January 19th, 2017

सबैभन्दा मजबुद बन्यो, राष्ट्रिय वाणिज्य बैंक

नवराज कुँवर– पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । आफ्नो ५२ औँ वार्षिकोत्सवको अवसरमा रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी बैंकले स्थापनाकालदेखि चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले हासिल गरेका उपलब्धी र वित्तीय गतिविधि सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा सबै सूचकहरु अत्यन्तै सकारात्मक भएकाले राष्ट्रिय वाणिज्य बैंक नेपालकै 'नम्बर वान' बैंक हुन सफल भएको दाबी गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनसार चुक्ता पुँजी पनि सजिलै पुर्र्याएको विज्ञप्तिमा जनाइएको छ । 

बैंकको ५२ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठद्धारा जारी गरिएको प्रेस विज्ञप्ति । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५२ औँ वर्षमा प्रवेश गर्दा हालसम्म हाँसिल गरेका उपलब्धी तथा बैंकको पछिल्लो अवस्थाका सम्बन्धमा जानकारी दिने अभिप्रायले आयोजित यस पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई राष्ट्रिय वाणिज्य बैंक परिवार तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु ।  

आजभन्दा ५१ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो बैंक आज देशका ७५ जिल्लामध्ये ६८ जिल्लामा उपस्थिति जनाई देश र नागरिकको सेवामा समर्पित रहँदै आएको छ । हाल मुलुकभर बैंकका १७१ वटा शाखा कार्यालय, ८० वटा एटिएम र १७ स्थानमा एक्टेन्सन काउन्टर, ५७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् भने २०७४ असार मसान्तसम्म थप १८ वटा शाखा कार्यालय, ४० वटा एटिएम र २५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा हुने क्रममा रहेको व्यहोरा सहर्ष जानकारी गराउन चाहान्छु ।

२३१३ कर्मचारीबाट जनभावनाबमोजिम सरल बैंकिङ सेवा प्रदान गर्न प्रयत्त गरिरहेको यस बैंकले अपेक्षा गरेबमोजिम नै ग्राहक महानुभावहरुको विश्वास पनि आर्जन गरिरहेको छ । यही कारणले गर्दा आज पनि यो बैंक सदाझैँ निक्षेप संकलन र कर्जा लगानीमा अन्य बैंकहरुभन्दा अग्रणी रहँदै आएको छ । २०७३ पौष मसान्तसम्ममा कुल निक्षेप १ खर्ब ३८ अर्ब र कुल कर्जा ९३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । खुद मुनाफा यस अबधिमा करिब १ अर्ब ३० करोड पुर्याउन हामी सफल भएका छौँ । जुन गत वर्ष पौष मसान्तमा १ अर्ब ९ करोड थियो । 

विगतमा बैंकको स्थिति कहालिलाग्दो अवस्थामा पुगेको व्यहोरा हामी सबैलाई ज्ञात भएको हो । वि.सं. २०६० असार र २०७३ असारको तथ्यांकलाई तुलना गर्दा बैंक आज नयाँ युगमा प्रवेश गरेको सहजै महशुस गर्न सकिन्छ । बैंकको कायापलट हुने गरी बैंक सुधारका लागि अथक प्रयत्त गर्न पूर्व सञ्चालक, व्यवस्थापक समूह, ग्राहक महानुभावहरु धन्यवादका पात्र हुनुहुन्छ । यस अवसरमा हामी उहाँहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । विभिन्न कारणले २०६० सालअघि बैंकको स्थिति नाजुक थियो । नेपाल सरकारको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत बैंक सुधारको लागि व्यवस्थापन समूहले बैंक सम्हाल्दा २०६० असारमा बैंकको पुँजी १ अर्ब १७ करोड २३ लाख रुपैयाँमात्र थियो । बैंकमा क्रमिक सुधारका कारण मुनाफा हुँदै गएपनि पुँजीको कमीले बैंकलाई निकै अप्ठ्यारो परिरहेको अवस्थामा बैंकमा पुँजी थप गर्ने महत्वपूर्ण सरकारी कदमले बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ हुन गई वाणिज्य बैंकको लागि आवश्यक न्यूनतम पुँजी परिपूर्ति हुन गएको छ ।  

२०६० सालमा बैंकको सञ्चित नोक्सानी २३ अर्ब ५६ करोड पुगेको थियो । बैंक सुधार कार्यक्रम प्रभावकारी हुँदै गएपछि बैंकले हरेक वर्ष कमाएको मुनाफाबाट नोक्सानी घट्दै गएर २०७३ असोज मसान्तसम्म आइपुग्दा बैंकको सञ्चित मुनाफा १ अर्ब २३ करोड रुपैयाँभन्दा बढि रहेको छ । 

आर्थिक वर्ष २०५९/६० मा वार्षिक करिब ५ अर्ब नोक्सानी थियो तर १२ वर्षमा खोलो फर्कन्छ भने जस्तै गरी आ.व. २०७२/७३ मा मात्र बैंक २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । आ.व. २०५९/६० मा ६० प्रतिशतभन्दा बढी भाखा नाघेको कर्जा रहेकोमा हाल यस्तो कर्जा ३ प्रतिशतको हाराहारीमा रहेको छ । यो अन्तर्राष्ट्रियभन्दा पनि कम र नेपालका वाणिज्य बैंकहरुको भाखा नाघेको कर्जाको हाराहारीमै हो । विगतको कार्यशैली र प्रविधिमा व्यापक परिवर्तन गरिएको कारण आज यो बैंक प्रतिष्पर्धी बजारमा विश्वसनीय, भरपर्दो र अग्रणी बैंकको रुपमा अघि बढिरहेको छ । बैंकको कारोबारलाई यान्त्रिकिकरण गरिएको कारण एटिएम, ए.वि.वि.एस, मोबाइल बैंकिङ, शाखारहित बैंकिङलगायतका सुविधा उपलब्ध गराउन बैंक सक्षम भएको छ । कुल नगद कारोबारमध्ये विद्युतीय माध्यमबाट ३५ प्रतिशत कारोबार हुन थालेको छ भने निकट भविष्यमा यसलाई यसलाई ५० प्रतिशतसम्म पुर्याउने बैंकको लक्ष्य रहेको छ । 

बैंकका २४ लाखभन्दा बढी ग्राहक रहेका छन् । ती ग्राहकहरुमध्ये मोबाइल बैंकिङ सेवा लिएका करिब ३ लाख ग्राहकहरुले आफ्नो हातमा रहेको मोबाइलबाटै वस्तु वा सेवा खरिदको रकम भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विजुलीको बिल तिर्ने, एउटा खाताको रकम अर्को खातामा स्थानान्तरण गर्नेजस्ता आधुनिक प्रविधि र सुविधा उपयोग गर्न पाउनु हामी सबैका लागि सुखद अनुभूति हो । करिब ४ लाख भिसा डेविट कार्ड लिएका ग्राहकहरुले देश विदेशमा रहेका एटिएम आउटलेटहरुबाट आवश्यकताअनुसार रकम झिकिरहेका छन् भने छोटो समयमानै १५ हजारभन्दा बढि ग्राहकले ७५ स्थानबाट शाखारहित बैंकिङ सेवा उपयोग गरिरहेका छन् । चालू आवको असार मसान्तसम्ममा २५ स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ । यसैगरी एटिएम सेवालाई भरपर्दो र विश्वनीय बनाउन चिप बेस डेविट कार्ड सञ्चालनमा ल्याउने गृहकार्य अघि बढाइएको छ । हामी आगामी दिनमा बैंकलाई अझ बढी भरपर्दो र विश्वसनीय बनाउन प्रतिवद्ध छौँ । 

वाणिज्य, व्यापार, होटल, कृषि क्षेत्रको विकासका निम्ति बैंकले ठूला उद्योगदेखि साना मझौला उद्यम व्यवसाय, पर्यटन क्षेत्र, जलविद्युत लगायतका उत्पादनशील क्षेत्र र नागरिकको जीवनस्तर अभिवृद्धि गर्न उच्च शिक्षाका लागि शैक्षिक कर्जा, घर निर्माण, गाडी खरिदजस्ता उपभोक्ता कर्जाहरुको साथै शिक्षक तथा राष्ट्र सेवक कर्मचारीलाइ लक्षित गरी सुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको छ । नेपाल सरकारको नीतिबमोजिम व्यवसायिक कृषि प्रवद्र्धन गर्न कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी ७ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ । यसमध्ये १ अर्ब ९० रुपैयाँ अनुदानसहितको कृषि कर्जा रहेको छ । चालु आवमा कृषि उत्पादन अभिवृद्धि गर्न सिन्धुली जिल्लाको झाँगाझोलीमा जुनार खेती तथा रुपन्देही जिल्लाको छपियामा माछा पालनलाई लक्षित गरी १५ करोड रुपैयाँको सुविधायुक्त कार्यक्रम सञ्चालन गरिरहेका छौँ । 

यसैगरी भूकम्पपीडित कर्जाको कार्यविधि तयार गरी लगानी कार्य सुरु भईसकेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारण नागरिकको वित्तीय सचेतना अभिवृद्धि गर्न विभिन्न संचारमाध्यमहरुमार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाम्रा सबै शाखा कार्यालयहरुबाट यस कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिरहेका छौँ । 

बैंकले आफ्नो सेवा क्षेत्र, गुणस्तर र क्षमतालाई अझ परिस्कृत गर्दैै बैंकको शाखा कार्यालय, एटिएमआउटलेट, शाखारहित बैंकिङ सेवाकेन्द्र आदिको संख्यामा क्रमशः विस्तार गर्दैै गईरहेको छ । १ करोड रुपैयाँ वा सोभन्दा माथिका व्यक्तिगत निक्षेपकर्ता, ५ करोड रुपैयाँभन्दा माथिका संस्थागत निक्षेपकर्ता, कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको निक्षेप तथा १० करोड रुपैयाँ र सोभन्दा माथिका कर्जा कारोबार गर्ने ग्राहकलाई लक्ष्यित गरी विशेष सेवा प्रदान केन्द्रीय कार्यालय परिषरमा बैंकको कर्पोरेट शाखा सञ्चालनमा आइसकेको छ । देशकै अग्रणी बैंकको नाताले पुँजी बजारको विकासमा टेवा पुर्याउन आरआरबी मर्चेन्ट बैंकिङ लिमिटेडको स्थापना गरिएको छ । ग्रामिण क्षेत्रका विपन्न तथा पिछडिएका समुदायसम्म बैंकिङ पहुँच पुर्याउन लघुवित्त कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको छ । जसले गर्दा आगामी दिनमा राष्ट्रिय वाणिज्य बैंकले सेवालाई अझ व्यापकता दिने निश्चित छ ।

यस आवमा बैंकले नेपाल प्रहरीसँग तलबी बचत खाता खोल्ने सम्झौता गरी करिब ७० हजार प्रहरीहरको तलबी बचत खाता खोली चालू आवदेखि बैंक खातामार्फत तलब भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी नागरिक लगानी कोषसँग सम्झौता गरी यस अवधिमा विभिन्न जिल्लाका भूकम्पबाट प्रभावित ४३५७८ परिवारलाई आवास निर्माण अनुदान वापतको प्रथम किस्ता रकम भुक्तानी गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत काठमाडौँ महानगरपालिकाको सहकार्यमा बैंक भवन अगाडी रहेको जग्गामा युएनआई पार्क निर्माण गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बैंकले हरेक बर्ष लोपोन्मुख तथा आदिबासी जनजातीका छोराछोरीमध्ये प्लस टू अध्ययन गर्ने ४ जना र स्नातक अध्ययन गर्ने ४ जना विद्यार्थीलाई शेक्षिक छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ । नेपाल सरकार अर्थमन्त्रालयको निर्देशन बमोजिम समृद्ध नेपालको लागि दीगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्नका लागि आगामी आर्थिक वर्षभित्र ७५ जिल्लामा शाखा विस्तार गर्ने, विगतमा सुरक्षा संवेदनशीलताका कारण स्थानान्तरण भएका शाखा कार्यालयहरु पुर्नस्थापना गर्ने योजना अघि सारिएको छ भने चालू आवमा वित्तीय साक्षरता अभियान अन्तर्गत करिब ५०,००० नागरिकलाई वित्तीय साक्षरता कार्यक्रममा सरिक गराउने र एक व्यक्ति कम्तीमा एक बैंक खाता अभियान अन्तर्गत करिब २ लाख नयाँ खाता खोल्ने लक्ष्य रहेको छ । यसका लागि बैंकका ७१ वटै शाखा कार्यालयहरुलाई परिचाल गरिएको छ । 

विगत १० वर्षयतादेखि बैंकको सबै वित्तीय सूचकहरु सकारात्मक ढंगले अघि बढिरहेका छन् । यद्यपी विद्यमान अवस्थामा बैंकका सामु थुप्रै प्रकार चुनौतिहरु पनि छन् र पनि बैंक भित्रको जनशक्तिलाई पूर्णरुपमा उत्प्रेरित गर्न सकियो भने चुनौतिको सामना गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ । त्यसैले आजको यो अवस्थामा मैले भन्नेपर्ने हुन्छ यसका लागि सरकार तथा सरोकारवालाको सकारात्मक सोच र सहयोग आवश्यक छ । यो अवसरमा यस बैंकको विकास निम्ति आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुहुने आदरणीय ग्राहक महानुभावहरु, सरकारी निकायका पदाधिकारी, नेपाल राष्ट्र बैंकका पदाधिकारी, यस बैंकका सञ्चालक, व्यवस्थापनका पदाधिकारी, बैंकका कर्मचारी, पत्रकार, व्यवसायिक क्षेत्रका महानुभाव लगायत सर्वसाधरण सम्पूर्ण महानुभावहरुमा हृदयदेखिनै हार्दिक आभार प्रकट गर्दै यस बैंकको उत्तरोत्तर प्रगतिको लागि आगामी दिनहरुमा पनि सदाझैँ सहयोग एवम् सुभेच्छा प्राप्त हुने विश्वास गर्दछु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]