February 7th, 2017

छ महिनामा नेपाल बैंकको मुनाफा एक अर्ब ८९ करोड पुग्यो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  एक अर्ब ८९ करोड ५० लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.७९ प्रतिशत अर्थात ८४ करोड ६८ लाख ८७ हजार रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकले एक अर्ब चार करोड ८१ लाख ८९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

चुक्ता पुँजी छ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ रहेको बैंकले निक्षेप ८० अर्बबाट बढाएर ८४ अर्ब ८३ करोड ३९ लाख ६४ हजार पुर्याएको छ भने कर्जा लगानी ५५ अर्ब १३ लाख रुपैयाँबाट बढाएर ७० अर्ब ८१ करोड ५५ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । निक्षेप र कर्जामा बैंकले क्रमशः ५.७५ र २८.४५ प्रतिशतको वृद्धि हासिल गरेको हो । 

बैंकले यस अवधिमा खुद ब्याज आम्दानी एक अर्ब ८१ करोड रुपैयाँबाट बढाएर दुई अर्ब ५४ करोड ६३ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, सञ्चालन मुनाफा ६४ करोड रुपैयाँ बाट बढाएर एक अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ । बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा क्रमशः ४०.३३ प्रतिशत र ११५.६२ प्रतिशतले बढेको हो । 

जगेडा कोषको वृद्धिलाई पनि नेपाल बैंकको ठूलो सफलता मानिएको छ । गत वर्ष एक अर्ब ५४ करोड ३६ लाख एक हजार रुपैयाँले ऋणात्मक रहेको जगेडा कोषमा बैंकले दुई अर्ब २६ करोड ३५ लाख चार हजार रुपैयाँ राखेको छ । प्रोभिजनमा १८ करोड ९० लाख ३४ हजार छुट्याएको बैंकले यो अवधिमा २७ करोड १३ लाख ५५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकले खराब कर्जा १ प्रतिशतले घटाएर २.८५ प्रतिशतमा कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ३५ रुपैयाँ ५४ पैसा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]