January 14th, 2017

स्वास्थ्य बीमा कार्यक्रम लिएर तपाईँको घरदैलोमा आउँदैछन् सरकारी कर्मचारी

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तरगत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बीमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको संयुक्त आयोजनामा सुरु गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए । 

स्वास्थ्य बीमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी उनीहरुलाई आवश्यक तालिमसहित घर–घरमा स्वास्थ्य बीमाका लागि पठाइएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले बताएको  छ । सरकारले उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रम ल्याएको छ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका डा. रोशन न्यौपानेले भने –यो कार्यक्रमलाई विपन्न र दुर्गम क्षेत्रको पहुँचसम्म पुर्याउने गरी ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीले समेत सहयोग गरिरहेका छन् ।

अभियानमा खटिएका सहयोगीले सर्वसाधारणको घरदैलोमै पुगेर स्वास्थ्य बीमाको महत्वका बारेमा बुझाइरहेका छन् । भने दुर्गम क्षेत्रमा समेत सर्वसाधारणले बीमाप्रति चासो देखाउन थालेपछि सहयोगीलाई सहज भएको छ । कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार ५ सय र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य ४ सय २५ का दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ ।

सरकारले आर्थिक वर्ष २०७०/७१ बाट पहिलो चरणमा नेपालका तीन जिल्ला कैलाली, बागलुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा यो कार्यक्रम लागू गरिएको हो । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]