January 9th, 2017

सांग्रिला डेभलपमेन्ट बैंकले यसरी पुर्याउँदैछ अढाई अर्ब चुक्तापुँजी

सांग्रिला डेभलपमेन्ट बैंकल पुँजीवृद्धिका लागि दुई वटा विकास बैंकलाई खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले कसमस डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई खरिद गर्न लागेको हो । सांग्रिलाले खरिद गर्ने भएपछि कसमस र नेपाल कम्युनिटी दुबैको सेयर कारोबार स्थगित गरिएको छ । 

हाल सांग्रिलाको चुक्तापुँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफाबाट १६.०७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब २४ करोड रुपैयाँको हाराहारीमा पुग्ने छ । 

यता, गत साउनमा हकप्रद सेयर जारी गरेर १० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको कसमस डेभलपमेन्ट बैंकले २३.६० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरिसकेको छ । बोनस सेयर जारी गरेपछि कसमसको चुक्तापुँजी १२ करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, तीन जिल्ले कार्य क्षेत्र भएको कम्युनिटीको चुक्ता पुँजी २० करोड ९५ लाख रुपैयाँ रहेको छ । यो बैंकले भने गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिने प्रस्ताव अघि सारेको छैन । 

दुबै बिकास बैंकलाई एक्वायर गरेपछि सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ५३ करोड रुपैयाँ नाघ्ने छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा टिकिरहन सांग्रिलाले असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्नेछ । थप पुँजीका लागि बैंकले हकप्रद सेयर र बोनस सेयरका अलावा मर्जर, एक्विजिनको विकल्प पनि खुला राखेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]