January 18th, 2017

हकप्रद जारी गरेर पुँजी पुर्याउँदै नेपाल बैंक, सिभिल क्यापिटलसँग सम्झौता                   

नेपाल बैंक लिमिटेडको ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम बैंकले आफ्ना सेयरधनीहरुलाई १०ः२.३७४ अर्थात १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । विक्रि प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले बुधबार हस्ताक्षर गरेका हुन् । 

नेपाल बैंक लिमिटेडले  प्रति सेयर १०० रुपैयाको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । नेपाल बैंकमा हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।  

नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भैरहेको बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]