January 14th, 2017

बैंकिङ करिअर रोज्दै युवा पुस्ता, यस्ता छन् बैंकिङ रोजाइका कारणहरु

झापाकी बिनिता ओलि अहिले के एण्ड के कलेजमा म्यानेजमेन्ट पढ्दैछिन् । पछि बैंकर बनी भविष्य सुरक्षित गर्ने लक्ष्यसहित उनले म्यानेजमेन्ट विषय छानेकी हुन् । पढ्नमा अब्बल दर्जाका उनको सानैदेखि म्यानेजमेन्ट विषय लिएर बैंकर बन्ने रहर थियो । त्यहि रहर अहिले उनको जीवनको ‘मकसद’ बनेको छ । बिनिताजस्तै धेरै युवा अहिले बैंकको जागिरे हुने प्रयासमा छन् । हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन विज्ञान विषयलाई पछि धकेलेर म्यानेजमेन्ट पढ्न आकर्षित भएका हुन् ।

बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्नवित्तकैं आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भए पनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरूको अनुभव छ ।

सुनधाराकी झरना कार्कीले म्यानेजमेन्ट इन बिजनेस स्टडी (एमबीए) सकेको चार वर्ष भयो । तीन वर्षअघि सञ्चारमाध्यममा कार्यरत उनले एमबीए सकिनेबित्तिकै वित्तीय क्षेत्रलाई आफ्नो करिअर बनाइन् । अधिकृत स्तरको जागिरमा कार्यरत उनको लाइफ स्टाइल पहिलेको पेसामा भन्दा अझ सुरक्षित र आकर्षक बनेको छ । ’बैंकिङ क्षेत्र ग्ल्यामर र मर्यादित क्षेत्र भएकाले लागेको हुँ’, झरना भन्छिन् ।

नेपाल बैंक लिमिटेडका सीईओ देवेन्द्र प्रताव शाहले कृषि विकास बैंकमा सेक्सन अफिसरका रुपमा ३० वर्षअघि आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन् । उनको बैंकिङ करिअरले ३० वसन्त पार गरेको छ । बीमा समितिको अध्यक्ष समेत भईसकेका उनी हाल नेपाल बैंक लिमिटेडको नेतृत्व सम्हालिरहेका छन् । यो पेसा सुरक्षित हुनुका साथै समाज तथा आमजनमानसले हेर्ने दृष्टिकोण नै फरक छ’, उनले भने, ’पहिला म साहित्यमा जान चाहान्थेँ । घर तथा आफन्तको इच्छाअनुसार यो क्षेत्रमा प्रवेश गरेँ ।’ बैंकिङ क्षेत्रले उपलब्ध गराउने सेवासुविधा, काम गर्दा प्राप्त हुने सन्तुष्टि, समाज तथा आममानिसको दृष्टिकोणमा बैंकिङ क्षेत्र उच्च रहेको उनले बताए । केही समयअघिसम्म बैंक तथा वित्तीय क्षेत्र साँघुरो भएकाले यसमा कम अवसर थियो । अहिले वित्त बजार फराकिलो भएको छ । त्यसैले बैंकिङ करिअरमा अवसर बढ्दो छ । अहिले बैंकिङ क्षेत्रमै अवसर नपाए पनि म्यानेजमेन्ट विषय पढेका विद्यार्थीको भविष्य राम्रो बन्दै गएको शाहको मूल्यांकन छ ।
 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विस्तार भइरहेका छन् । गाउँगाउँसम्म यसका सेवा पुग्दैछन् । यसको विस्तारसँगै यसमा करियर बनाउनेको संख्या पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा २५ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । यो तथ्यांक वाणिज्य बैंकको मात्र हो । विकास बैंक,फाइनान्स कम्पनी तथा लद्युवित्तको तथ्यांक भने नेपाल राष्ट्र बैंकसँग पनि छैन । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको आकर्षण अझ बढ्दो छ । यो क्षेत्र मर्यादित हुनुका साथै काम गर्ने निश्चित समय अवधि, कामअनुसारको आकर्षक तलबभत्ता अनि वार्षिक बोनसको सुविधा भएकाले पनि यसमा आकर्षण बढेको हो । बैंकको जागिर सानै पद भए पनि दुईचार लाख जोगाउन सकिने क्षेत्र हो । बाहिरी आकर्षण त छ नै, त्यसमा पनि जिम्मेवार, लगनशील तथा पेसागत क्षेत्र हो बैंकिङ । बैंकिङ क्षेत्रमा लाग्नेको परिवारको समेत भविष्य सुरक्षित हुने भएकाले यसको आकर्षण अझ बढेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहको धारणा छ । ’एउटा सानो पदबाट बैंकिङ क्षेत्रमा प्रवेश गरियो भने पनि ऊ अवकाश पाउने समयसम्म बैंकको दोस्रो तथा तेस्रो पोजिसनमा पुग्छ’, उनी भन्छन्, ’एक त मर्यादित पेसा, त्यसमा पनि उसले पाउने सेवासुविधा ।’ परिवारको भविष्यसमेत सुरक्षित हुन्छ यो पेसामा’, शाहले भने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]