January 29th, 2017

जलविद्युत्मा लगानी गर्न स्थानीयको उत्साह, ऋण काढेरै किने सेयर

सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि दुई सय कित्ता सेयर किन्न रू. २० हजार सल्लेरीस्थित एनएमबी बैङ्कमा बुझाए । शुक्रवार बैङ्कमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए ।

सेयरका लागि रकम बुझाउन बैङ्कको लाइनमा भेटिएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि सेयरमा लगानी गर्न आएको बताईन् । निजी क्षेत्रबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको सबैभन्दा ठूलो ८६ मेगावाटको सो आयोजनामा प्रभावित पाँच गाविसका बासिन्दालाई प्रतिकित्ता रू. एक सयका दरले कम्तीमा एक सयदेखि बढीमा २ सय  कित्तासम्म सेयरमा (१० हजारदेखि २० हजारसम्म) लगानी गर्न पाउने गरी माघ १ देखि १४ गतेसम्मको समय दिएर खुला गरिएको थियो ।

सो समयमा प्रभावित गाविसहरु तिङ्ला, सल्यान, पञ्चन, काँगेल र नेचाबेतघारीका बासिन्दाको उत्साहजनक सहभागिता रहेको हाइड्रो भेञ्चर प्रालिका प्रशासन अधिकृत सुरज ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलका अनुसार अति प्रभावित पञ्चन गाविसबाट अति विपन्न दुई घर दलितबाहेक सबैले सेयरमा लगानी गरेका छन् । यस्तै अन्य गाविसबाट पनि उत्साहजनक सहभागिता रहेको छ । एनएमबी बैङ्कको सल्लेरी शाखा र काठमाडौंको हात्तीसारबाट फारम भर्न तोकिएको थियो । सल्लेरीमा मात्र एक हजार ९ सय घरधुरीले रू. तीन करोड ८० लाखभन्दा बढीको फाराम भरेका अधिकृत ढुङ्गेलले बताए । यस्तै काठमाडौंबाट २०० भन्दा बढीले रु दुई करोड बराबरको शेयर फाराम भरेका साहस ऊर्जा लिमिटेडका अध्यक्ष, हेमप्रसाद पाठकले जानकारी दिए ।

पहिलोपटक स्थानीयवासीलाई संस्थापक शेयर खुलाएकामा सोचेभन्दा धेरैको उत्साहजनक सहभागिता रहेको पाठकले बताए ।  आयोजनाका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्कको नेतृत्वमा ११ बैङ्क तथा वित्तीय संस्थाले रू. आठ अर्ब ६५ करोड (७३ प्रतिशत) ऋण लगानी सम्झौता भइसकेको पाठकले जानकारी दिए । आयोजनामा शेयरधनीबाट २७ प्रतिशत अर्थात् रू. तीन अर्ब २१ करोड लगानी हुने आयोजनाले बताएको  छ । जसमा ६० प्रतिशत संस्थापक र बाँकी साधारण शेयर वितरण गरिने छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट निर्माण गर्न लागिएको यो मुलुककै सबैभन्दा ठूलो आयोजना हो । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]