January 20th, 2017

डरलाग्दो वैदेशिक व्यापार घाटा, साढे ३० अर्बको निर्यात हुँदा झण्डै ४ खर्बको आयात  

आयातको तुलनामा निर्यात खुम्चिँदै गएपछि नेपालको वैदेशिक व्यापार घाटा डरलग्दो गरी आकासिएको छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पाँच महिने अवधिलाई नै विश्लेषण गर्ने हो भने पनि व्यापार घाटाको स्थिति डरलाग्दो देखिन्छ । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ३ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक व्यापार घाटा भएको छ । गत आवको तुलनामा आयात ७८.९ र निर्यात १७ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा ८७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा निर्यातको अवस्था नाजुक र आयातको अवस्था बलियो भएका कारण वर्षेनी व्यापार घाटा बढ्दो स्थितिमा छ । चालू आर्थिक वर्षको मंसिरसम्ममा भारत र चीनलगायत अन्य तेस्रो मुलुकबाट गरी कुल ३ खर्ब ८२ अर्ब ६४ करोड रुपैयाँको वस्तु आयात भएको देखिन्छ । यस अवधिमा नेपालबाट भारत, चीन र तेस्रो मुलुकमा गरी कुल ३० अर्ब ६३ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । ५ महिनामा ४ खर्ब १३ अर्ब २७ करोड ४१ लाख रुपैयाँको वैदेशिक व्यापार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल व्यापारमा निकासीको ७.४ र आयात ९२.६ प्रतिशत हिस्सा छ ।

समीक्षा अवधिमा भारततर्फ निकासी २२.६ प्रतिशत बढेर १७ अर्ब रुपैयाँ नाघेको छ । चीनमा निकासी ५५.३ प्रतिशत बढेर ७ अर्ब ४४ करोड २० लाख रुपैयाँ पुगेको छ । यस्तै, तेस्रो मुलुकतर्फ ८.९ प्रतिशत बढेर १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।  

भारतबाट हुने आयात १०५.८ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ३६ करोड २८ लाख रुपैयाँ पुगेको छ । चीनबाट ४३ प्रतिशत बढेर ५३ अर्ब १९ करोड ३५ लाख रुपैयाँ छ भने तेस्रो मुलुकबाट ४३.८ प्रतिशत बढेर ७९ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको छ । 

कुल व्यापार घाटामध्ये भारतसँग मात्र २ खर्ब ३३ अर्ब ३४ करोड छ । चीनसँग ५२ अर्ब ४४ करोड ५३ लाख र तेस्रो मुलुकमा ६६ अर्ब २१ करोड ४८ लाख रुपैयाँ भएको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।  वस्तुगत आधारमा जुस, जुटका सामान, खोटो लगायतको निर्यात बढेको छ भने अलैँची, तयारी पोशाक, ऊनी गलैंचाको निर्यात घटेको छ ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपूर्जा, निर्माण सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने कोल्डरोल सिट ईन क्वाईल, हवाईजहाजका पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ । यसरी वर्षेनी बढ्दो व्यापार घाटाले मुलुकको अर्थतन्त्रको भविष्यमाथि चिन्ता थपेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]