January 29th, 2017

विनाधितो कर्जा लगानीबाट उज्यालो छर्दै निर्धन उत्थान बैंक, यसरी पाइन्छ कर्जा

कञ्चनपूर । बिना धितो निर्धन उत्थान बैंक लिमिटेड झलारी शाखा कार्यालयबाट कर्जा लिई १९४ जनाले सौर्य ऊर्जा प्रणाली जडान गरेका छन् । समूह जमानीका आधारमा बैंकबाट कर्जा लिई झलारी पिपलाडी, बेदकोट र कृष्णपुरका बासिन्दाले सौर्य ऊर्जा प्रणाली जडान गरेका हुन् ।

बढ्दो विद्युत्भार कटौतीबाट छुटकारा पाउनका लागि बैंकले गठन गरेका समूहमा आबद्ध सदस्यले रातका बेला घर उज्यालो पार्न, रेडियो, टिभी चलाउन, चिसोमा पानी तातो बनाउन, खाना पकाउन हिटर चलाउन र हेन्डपम्पमा जडान गरेको विद्युतीय मोटरबाट पानी निकाल्नका लागि सौर्य ऊर्जा प्रणालीको सदुपयोग गर्दै आएका छन् ।

“समूहका आर्थिक रुपमा अतिविपन्न परिवारको छनोट गरी वार्षिक १६ प्रतिशत ब्याजमा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि कर्जाका रुपमा रु ७७ लाख ६० हजार रकम परिचालन गरेका छौँ” – बैंकका शाखा प्रबन्धक रामज्ञा रामले भने । उनका अनुसार सौर्य प्रणालीको सदुपयोग गर्दै आएका सदस्यलाई जनही रु ३५ हजारदेखि रु ४० हजारका दरले कर्जाको रकम प्रदान गरिएको छ । कर्जाको रकम सरल २४ किस्ताका रुपमा दुई वर्ष्भित्रै चुक्ता गर्ने सीमा निर्धारण गरिएको छ ।

बैंकबाट कर्जा लिई सौर्य ऊर्जा प्रणाली जडान गरेकी दीपनगरकी बेलुदेवी चुनाराले बढ्दो विद्युत्भार कटौतीबाट छुटकारा पाएको बताइन् । सौर्य ऊर्जा प्रणालीको उपयोग गर्न थालेपछि विद्युत्को महसुलसमेत थोरै मात्र बुझाउँदै आएका छौँ, उनले भनिन् – “विद्युत् नहुँदा पनि घर सधैँ उज्यालो हुने भएकाले निकै सहजता भएको छ ।” “विद्युत्को अभावमा मट्टीतेलको टुकी, दियो र मैनबती बालेर उज्यालो गर्ने दिनको अन्त्य सौय ऊर्जा प्रणाली जडानले गरिदिएको छ” – उनले भनिन् ।

बेदकोट नगरपालिकाको वसन्तथलाकी नितु रावतले विगतमा विद्युत् जडान गर्ने खर्च नहुँदा टुकी र लालटेनको सहारामा बस्दै आएको उल्लेख गर्दै भनिन् – “बैंकले गठन गरेको समूहमा आबद्ध भई बिना धितो जमानीका आधारमा कर्जा पाएपछि सौर्य ऊर्जा प्रणाली जडान गरी घर उज्यालो पारेका छौँ ।” विद्युत्को अभाव सौर्य ऊर्जाले पूरा गरेको उनको भनाइ छ ।

बैंकमा अझै सौर्य ऊर्जा जडानका लागि सय बढी समूहमा आबद्ध सदस्यले माग गरेका छन् । सौर्य ऊर्जा र गोबरग्यास जडानका लागि ३९४ सदस्यलाई बैंकले रु एक करोड २९ लाख ४० हजार रकम लगानी गरेको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]