January 18th, 2017

गोर्खाज फाइनान्सको खुद नाफा २१ गुणाले बढ्यो, सञ्चालन भने अझै ऋणात्मक

गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो छ महिनामा १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । डुबेको गोर्खा विकास बैंक र काठमाडौं फाइनान्स एकआपसमा गाभिएर बनेको गोर्खाज फाइनान्सले गत आर्थिक वर्षको तुलनामा २१ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सले पाँच हजार ६६ रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो । गत असोज मसान्तसम्ममा पनि भारी मात्रामा खराब कर्जाको चपेटामा रहेको बैंकले पुस मसान्तसम्म आईपुग्दा उल्लेख्य सुधार गरेको हो । गत असोज मसान्तसम्ममा फाइनान्सको मुनाफा ६ करोड ३५ लाख ७० हजार रुपैंया थियो ।

५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको बनेको फाइनान्सको खुद व्याज आम्दानी पनि पाँच गुणाले बढेर १३ करोड १५ लाख ८३ हजार रुपैयाँ पुगेको छ । तर, बैंकको सञ्चालन भने चार करोड एक लाख १७  हजार रुपैयाँ नोक्सानमा रहेको छ । 

यो अवधिमा बैंकले २३ करोड २७ लाख ४८ हजार खराब कर्जा उठाएको छ । जसअनुसार, फाइनान्सको निष्कृय कर्जा अनुपात २.११ प्रतिशतमा झरेको छ । जबकी गत असार मसान्तमा फाइनान्सको खराब कर्जा अनुपात १२ दशमलव ९६ प्रतिशत थियो । कम्पनीले जगेडा कोषमा ५ गुणा बढाएर २९ करोड २१ लाख राखेको छ । त्यस्तै, कर्जा तथा सापटी २ गुणाले बढेर दुई अर्ब ९६ करोड ७२ लाख पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ५० रुपैंया ६३ पैसा रहेको छ भने  प्रतिसेयर सम्पत्तीको कुल मूल्य आठ सय आठ रुपैंया ४७ पैसा रहेको छ । फाइनान्सले प्रतिसेयर आम्दानी ३६ रुपैंया ९९ पैसा कायम गरेको छ ।

गोर्खा विकास बैंक र काठमाडौँ फाइनान्सले गत चैत्र २८ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए । यद्यपि, हालसम्म यो कम्पनीको सेयर कारोबार खुलेको छैन । नेपाल राष्ट्र बैंकले फाइनान्सको खराब कर्जाको अवस्था सुधारका साथै नोक्सान सुधार नहुञ्जेल सेयर कारोबार फुकुवा नगर्ने बताएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]