January 8th, 2017

यसरी भित्रिन्छ कोरीया र भारतबाट हुण्डीमा पैसा (रिपोर्टसहित)

वैधानिक तवरबाट रकम पठाउँदा महँगो पर्ने भन्दै अवैधानिक बाटोबाट रकम पठाउने नेपाली कामदारको संख्या घट्न सकेको छैन । सरकारले बैंक तथा रेमिट्यान्स कम्पनीहरुमार्फत मात्रै रकम पठाउन भनेपनि हुण्डीबाट पैसा पठाउने क्रम घट्न नसकेको हो । विभिन्न क्षेत्रबाट खरबौंको रकम हुण्डीबाट भित्रिन्छ । कोरिया र भारतबाट मात्रै १ खर्ब बढी हुण्डी भित्रिन्छ । 

पछिल्लो समय वैदेशिक रोजगारीका लागि आकर्षणको केन्द्र बनेको दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा अवैध बाटोबाट भित्रिने गरेको छ । त्यहाँबाट झन्डै ९६ प्रतिशत रकम हुन्डीमार्फत आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार दक्षिण कोरियाबाट ४ प्रतिशत रकम मात्रै वैधानिक (बैंक तथा रेमिट्यान्स कम्पनी) माध्यमबाट आउने गरेको छ । त्यहाँबाट वार्षिक ४२ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेकोमा २ अर्ब मात्र वैधानिक च्यानलबाट आउने गरेको छ भने ४० अर्ब रुपैयाँ हुन्डीबाट आउने गरेको छ । सन् २००८ यता झन्डै ३६ हजार नेपाली कोरिया पुगेका छन् । कोरिया सरकारले प्रत्येक ठूलो संख्यामा नेपाली कामदार लैजाँदै आएको छ । यस वर्ष कृषि क्षेत्रमा काम गर्न २ हजार १ सय र औद्योगिक क्षेत्रका लागि एक हजार गरी ३ हजार १ सय कामदार जाँदै छन् । त्यहाँ कार्यरत सबै नेपालीको कमाइ जोड्दा मासिक करिब १ करोडदेखि डेढ करोड रुपैयाँसम्म पुग्छ ।

बैंकहरूले रेमिट्यान्स रकम पठाएबापत चर्को शुल्क असुल्ने गरेकाले आफूले अवैध बाटो रोजेको वैदेशिक रोजगारहरु बताउँछन् । हुन्डीबाट रकम पठाउँदा उनीहरूका परिवार तथा नातेदारले छिटो पाउने भएकाले पनि अवैध बाटो रोज्ने गरेका छन् । बैंकिङ च्यानलबाट रकम पठाउँदा बढी समय लाग्ने हुन्छ साथै प्रक्रिया पनि केही झन्झटिलो हुन्छ । यसकारण पनि रेमिट्यान्सका लागि बैंकिङ च्यानलको प्रयोग बढाउने सरकारी प्रयास असफल जस्तै भएको छ ।  कोरियाबाट नेपाली कम्पनीले प्रत्यक्ष रूपमा रेमिट्यान्स भित्र्याउन पाउँदैनन् । कानुनी रूपमै रेमिट्यान्स कम्पनी स्थापना गर्न नसकिने भएकाले त्यहाँ हुन्डीको प्रयोग अत्याधिक हुने गरेको राष्ट्र बैंकको तर्क छ । हुन्डीवालाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मर्मअनुसार उधारोमा समेत काम गरिदिने भएकाले पनि यसको लोकप्रियता घट्नुको साटो झन्झन् बढ्दै गइरहेको छ । 

विदेश गएका नेपालीले अघिल्लो आर्थिक वर्ष ६ खर्ब १७ अर्ब बराबर रेमिट्यान्स पठाएको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स मलेसिया, कतार, साउदी अरबबाट आउने गरेको छ । 

हुण्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ ।

भारतबाट आउँछ बर्षेनी ३० अर्ब हुण्डीबाट 

भारतबाट बर्षेनी ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको नेपाल राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । राष्ट्र बैंकको अनुसन्धान बिभागका कार्यकारी निर्देशक नरबहादुर थापाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, भारतबाट भित्रिने कुल रेमिट्यान्समध्ये, ३० अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिरबाट र ४० अर्ब बैंकिङ च्यानलबाट भित्रिने गरेको छ ।

थापाले भारतसँग दुई तिहाइभन्दा बढी ब्यापार समेत अनौपचारिक रुपमा हुने गरेको जानकारी दिए । राष्ट्र बैंकले हालै गरेको बाह्य ब्यापारको भुक्तानी प्रविधि सम्बन्धि अध्ययनले भारतबाट आयात हुने वस्तुमध्ये २९ प्रतिशत मात्र बैंकिङ च्यानलबाट प्रतितपत्र खोलेर आउने र बाँकी ७१ प्रतिशत अनौपचारिक माध्यमबाट आउने देखाएको उनले बताए । त्यस्तै, भारत बाहेक तेस्रो मुलुकबाट आउने बस्तु भने ७४ प्रतिशत प्रतितपत्र खोलेर आउने गरेको उनले बताए । नेपालको कुल आयातमा भने ५१ प्रतिशत प्रतितपत्र मार्फत आउने उनले जानकारी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]