January 27th, 2017

वित्तीय जागरणमा  एनआइसी एशिया बैंक र बैंकिङ खबर सँगसँगै 

एनआईसी एशिया बैंक र बैंकिङ खबरबीच वित्तीय साक्षरता अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । अनामनगरस्थित मिडिया इन्टरनेसनलको सभाहलमा शुक्रबार दुई संस्थाबीच ‘वित्तीय साक्षरता हाते पुस्तिकासम्बन्धी’ सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसाल र बैंकिङ खबरका प्रधानसम्पादक माधव निर्दोषले हस्ताक्षर गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक शम्भु ढुंगानाको समेत उपस्थिति रहेको थियो ।

गत कात्तिक ६ गतेबाट देशव्यापी रुपमा सुरु भएको ‘वित्तीय साक्षरता राष्ट्रिय अभियान’ कार्यक्रम नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता नीति अन्तरगतको कार्यक्रम हो । जसलाई राष्ट्र बैंकले प्रबद्र्धन गरेको छ भने बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन र लघुबित्त डेभलपमेन्ट बैंकर्स एशोसियसनको सहकार्य रहेको छ । 


सम्झौताअनुसार दुई संस्थाले वित्तीय साक्षरताका लागि प्रारम्भमा २५ हजार हातेपुस्तिका प्रकाशन गर्नेछन.। उक्त हातेपुस्तिका ग्रामिण क्षेत्रमा सञ्चालन गर्ने ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का क्रममा सर्वसाधरणलाई वितरण गरिने छ ।  पुस्तिकामा बैंक तथा वित्तीय संस्थामा कसरी कारोबार गर्ने, कारोबार गर्दाका फाइदा, पैसाको परिचालन लगायतका वित्तीय साक्षरता बढाउने खालका महत्वपूर्ण सामाग्री समेटिने मिडिया इन्टरनेसनलका अध्यक्षसमेत रहेका माधव निर्दोषले जानकारी दिए । वित्तीय साक्षरता ः राष्ट्रिय अभियानमा सहकार्य गरेकोमा एनआइसी एशिया बैंकलाई धन्यवाद दिँदै उनले दूरदराजका नागरिकको स्तरोन्नतिका लागि यो सहकार्य अघि बढ्ने बताए । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी एनआइसी एशिया बैंकले संचालन गरिरहेका कार्यक्रमहरुको उनले प्रशंसा समेत गरे । यस सहकार्यले वित्तीय साक्षरतामा अझ सहयोग हुने उनले बताए ।

त्यस्तै एनआइसी एशिया बैंकका सीईओ लक्षमण रिसालले हाते पुस्तिकामा वित्तीय साक्षरताका लागि महत्वपूर्ण विषयहरु समेटिने भएकाले त्यसले ग्रामिण क्षेत्रका नागरिकलाई बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न थप सहयोग र आकर्षित गर्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकले खुद मुनाफाको १ प्रतिशत सामाजिक कार्यमा खर्च गर्नु भनेकाले त्यही अनुसार बैंकले विभिन्न सामाजिक क्षेत्रमा योगदान गरिरहेका उनले जानकारी दिए । बैंकले वित्तीय साक्षरताका अन्य थुप्रै कार्यक्रम गरेको भएपनि ‘वित्तीय जागरण ः राष्ट्रिय अभियान’मा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै राष्ट्र बैंकको मौद्रिक नीतिमा केन्द्रीत यो सहकार्य लामो समयसम्म अघि बढ्ने उल्लेख गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक शम्भु ढुंगानाले यस सहकार्यले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको लक्ष्य पूर्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वित्तीय साक्षरताको विषयलाई केन्द्रीय बैंकले प्राथमिकतामा राखेकाले सो विषयलाई अघि बढाउन क्रियाशिल संस्थाहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्दता समेत जनाए । ‘अझै पनि दुर्गम क्षेत्रमा वित्तीय साक्षरताको अत्यन्तै खाँचो छ,’ उनले भने, ‘त्यस्ता क्षेत्रमा वित्तीय साक्षरता बढाउने कार्यक्रम लिएर जाने संस्थाहरुलाई केन्द्रीय बैंकले पनि प्रोत्साहन गर्नेछ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]