January 11th, 2017

विजयी भाषण दिएकै सहरमा ओबामाले गरे विदाई सम्बोधन

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफूले आफ्नो आठ वर्षे कार्यकालमा अमेरिकालाई थप राम्रो र शक्तिशाली देश बनाएको बताएका छन् । राजनीतिक यात्रा सुरु गरेको सिकागो सहरमा आफ्ना हजारौँ समर्थकको उपस्थितिमाझ बिदाइ सम्बोधन गर्दै ओबामाले आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्धको पुनःस्थापना र समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने लगायतका कामलाई आफ्ना प्रमुख उपलब्धिका रुपमा प्रस्तुत गरे । अमेरिकामा अश्वेत जातिबाट राष्ट्रपतिका रुपमा सन् २००८ मा ओबामा निर्वाचित भएका थिए । सो समयमा ओबामाले आफ्नो विजयी भाषण पनि सिकागो सहरमा नै दिएका थिए ।

विदाई सम्बोधनका क्रममा ओबामाले आफूले कार्यकाल सुरु गरेको समयभन्दा अहिलेको अमेरिका हरेक हिसाबले राम्रो र शक्तिशाली भएको बताए । त्यसबेला आफूले गरेको रंगभेदविनाको अमेरिकाको परिकल्पना यथार्थवादी नरहेको र अहिले पनि जातिवाद अमेरिकाका लागि प्रमुख विभाजनकारी विषय रहेको ओबामाले बताए । ओबामाले राष्ट्रपतिहरुबीच शान्तिपूर्ण रुपमा हुने शक्ति हस्तान्तरण अमेरिकी प्रजातन्त्रको आधारशीला भएको बताए । उनले भने, “आठ वर्षअघि भन्दा अहिले अमेरिका हरहिसाबले राम्रो भएको छ, तर लोकतन्त्रलाई हामीले यस्तै त हो भनेर लिन थाल्यौं भने त्यो जोखिममा पर्छ ।“ आर्थिक असमानता, जातीय विभाजन र तथ्यका आधारमा अवधारणा नबनाइ खोक्रो टिप्पणी गरिने समाजका विभिन्न तहहरु अमेरिकाको लोकतन्त्रका तीन जोखिम भएको ओबामाको भनाइ थियो । उनले अलकायदा नेता ओसामा बिन लादेनसहित दशौँ हजार आतंकवादीलाई समाप्त पारेको भन्दै सुरक्षा निकायहरुलाई धन्यवाद समेत दिए । 

उक्त बिदाइ मन्तव्य समारोहमा प्रथम महिला मिशेल ओबामा, उपराष्ट्रपति जो बाइडेन तथा उनकी श्रीमती जिल लगायतका उपस्थिती रहेको थियो । राष्ट्रपतिले बिदाइ सम्बोधन गर्ने परम्परा अमेरिकी राजनीतिमा लामो समयदेखि रहँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]