February 4th, 2017

व्यवसायमा सफलता हात पार्न अपनाउनुस यी पाँच टिप्सहरु

धेरै मानिसहरुलाई आफ्नै व्यवसाय गरी जीवन निर्वाह गर्ने इच्छा हुन्छ । त्यसैले जागिर खाने वा विदेश जाने सोचबाट बाहिर निस्किएर उनीहरु उद्यमशीलतातिर लाग्छन् । सो क्रममा कति सफल हुन्छन् त कति असफल । फेरी व्यवसायमा सफलता र असफलता भन्ने कुरा स्वभाविक पनि हो । तर व्यवसायमा ‘जम्प’ गर्नुअघि केहि कुराहरुमा ध्यान पुर्याउने हो भने निश्चय पनि जोखिम वा असफलताको सम्भावना कम हुन्छ । विभिन्न विज्ञहरुले दिएका सुझावअनुसार कुनै पनि व्यवसायमा प्रवेश गर्नुअघि ध्यान दिनुपर्ने पाँच कुराहरुबारे जानौँ ।

१. पूर्ण र स्पष्ट योजना बनाउनुहोस्

तपाइले गर्ने कुनै पनि काम योजनाहिन हुनुहुँदैन । किनभने कुनै पनि काम योजनाबिना सफल हुँदैन । नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला योजनाकै खाँचो हुन्छ । त्यसैले एउटा कागज लिनुस् र त्यसमा आफ्नो योजना स्पष्टसँग लेख्नुस् । तपाई के गर्न लाग्दै हुनुहुन्छ ? त्यसका लागि तपाईले बनाउनुभएको योजना के हो ? लक्ष्य तथा उद्देश्य के हो ? काम गर्ने सामान्य तरिका के छ ? ती कुराहरु लेख्नुहोस् ।

२. लगानी निश्चित गर्नुहोस्

कुनै पनि व्यवसायमा सुरुमै बढी लगानी गरेपछि ह्वात्तै फाइदा पनि त्यसरी नै आउने होइन । त्यसैले सकेसम्म कम बजेट तय गर्नुस् । हरेक क्षेत्रमा लाग्ने खर्च छुट्ट्याउनुस् । तपाईंले कति लगानी गर्दा कति फाइदा हुन्छ, केकेमा खर्च हुन्छ र भइपरी आउँदा प्रयोग गर्नसक्ने गरी राखेको डिपोजिट कति छ, सबैको प्रस्ट बजेट तयार गर्नुस् । बिनाबजेट काम गर्दा कुनै पनि बेला पछि हट्नुपर्ने हुनसक्छ । त्यसैले यी कुराहरुमा तपाईले विशेष ध्यान दिनैपर्छ ।

३. कानूनी व्यवस्थाहरुप्रति स्पष्ट हुनुहोस्

कुनै पनि व्यवसायका आफ्नै नियम हुन्छन् भने राज्यले हरेक व्यवसायबारे कानुनी बन्दोबस्त गरेको हुन्छ । कर बुझाउनेदेखि सफाइ शुल्क बुझाउनेसम्म व्यवसायीको दायित्वमा पर्छ । यसबारे पहिल्यै स्पष्ट हुनुहोस् । व्यवसाय दर्ता गर्नुपर्ने स्थानदेखि पालना गर्नुपर्ने नियम पूरा गर्नुहोस् । कानुनी रूपमा जति बलियो भयो त्यति नै सफल हुने सम्भावना हुन्छ ।

४. खर्च निर्धारण गर्नुहोस्  

जुनसुकै पेसा वा व्यवसाय गरे पनि व्यक्तिगत खर्च र व्यवसायिक खर्च छुट्ट्याउनुहोस् । व्यावसायिक एकाउन्ट बेग्लै बनाउनुस् । कानुनी स्पष्टताका लागि पनि यो आवश्यक हुन्छ । हामी सामान्य कुराहरुप्रति ध्यान पुर्याउन नसक्दा असफलताको सिकार भईरहेका हुन्छौँ । त्यसैले पैसाको सुरक्षाका लागि पनि तपाईले यो टिप्स अपनाउनुपर्छ ।

५. सञ्चारको उपयोग गर्नुहोस्

यो युग नै सञ्चारको हो । सञ्चारमा पहुँच र प्रभावकारी उपस्थिति हुनेकै भागमा हुन्छ सफलता । त्यसैले सञ्चारको व्यापक उपयोग गर्नुहोस् । सामाजिक सञ्जालहरू त्यसका लागि सबैभन्दा प्रभावकारी साधन हुन् । बोल्नेको पीठो पनि बिक्छ नबोल्नको चामल पनि विक्दैन भन्ने कुरा अहिले सामाजिक संचाल र भईरहेका प्रचारले स्पष्ट पारेका छन् । यसको मतलव गुणस्तर र कानूनी मर्यादा मिचेर कुनै पनि प्रचार गर्ने भन्ने होइन । तर सकेसम्म सञ्चारको उपयोग गरी आफ्नो व्यवसाय, उत्पादनको गुणस्तरबारे प्रचार गर्न सकिन्छ । जसले तपाईलाई सफलताको सिढीमा उक्लिन मद्दत पुर्याउने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]