January 25th, 2017

राजेन्द्र पण्डित भन्छन्– ‘लघुवित्त विपन्न नागरिकको साथी बन्नुपर्छ’  

नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव राजेन्द्र पण्डितले लघुवित्त संस्थाहरुले दुर्गम क्षेत्रका नागरिकहरुमा वित्तीय पहुँच विस्तार गर्न अझै गम्भीर रुपले लाग्नुपर्ने बताएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा अहिलेसम्म गरेको योगदान प्रसंशायोग्य भएको बताउँदै पण्डितले अझै धेरै नागरिक वित्तीय पहुँचभन्दा बाहिर रहेका लघुवित्त संस्थाहरुले नै त्यस्ता नागरिकलाई समेट्न सक्नेमा जोड दिए । ‘दुर्गम क्षेत्रका नागरिकको जीवनस्तर उकास्न लघुवित्तहरुको भूमिका सारहनीय छ’, पर्साको ठोरीमा जनउत्थान विकास बैंक लिमिटेडको १३ औँ शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका सह–प्रवक्तासमेत रहेका पण्डितले भने, ‘अझै पनि लघुवित्तले समाज र यहाँका विपन्न नागरिकका लागि गर्नुपर्ने काम धेरै बाँकी छन् ।’

उनले अति दुर्गम क्षेत्रमा वित्तीय पहुँचमा विस्तार गर्नकै लागि नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई प्राथमिकता दिई इजाजतपत्र प्रदान गर्ने नीति लिएको बताए । सीप र जाँगर भएका जनतालाई वित्तीय श्रोत प्रदान गर्न लघुवित्त संस्थाहरुको योगदान महत्वपूर्ण रहेको उनको भनाई थियो । तर अझै पनि ग्रामिण क्षेत्रमा वित्तीय संस्थाहरुको पहुँच पुग्न नसकेको भन्दै उनले त्यस्तो ठाउँमा सञ्जाल विस्तार गरी स्थानीय जनताको सीप, जाँगर र क्षमतालाई सदुपयोग गरी आर्थिक गतिविधिमा टेवा पुर्याउन लघुवित्त संस्थाहरुलाई आग्रह समेत गरे । 

अर्को प्रशंगमा उनले कर्जा लिएर नतिर्नाले अर्को निक्षेपकर्ताको लगानी डुब्न सक्ने भएकाले कर्जा नतिरी बैंकको रकम दुरुपयोग गर्ने ऋणीलाई राज्यले कारबाही गर्ने बताए । सबै नेपालीको बैंक खाता र सबै आर्थिक कारोबार बैंकिङ च्यानलबाट मात्र हुनुपर्नेमा जोड दिँदै उनले विदेशबाट पैसा पठाउँदा इजाजतप्रत्र प्राप्त संस्थाहरुबाट मात्रै पठाउन आग्रह गरे । निर्देशक पण्डितले गत आइतबार मात्र ठोरीमै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]