January 24th, 2017

१५ प्रतिशत हकप्रद जारी गर्दै एनआईसी एसिया बैंक, धितोपत्र बोर्डमा दियो आवेदन

एनआईसी एसिया बैंक लिमिटेडले १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा ८७ लाख २९ हजार चार सय ७५ कित्ता हकप्रद सेयर निष्काशनको अनुमतिका लागि गत माघ ५ गते बोर्डमा आवेदन दिएको हो । एनआईसी एसिया बैंकले सय बराबर १५ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेको हो । 

बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरिने बताइएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । जसपश्चात् बैंकको चुक्तापुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसको १५ प्रतिशतले हुन आउने ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]