January 10th, 2017

माघको दोस्रो साता साढे ९३ लाख कित्ता सेयर निष्काशन हुँदै

माघको दोस्रो साता तीन वटा वित्तीय संस्थाको ९३ लाख ५१ हजार आठ सय १५ कित्ता सेयर निष्काशन हुँदैछ । माघको ९ गते फरवार्ड कम्युनिटीले साधारण सेयर निष्काशन गर्दैछ भने सोही दिन देवः विकास बैंकको हकप्रद सेयर पनि निष्काशन हुँदैछ । त्यस्तै, माघ १० गते मञ्जुश्री फाइनान्सले हकप्रद सेयर निष्काशन गर्दैछ । 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको छ लाख कित्ता आईपिओ
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर (आईपिओ) माघ ९ गतेदेखि निष्काशन हुने भएको छ । माइक्रोपÞmाईनान्सले एक सय रुपैयाँ अंकित दरमा ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । संस्थाको सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।  

संस्थाले ३० हजार कित्ता सेयर कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको छ । बाँकी ५ लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सक्नेछन् । यसबाहेक, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा र उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सेयर निष्काशन छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते बन्द हुनेछ ।

संस्थाले गत पुस १९ गते नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशन गर्न अनुमति पाएको थियो । दुवही सुनसरी प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोपÞmाईनान्स वित्तीय संस्थाले २०६९ सालमा नेपाल राष्ट्र बैंकबाट ’घ’ बर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती प्राप्त गरेको थियो । 

हाल फरवार्ड कम्युनिटीको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । आईपिओ जारी गरेपछि संस्थाको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० कायम हुनेछ । नेटवर्थ ३५० रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी १२६.९५ रुपैयाँ रहेको छ ।

देवः विकास बैंकको ४४ लाख कित्ता हकप्रद सेयर
देवः विकास बैंकको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर आगामी माघ ९ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरमा ४४ लाख ५ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर एनआईबीएल क्यापिटल लिमिटेड, लाजिम्पाट, देव विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय पोखरा, विराटनगर र विरगञ्ज तथा गुडविल फाइनान्सको नेपालगञ्ज र इटहरी शाखाबाट पनि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । पुस १७ गतेसम्म कायम सेयधनीले उक्त हकप्रद भर्न पाउनेछन् । हकप्रद निष्काशन फागुन १५ गतेसम्म खुला रहनेछ ।

हकप्रद निष्काशन गर्ने निर्णयअघि बैंकले सेञ्चुरी बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो । सो प्रयास सफल हुन नसकेपछि बैंकले हकप्रद बाटै पुँजी बढाउने निर्णय गरेको हो । हाल देवः विकास बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार दुई सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बैंकले हाल कायम चुक्तापुँजीको १४ प्रतिशतले हुन आउने १२ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हकप्रद सेयर र बोनस सेयर दुबै वितरण गरेपछि देवः विकास बैंकको चुक्तापुँजी एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।  

मञ्जुश्री फाइनान्सको ४३ लाख ८६ हजार कित्ता हकप्रद सेयर
मञ्जुश्री फाइनान्स लिमिटेडले आगामी माघ १० गतेदेखि १७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बृद्धि गर्नका लागि १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४३ लाख ८६ हजार ३७५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । फागुन ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । 

हाल मञ्जुश्रीको चुक्तापुँजी २५ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ६८ करोड ९२ लाख ८७ लाख ५ सय रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]