January 20th, 2017

मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक मर्जरमा जाँदै , मर्जरपछि चुक्ता पुँजी पाँच अर्ब पुग्ने 

मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंकले मर्जर सम्झौता गरेका छन् । दुई बैंकबीच आपसमा गाभ्ने र गाभिने सम्बन्धमा माघ ६ गते सैद्धान्तिक सहमति भएको हो । मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड हुनेछ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।


अन्तिम शेयर आदान प्रदान अनुपात (डीडीए) प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १००:९५ निर्धारण गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् ।


मेगा बैंकको हालको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको छ । टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु छन् । 
आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५ प्रतिशत बोनस सेयर जारी गर्ने सिफारिश गरेको छ । साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी ९१ करोड ९७ लाखमा १८.६० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । दुबै बैंकले प्रस्ताव गरेको बोनस सेयर यथावत रूपमा रहने छ ।  

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]