January 13th, 2017

बैदेशिक लगानी :  उर्जामै तछाड मछाड (रिपोर्टसहित) 

गत आर्थिक वर्ष ०७२/७३ मा १५ अर्ब १३ करोड रुपैयाँ प्रत्यक्ष वैदशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अनुसार, गत आर्थिक वर्षमा आर्थिक वर्ष ०७१÷७२ को तुलनामा ७८ प्रतिशतले कम वैदेशिक लगानी भित्रिएको हो । गत आवमा साना, मझौला तथा ठूला गरी ३४१ परियोजनाका लागि ४३ देशबाट यस्तो प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागमा दर्ता भएका यी परियोजनाहरू सञ्चालनमा आएमा ११ हजार ४ सय २६ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । पछिल्लो पाँच वर्षमध्ये आव ०७१÷७२ मा सबैभन्दा धेरै एफडीआई प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँको एफडीआई भित्रिएको थियो । त्यस्तै, चालू आर्थिक वर्ष ०७३÷७४ को पहिलो त्रैमाससम्ममा उद्योग विभागमा असोजसम्म दुई अर्ब ३९ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ जबकि गत वर्षको सोही अवधिमा नेपालमा यस्तो प्रतिबद्धता तीन अर्ब ५५ करोडको थियो । गत वर्ष भूकम्प, मधेस आन्दोलन, भारतीय नाकाबन्दीलगायतका कारण लगानी प्रभावित भएको थियो । यो वर्ष अवस्था सामान्य हुँदा पनि लगानीकर्ता आकर्षित देखिएका छैनन् ।
उद्योग विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हालसम्म विदेशी लगानीका कुल २ हजार ९ सय ५९ उद्योग प्रतिष्ठानहरु दर्ता छन् । जसमा २ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । ती परियोजनाहरुको अनुमानित स्थिर पुँजी २ खर्ब १५ अर्ब छ । तर आर्थिक बर्ष ०७०÷७१ सम्म १ खर्ब १५ अर्ब रुपैयाँ एफडीआई मात्र कार्यान्वयन भएको उद्योग विभागले जनाएको छ ।  
नेपालका प्रमुख वैदेशिक लगानीकर्ताहरुमा चीन, भारत, उत्तर कोरिया, अमेरिका, बेलायत, जापान, जर्मनी, मोरिसस, क्यानडा, युनाइटेड अरब, सिंगापूर लगायत पर्छन् । पछिल्लो ६ वर्षमा नेपालमा लगानी बढाउन दुई छिमेकी देशको प्रतिस्पर्धा निकै बढेको देखिन्छ । १० वर्ष अगाडिसम्म नेपालमा चिनियाँ लगानीकर्ताको लगानी भारतीय लगानीकर्ताको तुलनामा अत्यन्तै न्यून थियो । तर पछिल्लो समय चीनले लगानी वृद्धि गर्दै जाँदा भारतको लगानी भने सोही गतिमा वृद्धि हुन सकेको छैन । उद्योग विभागको पछिल्लो ६ वर्षको तथ्यांक केलाउने हो भने भारतीय लगानी ७ गुणाले घटेको छ भने चिनियाँ लगानी ६ गुणाले बढेको छ । चालू आर्थिक वर्षको हालसम्मको अवस्था हेर्दा भने वैदेशिक लगानी खासै उत्साहजनक देखिँदैन ।  
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लगानी प्रतिवद्धताका आधारमा चीन पहिलो स्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ । यो अवधिमा चीन र भारत सहित नेपालमा १६ मुलुकले लगानीको प्रतिबद्धता जनाएका छन् । हेरौँ कुन देशले नेपालमा कति लगानी गरेका छन् ?
 
चीन
नेपालमा चिनियाँ लगानीकर्ताहरुको लगानी भने बढ्दो देखिन्छ । आर्थिक वर्ष २०६७/६८ मा १ अर्ब २३ करोड ५० लाख रुपैयाँ आएकोमा आर्थिक वर्ष २०७२÷७३ मा ६ अर्ब ३६ करोड ७० लाँख रुपैयाँ लगानी आएको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा सबै देशको लगानीमा ह्रास आएकोमा चिनियाँ लगानी भने बढेको हो । अघिल्ला वर्षको तुलनामा तीन गुणाले वृद्धि भई ६ अर्ब ३६ करोड ७० लाख रुपैयाँको लगानी भित्रिएको छ, जसमध्ये हङकङबाट ३ उद्योगको लागि ५ करोड ६० लाख रुपैयाको लगानी आएको छ । आर्थिक वर्ष २०७१÷७२ मा १ सय ५४ उद्योगको लागि २ अर्ब ४६ करोड ८ लाख रुपैयाँ चिनियाँ लगानी भित्रिएको थियो । चालू आर्थिक वर्ष ०७३÷७४ को पहिलो त्रैमासमा पनि नेपालमा चिनियाँ लगानीका परियोजना बढेका छन् । नेपालमा यस वर्ष चीनबाट साना लगानीका होटल तथा रेस्टुराँका परियोजना बढी आएका छन् । यो अवधिमा चीनबाट १ अर्ब ७९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
 
केही महिनाअघि मात्रै नेपाल र चीनबीच द्वीपक्षीय सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको विकासका लागि १३ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै, जलविद्युत लगानीका लागि १ अर्ब ६० करोड अमेरिकी डलर चीनले नेपालमा भित्र्याउने पनि बताइएको छ । हाल चीनले नेपाललाई २४ मिलियन डलर अनुदान दिइरहेकोमा त्यसलाई बढाएर १ सय २८ मिलियन पुर्याएको छ । दुई वर्षका लागि यो रकम चीनले दिन लागेको हो । त्यस्तै, बेइजिङले पुलिस एकेडेमी बनाइदिने घोषणा समेत गरेको छ । चिनिया कम्पनी थ्री गर्जेजले बनाउन लागेको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना नेपालकै ठूलो हो ।
 
भारत
आर्थिक वर्ष २०६७÷६८ मा भारतीय लगानीकर्ताबाट ७ अर्ब ७० लाख रुपैयाँ आएको थियो भने ६ वर्षपछि अर्थात आर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब ९४ करोड १० लाख रुपैयाँ बरारबरको लगानी भित्रिएको छ । 
आर्थिक वर्ष २०७२÷७३ मा नेपालमा २३ उद्योगको लागि उक्त लगानी भित्रिएको हो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ गुणाले कम हो । आर्थिक वर्ष २०७१÷७२ मा २५ उद्योगको लागि ३ अर्ब ४७ करोड १९ लाख रुपैयाँ लगानी भित्रिएको थियो । त्यस्तै, चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा भारतबाट २२ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । नेपालमा लगानी भित्र्याउने सन्दर्भमा छिमेकी मुलुकहरु भारत र चीनबीच सँधै प्रतिष्पर्धा रहने गरेको छ । विशेषतः जलविद्युत् क्षेत्रमा लगानी गर्न त्यस किसिमको प्रतिष्पर्धा देखिएको छ । चीनले नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाइरहँदा अर्को ठूलो आयोजना अरुण ३ भारतीय कम्पनीले निर्माण गर्दैछ ।
 
अन्य मुलुकहरु
गत आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाबाट ५५ वटा परियोजनाका लागि लगानी प्रतिवद्धता आयो भने बेलायतबाट ११ परियोजनाका लागि २ अर्ब लगानी प्रतिवद्धता प्राप्त भयो । त्यस्तै, गत आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकाबाट ४० वटा परियोजनाका लागि, जापानबाट १८ परियोजनाका लागि र जर्मनी, फ्रान्स लगायत अन्य मुलुकहरुबाट ६९ वटा परियोजनाका लागि गरिएको लगानी प्रतिवद्धता स्वीकृत भयो ।
 
विदेशी लगानीकर्ताको आकर्षण उर्जामा बढी
नेपाल सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । नेपालमा सबैभन्दा बढी बढी वैदेशिक लगानी उर्जामूलक क्षेत्रमा भित्रिने गरेको छ । त्यसपछि, सेवा र पर्यटन क्षेत्रमा पनि वैदेशिक लगानीको चाप बाक्लै देखिन्छ । उत्पादनमूलक क्षेत्रमा पनि वैदेशिक लगानीको अवस्था राम्रै देखिन्छ । नेपालमा सञ्चालनमा रहेका गार्मेन्ट, सिमेन्ट, टेक्सटाइल र प्लाष्टिक उद्योगका इकाइहरुमा झन्डै आधा हिस्सा वैदशिक लगानीको नै देखिन्छ ।

०६३ साल यता १० बर्षको यो अवधिमा १ लाख २२ हजार ७ सय ६४ जनाले वैदेशिक लगानीका आयोजना मार्फत् स्वदेशमै रोजगारीको अवसर पाएका छन् । वैदेशिक लगानीद्धारा सञ्चालित कृषि, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा, पर्यटन उद्योगमा यस्तो रोजगारी सृजना भएको हो । तर पछिल्लो समयमा उर्जा र सेवा क्षेत्रमा लगानी भए पनि अर्थतन्त्रलाई दीर्घकालीन फाइदा पुग्ने साथै रोजगारी प्रदान गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी भएको पाइँदैन । भारतको रिलायन्स सिमेन्ट, होम फ्रि चाइना लगायतले ठूला उद्योग सञ्चालन गरेका छन् । तर, यस्ता उद्योगहरु एकदमै कम छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]