January 24th, 2017

अब सबै नागरिक अनिवार्य रुपमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने, आउँदैछ यस्तो विधेयक

स्वास्थ्य मन्त्रालयले सामाजिक बीमालाई सबै जिल्लामा प्रभावकारी रुपमा सञ्चालन गर्न सामाजिक स्वास्थ्य बीमा विधेयक, २०७३ मस्यौदा पेस गरेको छ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिद्वारा मंगलबारको बैठकमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले उक्त मस्यौदामा सबै नागरिकलाई बीमा कार्यक्रममा आबद्ध हुन अनिवार्य प्रावधान राखिएको बताए । उनका अनुसार, मस्यौदामा नेपाल आउने पर्यटकलाई समेत बीममा आबद्ध हुनुपर्ने प्रावधानको व्यवस्था गरिएको छ । त्यस्तै, स्वास्थ्य बीमा कोष स्थापना, कोषको परिचालन बीमा सुविधा प्याकेजसेवा (प्रवद्र्धनात्मक, उपचारात्मक र प्रतिकारात्मक), एम्बुलेन्स सेवा, स्वास्थ्य सेवाका कार्यक्रम क्रमशः स्वास्थ्य बीमा समावेश हुने नीतिसमेत रहेको छ ।

स्वास्थ्य बीमामा आबद्ध हुनेमा महिलाको संख्या बढी भएपनि यसको उपयोग (सेवा) लिनेमा पुरुष नै अघि देखिएका छन् । विशेष गरी मधुमेह, रक्तचाप, दमजस्ता दीर्धरोगी पुरुष बीमामा आकर्षित भएका छन् । कार्यक्रम लागू भएका जिल्लाका पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० बीमा गराएपछि रु ५० हजारसम्मको स्वास्थ्य सेवा निःशुल्क रुपमा र स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण औषधिबाहेक बीमामा आबद्ध हुनेले औषधि मूल्य १५ प्रतिशतमात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बीमाका सदस्य बनेपछि बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्टो कार्डियोग्राफी, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, अक्सिजन सेवा, प्रसूति वार्ड औषधिलगायत २६ प्रकारका सेवा पाइने कार्यकारी निर्देशक डा. लोहनीले जानकारी दिए । योगदानमा आधारित सो कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । यसका लागि चालु आवमा रु दुई अर्ब रकम मन्त्रालयले विनियोजनसमेत गरेको छ ।

हालसम्म बीमा कार्यक्रममा ४७ हजार ७२४ जना आबद्ध छन् । आव २०७०/७१ देखि कैलाली, बागलुङ र इलामबाट सुरु भएको सो कार्यक्रम हाल २५ जिल्लामा विस्तार भइसकेको छ । सबै जिल्लामा कार्यक्रम लागू हुने जनाइएको छ । हाल कार्यक्रम लागू भएका २५ जिल्लाका ८० प्राथमिक स्वास्थ्य संस्थालाई थप सुदृढ बनाई २६ प्रकारका ती सेवा उपलब्ध गराउन आवश्यक सबै उपकरणको प्रबन्ध मिलाउने काम भइरहेको लोहनीले बैठकमा जानकारी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]