January 12th, 2017

२०१७ मा कता जाला विश्व अर्थतन्त्र ? विश्व बैंकले गर्यो यस्तो प्रक्षेपण 

विश्व बैंकले सन् २०१७ मा विश्वव्यापी आर्थिक वृद्धिदरले गति लिने प्रक्षेपण गरेको छ । तेल तथा कमोडिटिजको मूल्यमा आएको सुधारले कमोडिटिज निर्यातकर्ता उदीयमान अर्थतन्त्रमाथिको दबाब कम भएको र ब्राजिल एवम् रूसले भोग्दै आएको कष्टकर मन्दी पनि समाप्त हुन थालेकोतर्फ औंल्याउँदै बैंकले यस्तो बताएको हो । यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही सुध्रँदै २ दशमलव ७ प्रतिशतमा पुग्ने ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ शीर्षकको प्रतिवेदनमा बैंकले बताएको छ । गतवर्ष विश्व अर्थतन्त्र सन् २००८ को वित्तीय संकटयताकै न्यून दर अर्थात् २ दशमलव ३ प्रतिशतले मात्रै बढेको थियो । 

सन् २०१६ मा १ दशमलव ६ प्रतिशतले बढेका विकसित अर्थतन्त्रको वृद्धिदर पनि सन् २०१७ मा १ दशमलव ८ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ । उदीयमान तथा विकासशील अर्थतन्त्रको वृद्धिदर भने गतवर्षको भन्दा शून्य दशमलव ८ प्रतिशतले बढेर ४ दशमलव २ प्रतिशतमा पुग्ने बैंकको अनुमान छ । 

अमेरिकी अर्थतन्त्र बढ्दा चिनियाँ अर्थतन्त्र सुस्ताउने 
गतवर्ष १ दशमलव ६ प्रतिशतले मात्रै बढेको अमेरिकी अर्थतन्त्र यस वर्ष २ दशमलव २ प्रतिशतले बढ्ने बैंकले प्रक्षेपण गरेको छ । सो प्रक्षेपणमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत प्रस्तावको प्रभाव भने समायोजन नगरिएको बताइएको छ । ट्रम्पले प्रतिबद्धता जनाएअनुरूप वित्तीय प्रोत्साहनका प्याकेज लागू गर्न र पूर्वाधार खर्च बढाउन सके अर्थतन्त्र योभन्दा उच्च दरमा बढ्न सक्ने बताइएको छ ।

यस वर्ष चिनियाँ अर्थतन्त्र सुस्ताउने बैंकको प्रक्षेपण छ । गतवर्ष ६ दशमलव ७ प्रतिशतको वृद्धि बेहोरेको चिनियाँ अर्थतन्त्र यस वर्ष सुस्ताएर ६ दशमलव २ प्रतिशतमा समेटिने अनुमान गरिएको छ । इण्डोनेशिया र थाइल्याण्ड लगायतका दक्षिणपूर्वी एशियाली अर्थतन्त्र भने उच्च दरमा बढ्ने बताइएको छ । त्यस्तैगरी सन् २०१६ मा ७ प्रतिशतले विस्तार भएको भारतीय अर्थतन्त्र सन् २०१७ मा ७ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]