January 17th, 2017

यी पाँच कुरा थाहा भए, सजिलै बच्न सकिन्छ ‘साइबर क्राइम’बाट

अहिले हरेक व्यक्तिको साइबर गतिविधिबारे धेरै देश, जासुुसी संस्था तथा व्यावसायिक कम्पनी र व्यक्तिगत तहबाट समेत व्यापक निगरानी हुने गरेको छ । तपाईँले थाहै नपाई एण्टी टेरोरिज्म र एण्टी इण्टलिजेन्सियाको नाममा संस्थागत निगरानीदेखि आपराधिक वा व्यावसायिक फाइदाका लागि तपाईँको गोपनियता चोरी भइरहेको हुन सक्छ । तपाईँबाट चोरिएको जानकारी विभिन्न अपराधिक काममा प्रयोग गरिएको हुन सक्छ । त्यसैले यसप्रति संयम हुनु जरुरी छ । यस्ता खाले अपराधबाट कसरी बच्ने त ? हेर्नुस् ५ सरल उपायहरु : 

पासवर्ड परिवर्तन
साइबर दुनियाँमा सबैभन्दा महत्वपूर्ण वस्तु भनेको पासवर्ट नै हो । त्यसैले, आफ्नो ईमेल तथा अन्य अनलाइन एकाउण्टको पासवर्ड कम्तीमा पनि महिनामा एकपटक परिवर्तन गर्ने गर्नुपर्छ । 

नो बैंकिङ एप्स
अनलाइनको दुनियाँमा सबैभन्दा बढी सुरक्षा खतरा रहेको वस्तु भनेको बैंक खाता हो । क्रेडिट कार्डहरूमा केही हदसम्म फ्रड पोटेक्शन हुने भए तापनि चल्ती तथा बचत खातामा भने खासै बलियो सुरक्षा उपाय अपनाइएको हुँदैन । अनलाइन बैंकिङ तथा शपिङ एकै कम्प्युटरबाट गरिरहनुभएको छ भने त्यो तपाईँका लागि खतराजनक सावित हुन सक्छ ।  त्यसैले, अनलाइन बैंकिङ कारोबार गर्दा होशियार हुनुपर्छ । मोबाइल बैंकिङ झन् असुरक्षित छ । मोबाइलका एप्सहरूबाटै बैंकिङ जानकारीको चोरी भइरहेको पनि हुन सक्छ । त्यसैले, यस विषयमा विशेष संयमता अपनाउनु जरुरी हुन्छ । 

चेकआउटमा गलत ठेगाना
तपाईं कुनै स्टोरबाट सामान किन्दै हुनुहुन्छ वा अनलाइन शपिङ तथा ईसेवा लिँदै हुनुहुन्छ भने त्यो विक्रेता वा सेवाप्रदायकले हरेकपटक तपाईंलाई जिप कोड वा फोन नम्बर माग्न सक्छन् । उनीहरू तपाईंको सम्पर्क ठेगानामा पहुँच पाउन सधैं प्रयासरत हुन्छन् । त्यस्तोमा यदि तपाईंले आफ्नो जिप कोड, फोन नम्बर वा वास्तविक ईमेल ठेगाना दिनुभयो भने उसको डाटाबेसमा तपाईं दर्ता हुनुहुनेछ । त्यस्तो सम्पर्क सूत्रको सहयोगमा उनीहरूले तपाईंका धेरै व्यक्तिगत जानकारी सजिलै हत्याउनेछन् । यसपछि तपाईंलाई सामान बेच्नेदेखि, ठगी र अन्य आपराधिक काममा समेत प्रयोग गर्न सक्नेछन् । त्यसैले, यस्तोमा सकेसम्म वास्तविक जानकारी कम दिनु उत्तम हुन्छ ।
 
परिचयपत्रको सुरक्षा
फोटोसहितको परिचयपत्र देखाउनुपर्ने अवस्थामा आफ्नो सवारीचालक लाइसेन्स, पासपोर्ट वा अन्य संवेदनशील खालका कुनै पनि परिचयपत्रको गोपनीयताको सुरक्षामा ध्यान दिनुपर्छ । कहिल्यै पनि आवश्यकभन्दा धेरै जानकारी नदिनु नै सुरक्षाको उत्तम उपाय हो । यस्ता परिचयपत्रमा तपाईंको जन्ममिति र ठेगानाजस्ता जानकारी हुने भएकाले आपराधिक काममा समेत त्यसको प्रयोग हुन सक्ने सम्भावना रहन्छ ।

ईमेल ठेगाना
अनलाइनको दुनियाँमा तपाईंले थुप्रै पटक ईमेल ठेगाना भर्नुपर्ने हुन सक्छ । विभिन्न कम्पनी तथा सेवाप्रदायकले पनि तपाईंसँग इमेल ठेगाना माग्न सक्छन् । यस्तोमा जंक ईमेल ठेगानाको प्रयोग गर्नु राम्रो हुन्छ ताकि जंक ईमेल ठेगाना ह्याक भए पनि वास्तविक ठेगाना सुरक्षित रहोस् । साथै, यसले तपाईँलाई स्पाम र विज्ञापनका मेलबाट पनि बचाउँछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]