February 9th, 2017

मुद्राको शक्ति र तरलताको समस्या

रामप्रसाद दाहाल-

धेरैको हृदयमा गाढिएको पिरतीको खेलाजस्तै लाग्ने मुद्रा वर्तमान जीवनका पाटामा फन्को मारिरहेको छ । शेली गमनले भनेका थिए–‘मुद्रा एउटा त्यस्तो वस्तु हो, जो सर्वमान्य छ ।’ अनि मलाई याद आउँछ, हामीलाई पढ्दा घोकाइएको थोमस, शेली, प्रो. केन्ट, झाउथर, मार्शल आदिका परिभाषाहरु । मार्शलले भनेका थिए–‘मुद्रामा ती सबै बस्तु सम्मिलित छन्, जो कुनै विशेष समय वा स्थानमा निःसन्देश र विना कुनै विशेष परीक्षण वस्तु र सेवाहरु खरिद गर्ने र साधनको रुपमा सामान्यतया स्वीकार गरिन्छ ।’ मलाई कहिलेकाँही झल्का पनि गराउँछ । हामी कागजी मुद्रा खल्तीमा बोकेर जान्छौँ । बाटोमा भात, दाल तरकारी, मासु बडो सत्कारपूर्वक खान्छौँ । अनि थपक्क गोजीको कागजी मुद्रा दिएर हिँड्छौँ । अर्काले कति मिहिनेत गरेर जोडेको सामानले पेट भर्छौँ । तर बदलामा कागजको टुक्रा दिँदा पनि कति खुसी छन् पसले साहुजी । सरकारद्धारा मुद्राको ग्यारेन्टी, सर्वसाधारणद्धारा स्वीकृत, विनिमयको साधन बनिदिएकाले यस्तो सम्भव भएको हो । जे होस्, विनिमयको माध्यम, मूल्यको सञ्चय तथा रोजगार, विकास र जनस्तरको आधार बनेको छ, मुद्रा । त्यसैले मुद्रोको माहात्म्य अपरम्पार छ । राज्यको मूल खम्बा मुद्रा बनेको छ । सम्पूर्ण विश्वजगत मुद्राको फान्को मारिरहेको छ । सबै मनुष्य मुद्राकै वरिपरि घुमिरहेका छन् । नेपालीमा त उखान नै छ– ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी ।’ 

बैंकिङ तरलताको अभाव
मुद्राका मूख्य गुणहरु भनेकै आर्थिक कुरालाई प्रोत्साहन, बचत र पुँजीको निर्माण, बैंकको विकास, मापदण्ड, आर्थिक स्वतन्त्रता, कर्जा विस्तार आदि हुन् । यसैमा मानव जीवनको लगन गाँठो बनेको छ । घरको सन्दुक, कन्तुर, व्यक्तिको पर्स, गोजी, थैलीमा बस्न पाएको मुद्रा आजभोली बैंकको झल्टमा जमिरहेको हुन्छ । एकअर्कामा उपियाँ उफ्रेझैँ उफ्रिएर कतै बढ्ने, कतै घट्ने मुद्रा मानव जीवनको विपत्ति र सम्पत्ति दुवै बनेको छ । धनीलाई गरीब र गरीबलाई धनी बनाउन पनि समय क्षणभर लाउँदैन । पाँचतारे होटलको क्यासिनोदेखि सडकको छाप्रो पसलसम्म नाच्ने मुद्रा आफैँमा अनौठो भएर आइदिन्छ । मुद्राकै खेलमा प्रकृतिको सुन्दरता पनि अर्थहीन हुन्छ । जीवनको इतिश्री हुन्छ । चोरी, डकैतीको कारक बनिदिन्छ, हलो पैसा र हाय पैसामा समाजलाई नै नष्ट गरिदिन्छ । प्रत्येकको आआफ्नो घरमा पनि रुपैयाँको रातो मुख झल्किन्छ । आफन्तमा बोलचाल बन्द गरिदिन्छ । तेरो मेरो बनाउँछ । राम्रो नराम्रो छुट्याउँछ । सारमा भन्दा मुद्रा आजको युगको देवता बनेको छ । सरकार, बैंक, होटल, व्यापार, उद्योग, वाणिज्य, प्रवचन, पुराण प्रत्येक अंगअंगमा भिजेको मुद्राको महात्म्य अपरम्पार छ । यही मुद्रा कहिले बैंकमा थुप्रिरहन्छ कहिले कता हराइदिन्छ, अनि देखिन्छ बैंकिङ तरलताको अभाव । ऋण लिएर विजुली निकाल्नेहरुको हालत पतला हुन्छ । किनकि बैंकसँग पैसा छैन, त्यसैले ऋण दिँदैन । उद्योगी तथा व्यापारीहरु भन्दै हिँड्छन्–‘बैंकसँग पैसा छैन, तरलता अभावले गर्दा उद्योग व्यवसाय पनि चौपट ।’

किन हुन्छ तरलता अभाव ?
किन हुन्छ, बैंकिङ तरलताको अभाव ? जवाफ प्रष्ट छ – राज्यमा अर्थनीति चलायमान छैन, जमेको छ । थन्किएको छ । सरकार विकास बजेट थन्काएर राख्ने, बाहिर ल्याउने सामथ्र्य नराख्ने । साँचो रुपमा हेर्दा, विगत छ महिना उसकै आँकडा मान्दा पनि ११ प्रतिशत विकास खर्च गर्न सनेको सरकारको पैसा ८९ प्रतिशत उसैको ढुकुटीमा छ । अनि किन नहोस् तरलताको अभाव ? यति मात्रै होइन, अन्य थुप्रै कारणहरु छन् । सरकार राजस्व उठाउन तल्लिन छ । २२० प्रतिशत भन्सार आउने उनुत्पादक क्षेत्र अटोमोबाइल, गाडी, लगायतका सुविधाभोगी सामानमा लगानी गर्छ । भएको पैसा विदेश पठाउँछ अनि राजस्व कमाउँछ । अनि कसरी उत्पादन हुन्छ र तरलतामा सन्तुलन रहन्छ ? 

बैंकहरु पनि जिम्मेवार
यहाँ सरकार मात्रै दोषी छैन, बैंकहरु पनि जिम्मेवार छन् । कल खातामा अल्पकालिन ऋण लिएर दीर्घकालीन जलविद्युत्मा लगानी गर्छन् । यसरी आफ्नो योजना अझ लगानीको योजनालाई भताभुंग पारेपछि कसरी रोकिन्छ त तरलता अभाव ? त्यति मात्रै हैन, आफ्नो प्रत्येक त्रैमासिक हिसाब मिलान आरम्भ भएको दिनदेखि नगरेर तीन महिनाको अन्तिम दिनमा हिसाब मिलाउने र पैसा घुमाउने परिपाटी रहेको छ । यथार्थमा त्यो रकम नबढेर घुमि नै रहने भएकाले पनि तरलताको अभाव भइरहेको छ । हिजोको दिनमा बैंकले निक्षेपकर्तालाई न्यून व्याज दिएका कारणले पनि पैसा बाहिरिएको परिस्थिती एकातर्फ छ भने अर्कोतर्फ विश्वसनियताको कमीले सरकारी बैंकमा ठूलो रकम राख्ने र निजी बैंकमा कम देखिने परिपाटी तरलता अभावको कारक बनेको छ ।

अर्थतन्त्रमा तरंग
यतिबेला अर्थतन्त्र तरंगित छ । पुँजी निर्माणमा सरकारी योजना उदासिन छ । सेयर बजारमा उतारचढाव देखिन्छ । त्यतिकै ढुकुटी मोटाएको मोटाई छ । रेमिट्यान्स घट्दो छ । व्यापारघाटा बढ्दो छ । तरपनि, सबै नाफामुखी छन् । बजारबाट पैसा हराएको हराई छ । कतिपय नीतिमा फितलोपन छ । परिणाम नतिजामुखी बन्न सकेको छैन । 

तरलता अभावको समाधान
हाम्रो देशको समस्या समस्यामा नै रुमह्लिएको हुन्छ, समाधान खोज्ने काम ज्यादै ढिलो हुन्छ । चर्चा छ, बैंकर्स संघले हालै बैंकर्स, उद्योगपति र राष्ट्र बैंकका पदाधिकारीहरुलाई तरलता अभावको विषयमा अन्तक्र्रिया गर्यो । उद्योग व्यवसायीहरुले नाफा धेरै कमाउनु भएन, ऋणमा व्याज बढाउनु भएन, हामीलाई हेर्न सक्नुपर्यो भन्ने गुनासो राखेको खबर छापामा सार्वजनिक भयो भने राष्ट्र बैंकका पदाधिकारीले प्रष्टै मुख खोले, यो बैंकले निम्त्याएको समस्या हो । बैंक आफैँले सुल्झ्याउनुपर्छ । निक्षेपमा व्याज वृद्धि गरेर भएपनि पैसा जम्मा त गर्नैपर्छ नि ।बेलैमा लगानीको योजना सही रुपले नगर्दा र नाफा बढी खान खोज्दा तरलताको अभाव निम्तिएको हो भन्ने कुरा छापामा आयो । त्यस्तै, बैंकर्सहरुले नाफा नकमाउ भन्न मिल्दैन, नाफा पनि कमाउन बसेका निजी बैंक कमाउन त खोज्छ नै । त्यसैले, समस्यालाई एकअर्कामा पन्छाउन भन्दा पनि सबै मिलेर टुंग्याउन वा समाधान गर्नु वुद्धिमान हुने तर्क बैंकर्सहरुले राखे । यावत् पक्षलाई मनन गर्दा सस्तो बार्गेनिङतिर नलागी देहायका विषयमा ध्यान दिई समाधान निकाल्नु उचित हुने देखिन्छ :

सर्वप्रथम त सरकारले आफ्नो मोटो ढुकुटीलाई चाँडोभन्दा चाँडो खोल्न सक्नुपर्यो । बजेट बजारमा जानसक्ने वातावरण बनाउनुपर्यो । योजना तथा परियोजनाहरुलाई तादारुकताका साथ सम्पन्न गर्न र विकास निर्माणलाई अगाडी बढाउन सम्न्धित क्षेत्रबाट पहलकदमी  यथाशीघ्र गर्नुपर्यो । त्यस्तै, अनुत्पादक क्षेत्रमा खर्च बढी गर्नु भएन । उत्पादन क्षेत्र र निर्याततर्फ विशेष व्यवस्था गर्नुपर्यो । पुँजीलाई बाहिर जाने वातावरणलाई रोक्न सक्नुपर्यो । 

अर्कोतर्फ बैंकहरुले त्रैमासिक हिसाबको मिलान बेलैमा गर्दै लानुपर्यो । हिसाब मिलान गर्दा, संस्थाको वास्तविक तस्वीर आउनुपर्यो । लगानी गर्दा आफ्नो हैसियतको आँकलन गरी जोखिम व्यवस्थापनलाई विशेष ध्यान दिँदै काम गर्ने दक्ष र सक्षम व्यवस्थापन तथा सञ्चालन समिति गठन गर्नुपर्यो । सुशासन र पारदर्शीतालाई मूलमन्त्र ठान्नुपर्यो । घर, जग्गा, गाडी लगायत अनुत्पादक क्षेत्रमा लगानी रोकिहाल्नुपर्यो । पुँजीवृद्धि कागजी हैन यर्थार्थ हुनुपर्यो । 

एउटै व्यक्ति बैंकर्स र उद्योगी हुँदा पनि सिर्जना हुन्छ तरलता अभाव
वाफिया माछो माछो आयो भनेको त भ्यागुतो पो आएछ जस्तो भएको छ । लगातार दुई कार्यकाल अध्यक्ष हुन नपाउने भनिएकोमा केही दिन छोडेर पुनः अध्यक्ष हुन पाउने भनिएजस्तो अभ्यास देखिएको छ । त्यस्तै, कार्यकारी अध्यक्ष पो हुन नपाउने भनेको त, अध्यक्ष त भइहाल्छ नि भन्ने तर्क राखेर जनतालाई अल्मल्याउन सकिएला । तर, संस्था नै घरायशी बन्दा देखिने परिणाम कति कठोर हुन्छ, त्यो बुझन जरुरी छ । हुन त अहिले भारतमा पनि औद्योगिक घरानालाई बैंक खोल्न दिने कुरा आएको छ । तर, हाम्रो जस्तो देशमा त्यो पटक्कै व्यवहारिक देखिँदैन । एउटै व्यक्ति बैंकर्स र उद्योगी बनेपछि उसले आफ्नो व्यवसायमा पैसाको आवश्यक जब देख्छ तब बैंकको झल्ट सम्झन पुग्छ । त्यो पैसा कुन जुक्तिले निकाल्ने भनेर सोच्छ थाल्छ । त्यसपछि, ख भन्ने बैंकबाट ग को उद्यमीलाई ऋण दिन्छ, यता आफ्नो बैंकबाट ख लाई ऋण दिन्छ । यसरी फाइल घुमाउँदै काम बनाउँछ, आफू मोज गर्छ, नाफा कमाउँछ । उता, बैंक भने धराशायी हुन्छ, तरलताको अभाव सिर्जना हुन्छ । त्यसैले, हाम्रो अबकमो जल्दोबल्दो यथार्थता भनेको बैंकर्स र उद्यमी व्यवसायी छुट्याउनुपर्छ । कुनै पनि हालतमा छुट्याउनै पर्छ ।  अन्यथा, घर घरानाबाट घरायिन धनीहरु पैसा निकाल्दैनन् । सेयर किन्न होस् वा व्यवसाय गर्न जनताको पैसा आफ्नै बैंकबाट आफूले नै घुमाउने र चलाउने प्रवृत्तिले प्रोत्साहन पाउँछ र बैंकको तरलता कहिले अधिक र कहिले अभाव देखिइरहन्छ, समस्या परिरहन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]