February 12th, 2017

बैंकको काम गर्दै वन उपभोक्ता समिति, १८ प्रतिशतसम्म व्याजदरमा कर्जा प्रवाह

म्याग्दीका दुर्गम गाउँ बस्तीमा सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाको रूपमा लोकप्रियता कमाउन थालेका छन् । वन कार्यालयका अनुसार जिल्लामा गठन भएका दुई सय ५७ ओटा सामुदायिक वन उपभोक्ता समूहले रू. एक करोड, ८० लाख २० हजार ५ सय ६० को कोष खडा गरी विभिन्न क्षेत्रमा ऋण लगानी गरेको हो । सामुदायिक वन समूहले यसवर्ष आफ्नो आम्दानीको ६० प्रतिशत भन्दा बढी रू. एक करोड, तीन लाख ५९ हजार ९ सय न्यून ब्याजदरमा आफ्ना सदस्यलाई ऋण प्रवाह गरेको छ । 

गरिब लक्षित सो कार्यक्रमअनुसार बाख्रापालन, टिमुरखेती, हलोजुवा कार्यक्रम, तरकारीको बीउ उत्पादन, भैँसीपालन, डेरी उद्योगलगायतका क्षेत्रमा ऋण लगानी गरेको जिल्ला वन कार्यालयले बताएको छ । जिल्लाभरका सामुदायिक वन उपभोक्ता समितिले समाजमा आवश्यक सबै क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको बताइएको छ ।

वन उपभोक्ता समूहले आर्थिकस्तर हेरेर वार्षिक ६ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । यसरी प्रवाह गरिएको ऋण लगानी ८० प्रतिशत सुरक्षित रहेको बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले बताएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]