January 29th, 2017

राष्ट्रिय स्तरका पाँच विकास बैंकहरु वाणिज्य बैंकमा गाभिँदै

रुपा कोइराला । हाल नेपालमा २२ वटा विकास बैंकहरु राष्ट्रिय स्तरका छन् । नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि योजनाका कारण क्षेत्रीय स्तरका विकास बैंकहरु ठूला बैंकसँग गाभिएर विलय हुने क्रम बढिरहेको छ । राष्ट्रियस्तरका पनि ६ वटा विकास बैंकहरु वाणिज्य बैंकसँग मिल्ने भएका छन् । त्यस्तै, दुई वटा विकास बैंकहरु एकआपसमा गाभिएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आफूलाई स्थापित गर्दैछन् । बाँकीले भने अढाई अर्ब पुँजी पुर्याउन कसरत गरिरहेका छन् । 

राष्ट्रिय स्तरको कारोबार गर्दै आएका एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग गाभिएर गत पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।  पाँच वटा संस्था गाभिएर बनेको एकीकृत संस्थाको चुक्तापुँजी चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकका शाखा संख्या ९६ र कर्मचारी संख्या एक हजार २८ जना पुगेको छ भने बैंकको निक्षेप ५२ अर्व रुपैयाँ पुग्नेछ भने कर्जा ४४ अर्व रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकसँग गाभिन लागेका पाँच राष्ट्रियस्तरका विकास बैंकहरु
आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिएर हाल ७८ करोड ८५ लाख रुपैयाँ रहेको चुक्तापुँजीलाई एक अर्ब रुपैयाँभन्दा बढी बनाउन लागेको रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव दशौँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको बैंकले हकप्रद निष्काशन नगरी ग्लोबल आईएमईसँग गाभिने निर्णय गरेको हो । 

त्यस्तै, हाल ६७ करोड ९८ लाख ९६ हजार छ सय ८० रुपैयाँ चुक्तापुँजी भएको काष्टमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद निष्काशनपश्चात् बैंकको चुक्तापुँजी ८४ करोड ९८ लाख ७० हजार आठ सय ५० रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकले २३ प्रतिशत बोनस सेयर समेत जारी गर्दैछ । बैंकले हकप्रद जारी गर्नुअघिको चुक्तापुँजीको २३.३७ प्रतिशत बोनस जारी गर्ने प्रस्ताव अघि सारेको हो । हकप्रद र बोनसपश्चात् बैंकको चुक्तापुँजी एक अर्ब नाघ्नेछ । यसबाहेक, काष्टमण्डपसँग काँक्रेविहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभिँदैछन् । काँक्रेविहारको चुक्तापुँजी पाँच करोड ९१ लाख रुपैयाँ छ भने पश्चिमाञ्चलको चुक्तापुँजी ३० करोड रुपैयाँ छ । त्यस्तै, महाकालीको चुक्तापुँजी १२ करोड ७२ लाख रुपैयाँ छ । दुई लाख ३६ हजार तीन सय ६७ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्न स्वीकृति माग्दै धितोपत्र बोर्ड पुगेको महाकाली विकास बैंकको पुँजी एफपिओपश्चात् १५ करोड नाघ्नेछ । यी संस्थाहरु गाभिएपछि बन्ने एकीकृत संस्थाको चुक्तापुँजी एक अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । तर, पुँजी बढाउन आफैँ कसरत गरिरहेको काष्टमण्डपले कुमारी बैंकमा गाभिने सम्झौता गरेको छ ।

८२ करोड रुपैंया चुक्ता पुँजी भएको त्रिवेणी विकास बैंक जनता बैंकसँग गाभिँदैछ । यसका लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । गत कात्तिक १ गतेदेखि मंसिर २७ गतेसम्म ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातले हुन आउने ४१ लाख ६७ कित्ता हकप्रद सेयर निष्काशन गरेर यो बैंकले १ अर्ब २४ करोड रुपैंयाको हाराहारीमा पुँजी पुर्याउँदैछ । साथमा आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर समेत वितरण गर्दैछ । बोनस जारी गरिसकेपछि बैंकको चुक्तापुँजी एक अर्ब ४० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

त्यसैगरी, पुँजीवृद्धिका लागि राष्ट्र बैंकले निर्धारण गरेको म्याद सकिन छ महिना मात्र बाँकी रहँदा मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले मर्जरमा जाने सहमति गरेका छन् । आफैँ अढाई अर्ब पुँजी पुर्याएर राष्ट्रियस्तरको विकास बैंकको रुपमा कायम रहन कसरत गरिरहेको बैंकले गत माघ ६ गते मेगा बैंकसँग एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यी दुई बैंकले १००ः९५ को स्वार रेसियोमा गाभिन लागेका हुन् ।

अर्को राष्ट्रियस्तरको विकास बैंक एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले खरिद गर्दैछ । सरकारको स्वामित्वमा रहेका दुई संस्थाबिचको एक्विजिसनलाई अर्थमन्त्रालयले स्वीकृति प्रदान गरी मन्त्रिपरिषदले पनि पारित गरिसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]