March 28th, 2016

राष्ट्र बैँकले यसरी असुल्दैछ जनताबाट ऋण

nepal rastra bankचालू आर्थिक वर्षको अन्तिम तीन महिना मात्र बाँकी रहँदा नेपाल राष्ट्र बैँकले नेपाल सरकारका लागि ऋण उठाउँदै छ । राष्ट्र बैँकले चालू आर्थिक वर्षको चैत्र, वैशाख र जेठ महिना गरी तीन महिनाभित्रमा जनतासँगबाट ७९ अर्ब रुपैँया ऋण उठाउन लागेको हो । चालू आर्थिक वर्षको बजेटमार्फत लिने भनिएको आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । सरकारले विकास ऋणपत्र, नागरिक बचतपत्र, ट्रेजरी विल्स र वैदेशिक रोजगार बचतपत्रमार्फत यसरी ऋण उठाउन लागेको हो । सरकारलाई आवश्यक पर्ने ऋण उठाउने जिम्मेवारी राष्ट्र बैंकको हो । 

तरलता व्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको कारण ब्याजदर निकै तल झरेको तत्कालीन अवस्थामा सरकारले ल्याएको विकास ऋणपत्र तथा ट्रेजरी विल्सका माध्यमबाट बैंक तथा वित्तीय संस्थालाई मध्यकालीन र दीर्घकालीन रूपमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सरकारको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालू आर्थिक वर्षको सुरुदेखि नै ब्याज तिर्दै रकम ढुकुटीमा थुपार्दै आएको थियो । यसरी तरलता व्यवस्थापन गर्दा गत पुस मसान्तसम्ममा ५८ करोड ३५ लाख रुपैयाँ ब्याज खर्च भइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कुन प्रणालीमार्फत् कति ऋण उठाइँदै ?
राष्ट्र बैंकले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सबैभन्दा बढी ऋण विकास ऋणपत्रमार्फत उठाइने भएको छ । यस्तो ऋणपत्रको बिक्रीबाट कुल स्वीकृत आन्तरिक ऋणको ७० दशमलव ४५ प्रतिशत उठाउने लक्ष्य सरकारको छ । सरकारले चालू आर्थिक वर्षमा जम्मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसमध्ये ९१ दिने ट्रेजरी विल्सको बिक्रीबाट चैत महिनामा ३ अर्ब रुपैयाँ, वैशाख महिनामा ३ अर्ब र जेठ महिनामा ५ अर्ब रुपैयाँ गरी ११ अर्ब रुपैयाँ ऋण उठाइने भएको छ । यस्तै, १ सय ८२ दिने ट्रेजरी विल्सको बिक्रीबाट फागुन महिनामा ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइँदै छ । एकबर्से ट्रेजरी विल्सको बिक्रीबाट फागुनमै ४ अर्ब ५० करोड रुपैयाँ ऋण उठाइँदै छ । ट्रेजरी विल्सको बिक्रीबाट यो वर्ष सरकारले कुल आन्तरिक ऋणको २३ दशमलव ३ प्रतिशत ऋण लिँदै छ । चैत र वैशाख महिनामा ठूलो परिमाणमा विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण लिने कार्ययोजना सरकारको छ । आगामी चैत महिनामा आठबर्से विकास ऋणपत्रबाट १२ अर्ब र ११ बर्से ऋणपत्रवाट १३ अर्ब रुपैयाँ ऋण उठाइने भएको छ । वैशाख महिनामा भने १२ बर्से ऋणपत्रबाट १३ अर्ब र १३ बर्से ऋणपत्रबाट १३ अर्ब रुपैयाँ गरी २६ अर्ब रुपैयाँ ऋण उठाउने कार्यक्रम सरकारको छ । वैशाख महिनामै १५ बर्से ऋणपत्रबाट ११ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । विकास ऋणपत्रबाट सरकारले ६२ अर्ब रुपैयाँ ऋण लिँदै छ ।

सरकारले पाँच बर्षे नागरिक बचतपत्रको बिक्रीबाट पनि ऋण लिने कार्यतालिका सार्वजनिक गरेको छ । यस्तो बचतपत्रमार्फत चैत महिनामा ३ अर्ब र वैशाख महिनामा २ अर्ब गरी ५ अर्ब रुपैयाँ ऋण लिने सरकारी योजना छ । यस्तै, पाँचबर्से वैदेशिक रोजगार बचतपत्रको बिक्रीबाट चैत महिनामा २५ करोड र वैशाख महिनामा २५ करोड रुपैयाँ गरी ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ट्रेजरी विल्स र विकास ऋणपत्रको ब्याज दर बोलकबोलवाट तय हुने भए पनि नागरिक बचतपत्रको वार्षिक ब्याज ८ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको वार्षिक ब्याज ९ प्रतिशत दिने राष्ट्र बैंकले जानकारी दिएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा रकम राख्दा पनि यति ब्याज पाइने अवस्था नभएकोमा सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका लागि दिन प्रस्ताव गरेको ब्याजदर भने आकर्षक हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]