नेपालले भने, ‘बैंक लगानीकर्तालाई नाफाको लागि व्यवस्थापनलाई दवाव दिने काम बन्द गर्नुपर्छ ।’

निर्यात बढ्न नसकेको, आलु प्याजमा पनि परनिर्भरता बढ्दै गएको टिप्पणी गर्दै उनले मुलुक झन्–झन् परनिर्भर हुँदै गएको बताए । । त्यसैले मुलुकलाई आत्मनिर्भर बनाउन बैंक तथा वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाई थियो । ‘तर यहाँ निजी क्षेत्र पनि उत्पादन हुने खालका क्षेत्रप्रति उदाशीन देखिन्छ, जुन विडम्बना हो ।’ नेपालले असन्तुष्टि जनाए । 
अन्य देशमा गर्वका साथ भन्न सकिने विकसित क्षेत्र भएपनि नेपालसँग त्यस्तै कुनै क्षेत्र नभएको भन्दै उनले व्यवसायीलाई जलस्रोत, कृषि, उद्योग, पर्यटनमा लगानी बढाउन आग्रह गरे । 

ग्लोबल आईएमईको एकीकृत कारोबार 

प्यासिफिक डेभलपमेण्ट बैंकलाई गाभेर ग्लोबल आइएमई बैंकका रुपमा एकीकृत कारोबार सुरु गरेको बैंकको चुक्ता पुँजी ७ अर्ब २४ करोड पुगेको छ । पाँच वटा सफल मर्जर गरेको बैंकको निक्षेप ८५ अर्ब रुपैयाँ तथा कर्जा ६८ अर्ब रुपैयाँ रहेको छ । 
नेपाल राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब चुक्ता पुँजी पुर्याउने क्रममा ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकलाई किनेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक सञ्चालक समितिको निर्णयानुसार ग्लोबल आइएमई  बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सार्ने प्राप्ति (एक्विजिशन) गरेको हो ।
साथै सो बैंकले ७८ करोड ८५ लाख रुपैयाँ चुक्तापुँजी भएको रिलायबल डेभलपमेन्ट बैंकलाई पनि खरिद गर्दैछ । त्यसपछि बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ । यसअघि नै बैंकले साविकको कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्सलाई गाभिसकेको छ । रिलायबल फाइनान्स, शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंकसँग मर्जर भई रिलायबल डेभलपमेन्ट बैंक बनेकाले यो एक्विजिसन सम्पन्न भएपछि ग्लोबल आईएमई बैंक १० वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भई बनेको पहिलो बैंक हुने छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]