January 24th, 2017

छ महिनाको सेयर गिरावट : १८८१ अंकबाट १४३३ अंकमा झर्यो 

आर्थिक वर्ष २०७३/०७४ को सुरुवातदेखि हालसम्म नेपाली सेयर बजारले अनौठो रुप लिएको छ । सेयर बजार एकदमै अनिश्चित भइरहेको छ । आर्थिक वर्षको सुरुवातमा सेयर बजारमा देखिएको आकर्षक वृद्धिले बजार थामिनै नसक्ने गरी किन बढीरहेको छ, भनेर सोच्न बाध्य बनाएको थियो भने अहिले बजार किन घटिरहेको छ भनेर सोच्न बाध्य बनाएको छ । यस विषयमा सेयर विश्लेषकहरुले पनि निश्चित विश्लेषण गर्न सकिरहेका छैनन् । 

हामी आर्थिक वर्ष २०७३/०७४ को सातौँ महिनाको मध्यतिर छौँ । यस आर्थिक वर्षको सुरुको महिना साउनमा सेयर बजार आजसम्मकै उच्च विन्दुमा पुगेको थियो । साउन १० गतेदेखि निरन्तर दोहोरो अंकले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सेयर बजार साउनको १२ गते १८८१.४५ अंकसम्म पुग्यो । 

यो समयमा जनताले सर्वाधिक रुचाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजीनामा स्वीकृत पनि भएको थियो । त्यस्तै, यसै समयमा सेयर ब्रोकरको कमिशन ४० प्रतिशत घटाइएको थियो । यति बेला सेयर बजारमा सरकार ढलेको दुःख मनाइन्छ या ब्रोकर कमिसन घटेको खुसियाली मनाइन्छ भन्ने द्धिविधा थियो, जसलाई निन्तरको दोहोरो अंकको वृद्धिले चिर्यो । साउनको १० गते ३९.६६ अंक, ११ गते २८.८६ र १२ गते १४.९५ अंकले बढेर सेयर बजार आजसम्मकै उच्च विन्दुमा पुग्यो । 

अब सरकार परिवर्तनको असर बजारमा नदेखिने अनुमान लगाइरहँदा साउनको २० गते अचानक सेयर बजार ४५.१२ अंकले घट्यो । यो बीचमा बजारमा सामान्य घटबढ भइरहेको थियो । सेयर बजारमा यो सरकार परिवर्तनले दिएको झट्का थियो । त्यसपछि निरन्तर घटेको बजारमा २४ गते बजार खुलेको तीन घण्टा नबित्दै ५ प्रतिशतले घटेर बन्द भयो । सेयर बजारमा कालोधन भित्रिएको अनुमानमा अनुसन्धान गरिने छाँट देखिएपनि बजार फराकिलो अन्तरले झरेको थियो । त्यसको भोलिपल्ट पनि सर्किट ब्रेक लाग्यो । तर, यो सर्किट ब्रेक सेयर बजार बढेर लागेको थियो । किनकि, सेयर बजारमा सम्पत्ति शुद्धिकरण नहुने प्रष्ट भइसकेको थियो ।  

सो दिनदेखि हालसम्म सेयर बजार लगभग निरन्तर नै घटिरहेको छ । यस बीचमा केही समय बजार बढेपनि वृद्धिले निरन्तरता पाउन सकेन । अन्ततः आज सेयर बजार १४३३ अंकमा आईपुगेको छ । चालू आर्थिक वर्षमा सेयर कारोबारको सुरुको दिन अर्थात साउन २ गते चार घण्टे सेयर कारोबार सुरु भएको थियो । उक्त दिनको सेयर कारोबार १७१८.१५ अंकबाट सुरु भएको थियो । जसअनुसार, चालू आर्थिक वर्षमा हालसम्म नेप्से परिसूचक २८५ अंकले घटेको छ । हालसम्मकै उच्च विन्दुका अनुसार भने सेयर बजार ४४८ अंकले झरिसकेको छ ।

पछिल्लो समय त कारोबार रकमले पनि चकित पार्न थालेको छ । कुनै समय तीन अर्बसम्मको कारोबार हुन भ्याएको बजारमा आजभोली ५० करोडको कारोबार हुन पनि हम्मेहम्मे देखिन्छ । हकप्रद सेयर बोनस सेयर जारी गर्न लागेका कम्पनीको सेयरमा तुलनात्मक रुपमा बढी आकर्षण हुनुपर्नेमा त्यो पनि छैन । बजारप्रति सेयर लगानीकर्ताको आकर्षण बढ्नुको सट्टा झन्झन् घटिरहेको छ । सीमित ठूला कम्पनीहरुबाहेक, कुनै कम्पनीको कारोबार पनि करोडको रेञ्जमा पुग्न सकेको छैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]