January 17th, 2017

नेपालको जलविद्युत्मा विदेशीले किन लगानी गर्ने ? प्रधानमन्त्रीले औँल्याए यस्ता कारण

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’ लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको बताए ।

नेपालले एक सय पाँच वर्ष पहिले विद्युत् उत्पादन सुरु गरेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले सो समयमा विश्वका कम मात्रै मुलुकमा विद्युत् उत्पादन सुरु नभएको स्पष्ट पारे । नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भए पनि प्राविधिक रुपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने भएकाले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्नका लागि पनि आर्थिक विकास र समृद्धि जरुरी रहेको र त्यसको महत्वपूर्ण आधार नै जलविद्युत् क्षेत्र भएकाले लगानी बढाउनुपर्ने प्रधानमन्त्रीको जोड थियो । सबैको पहुँच, भरपर्दो, दिगो र आधुनिक ऊर्जाको निश्चितताको आवश्यकता रहेकामा जोड दिँदै उनले भविष्यमा हाम्रा सन्ततिले हाम्रा प्रतिबद्धतालाई शङ्का नगरुन् भन्नाका लागि विगतमा गरिएका प्रतिज्ञा र प्रतिबद्धतालाई लागू गर्नुपर्ने बेला आएको बताए ।

आफ्नो नेतृत्वको सरकार गठन हुनु अगाडि बर्षौँदेखि दैनिक १२ देखि १६ घन्टा विद्युत् कटौती हुने गरेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले आपूर्ति प्रणाली सुदृढ गरी हाल विद्युत्भार कटौती पूर्ण रुपले हटाउन सफल भएको उल्लेख गरे । पुनःनवीकरणीय ऊर्जा नै हाम्रा लागि दिगो स्रोत भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले परम्परागत ऊर्जा कुनै पनि अर्थमा दिगो स्रोत हुनै नसक्ने बताए ।

प्रधानमन्त्रीले आगामी फागुन १९ र २० गते नेपालमा आयोजना गरिने लगानी सम्मेलनमा भाग लिन उद्योगी तथा व्यवसायीलाई आग्रहसमेत गरे । उनले हरित, समृद्ध र दिगो भविष्यको सम्भावना रहेकामा जोड दिँदै प्रतिबद्धता, सोचाइ र बृहत् लगानीका लागि साझेदारीको आवश्यकता औँल्याए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]