February 9th, 2017

पूँजी बढाउन नसकेका पाँच कमजोर बैंकहरु

नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि योजना अनुसार अहिलेसम्म दुई वटा बैंकले मात्रै न्युनतम चुक्तापुँजीको निर्दिष्ट लक्ष्य पूरा गरेका छन् । चुक्तापुँजी वृद्धि गर्ने अवधि छ महिना मात्र बाँकी रहँदा राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मात्रै राष्ट्र बैंकले तोकेको चुक्तपुँजी पुर्याएका हुन् । डेढ बर्षअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंकहरु पुँजीवृद्धिमा जुटेका छन् । बैंकहरुले मर्जर, एक्विजिसन, हकप्रद र बोनस सेयरमार्फत पुँजी बढाइरहेका छन् । २८ वटा वाणिज्य बैंकमध्ये, नौ वटा बैंकलाई भने आठ अर्ब चुक्तापुँजी पुर्याउन निकै कठिन हुने देखिएको छ । तीमध्ये पनि पाँच वटा बैंकले आठ अर्ब पुँजी पुर्याउने सम्भावना अत्यन्तै न्युन रहेको राष्ट्र बैंकका अधिकारीहरुको अनुमान छ ।

एकातिर बैंकहरुलाई पुँजी पुर्याउन हम्मे हम्मे परिरहेको छ भने अर्कोतिर राष्ट्र बैंक जुनसुकै हालतमा पनि बैंकहरुले आठ अर्ब चुक्तापुँजी समयमा नै पुर्याउनुपर्ने अडानमा छ । अन्यथा, बैंकहरुले कारबाही भोग्नुपर्नेछ । ‘राष्ट्र बैंकको निर्देशन अनुसार समयमा पुँजी नपुर्याउनेलाई कारवाही गर्ने हामीसँग स्पष्ट कानुनी व्यवस्था छ’ हालै एक कार्यक्रमका बीच राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भनेका छन्, ’नयाँ राष्ट्र बैंक ऐनले निर्देशन अवज्ञा गर्नेलाई कारवाही गर्ने बाटो दिएको छ ।’
 
हेरौँ चुक्तापुँजी सबैभन्दा कम भएका बैंकहरु
 
सिभिल बैंक लिमिटेड

दुई अर्ब रुपैयाँ चुक्तापुँजी रहेको सिभिल बैंक लिमिटेडले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी, युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गरेर पाँच अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । अब हकप्रद सेयर र बोनस सेयर जारी गरेरै पुँजी पुर्याउने भनेपनि बैंकले हालसम्म कुनै प्रस्ताव अघि सारेको छैन ।
 
जनता बैंक नेपाल लिमिटेड

हाल जनता बैंक नेपाल लिमिटेडको चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँ रहेको छ । हालै निष्काशन गरेको ५० प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्नेछ । बैंकले ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर पनि जारी गर्दैछ । यसबाहेक जनताले ८२ करोड रुपैयाँ चुक्तापुँजी भएको त्रिवेणी विकास बैंकलाई एक्वाएर गर्दैछ । एक्विजिसन, हकप्रद र बोनसपछि बैंकको चुक्तापुँजी साढे पाँच अर्ब नाघ्ने बताइएको छ । आठ अर्ब पुँजी पुर्याउन बैंकले अर्को विकास बैंकसँग मर्जरमा जाने भनिएपनि हालसम्म ठोस निर्णय भने भइसकेको छैन ।   
 
कुमारी बैंक लिमिटेड

२ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापुँजी भएको कुमारी बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । काष्टमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई खरिद गर्न लागेको बैंकले एक्विजिसन अगाडिको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर दिन लागेको हो । हकप्रद र एक्विजिसनपछि बैंकको चुक्तापुँजी छ अर्ब रुपैयाँ पुग्नेछ । कुमारीले चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गर्न बाँकी नै छ ।
 
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पुर्याएको छ । यसबाहेक, बैंकले १२९० रुपैयाँ प्रतिकित्ताका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता थप नयाँ सेयर निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । उक्त नयाँ सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ ।
 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

३० प्रतिशत हकप्रद सेयर जारी गरेर तीन अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २९ करोड रुपैयाँ चुक्तापुँजी भएको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र २५ करोड ७८ लाख रुपैयाँ चुक्तापुँजी भएको अरनिको डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरेपछि अरनिको र इन्नोभेटिभलाई सेञ्चुरीले किन्नेछ । यी दुई संस्था खरिद गरेपछि सेञ्चुरी बैंकको चुक्तापुँजी पाँच अर्ब नाघ्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]