Sunday , January 22 2017

‘नेपालमै छ तपाईको भविष्य, लघुवित्तले गर्छ सहयोग’ (लघुवित्तकर्मी उदयराज खतिवडासँगको अन्तरवार्ता)

January 6, 2017

उदयराज खतिवडा स्वरोजगार लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । स्वरोजगार लघुवित्तले हाल १० जिल्लामा २९ वटा शाखा मार्फत सेवा दिदै आइरहेको छ  । यस संस्थाको पछिल्लो वित्तीय अवस्था र सेवा राम्रो देखिन्छ । यसै सन्दर्भमा कृषि र पशुपालनजस्ता व्यवसायलाई कर्जा लगानीको प्राथमिकतामा राखेर काम गरिरहेको यस संस्थाका सीईओ खतिवडासँग संस्थाको पछिल्लो अवस्था, भविष्यका योजना र सेवाबारे बैंकिङ खबर डटकमका रोयल आचार्य (डीपी)ले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।
 

स्वरोजगार लघुवित्त विकास बैंकको बारेमा वताइदिनुहोस् न ।
स्वरोजगार लघुवित्त विकास बैंक हाल १० जिल्लालाई कार्यक्षेत्र बनाएर कार्यरत छ । हाल २९ वटा शाखाहरु मार्फत २८ हजार ग्राहकहरुलाइृ यसले सेवा दिइरहेको छ । यस लघुवित्तको पूँजी ६ करोड ९९ लाख चानचुन छ । हाराहारी ७ करोड भन्न सकिन्छ । अब आगामी असार मसान्त सम्ममा साढे १० करोड पूँजी पुर्याउने लक्ष्य लिएका छौँ । आगामी ५ बर्षमा ४० करोड पूँजी पुर्याउने लक्ष्यमा छौँ । यसरी निरन्तर संस्था एउटा यात्रामा छ । समग्रमा स्वरोजगार लघुवित्त विकास बैंकको अवस्था राम्रो छ ।
नेपालमा ४० भन्दा बढी लघुवित्त संस्था छन्, तीमध्ये तपाईहरुजस्तै १० जिल्ला कार्यक्षेत्र भएका लघुवित्त पनि थुप्रै छन्, तीभित्र स्वरोजगार लघुवित्तको फरकपन के छ ?
हुन त लघुवित्तको सिद्धान्त अनुसार काम अरु संस्थाहरुले पनि गरेका छन् । तर केहि कुरा भने हाम्रो अन्य लघुवित्तका भन्दा फरक छन् । हामी उद्यमशिलाता विकासका क्षेत्रमा बढी क्रियाशिल छौँ । हामी कर्जा चाहिँ थोरै दिन्छौं तर सहि ठाउँमा त्यसको प्रयोग गराउने विषयमा जोड दिन्छौँ । ग्राहकहरुले तालिम चाहेमा तालिम प्रदान गर्छौँ । हाम्रो उद्देश्य भनेको कर्जा दिनु मात्र होइन । कर्जाको साथमा सिपमूलक तालिम पनि दिन सकौँ, जसका कारण कर्जाको सदुपयोग होस् । आज कर्जा लिन होडबाजी गर्ने धेरै छन् । कर्जामात्रै सबैचिजको समाधान होइन । जव सम्म उद्यमशिलताको विकास हुँदैन तबसम्म त्यो कर्जा बोझ मात्रै हुन्छ । यदी काम गर्छन र कामको सदुपयोगिताका लागि कर्जा लिन्छन भने त्यो चाहिँ फेरी एउटा उर्जा हो । नभए कर्जा बोझ हो भन्ने मेरो बुझाइ छ । हाम्रो संस्थाले उद्यमशिलता तालिमको व्यवस्था गर्ने गरेको छ । हामीले हाम्रा शाखाहरुलाई पनि बर्षमा २ पटक कस्तो प्रकारको तालिम माग हुन्छ ग्राहकहरुको बहुमतको माग अनुसार जे डिमाण्ड हुन्छ सोहि अनुसार न्युनतम बर्षको २ पटक तपाईहरुले तालिम उपलब्ध गराइदिनुस भनेर निर्देशन दिएका छौं । निर्देशन अनुसार शाखाहरुले त्यसको पालना गरिरहेका छन् ।
 
तालिमचाहिँ के सम्बन्धी र कस्ता व्यक्तिलाई दिनुहुन्छ ?
हामीले महिलालाई कुखुरा पालन, बाख्रा पालन, गाई पालन, व्यवसायिक तरकारी खेति तथा बिभिन्न किसिमका गुडिया बनाउने लगायतका सिपमूलक तालिम दिने गरेका छौँ । यस्तो तालिम हामी हाम्रा सदस्यलाई मात्र दिन्छौं, बाहिरियालाई दिदैनौँ ।
कर्जासँगै महिलाहरुलाई तपाईहरुले जुन तालिम दिनुहुन्छ, त्यसमा लाग्ने खर्चको भार चाहिँ तालिम लिनेले बोक्ने हो ?
होइन । हामीले प्रदान गर्ने विभिन्न किसिमका तालिमको खर्च हामीले नै व्यहोरिदिन्छौँ । तर पछिल्लो समय महिला दिदी बहिनीहरु तालिम भन्ने वित्तिकै भत्ता पाईन्छ कि पाइदैन् भनेर सोध्नुहुन्छ । हामी हाम्रा खर्चमा वहाँहरुलाई तालिम प्रदान गर्छौ तर भत्ता चाहिँ दिँदैनौं ।


तालिम लिने महिलाबाट रिजल्ट चाहिँ कस्तो आउने गरेको छ ?
तालिमबाट रिजल्ट चाहिँ उत्कृष्ट आएको छैन् । हामीले दिएको तालिम अनुसार १० देखी १५ प्रतिशतले मात्र त्यसको सदुपयोग गर्नुभएको छ । व्यवसायिक रुपमा तालिमको सदुपयोग नभए पनि त्यसबारे ज्ञान चाहिँ हासिल गर्नु भएको छ । आफूले नगरी हुँदैन भन्ने चेतना चाहिँ फैलिएको छ ।
१०/१५ प्रतिशतले तालिमको सदुपयोग गरेका छन् भन्नुभयो, उनीहरुले तालिमबाट प्राप्त सीपलाई कुन क्षेत्रमा सदुपयोग गरेको पाइयो ?
तालिम लिनेले आफु अनुकुल विभिन्न व्यवसाय गर्नुभएको छ । तर तीमध्ये सफलताको दर चाहिँ कृषिमा राम्रो छ । परम्परगत कृषि पेशा गरिरहेका कृषकहरु तालिम पछि व्यवसायिक किसान बन्न थालेका छन् ।


स्वरोजगार लघुवित्तको लगानी कुन क्षेत्रमा बढी छ ?
हामीले सबैभन्दा बढी लगानी कृषिमा गरेका छौँ । महिलाहरुले धेरै जसो कृषिमा नै कर्जा माग गर्नुपर्छ । कृषिलाई अब निर्वाहमुखीबाट व्यवसायिक बनाउन आवश्यक छ । परम्परागत रुपमा उही गोठे मलले खेति गर्ने, बिउँ पनि परम्परागत नै प्रयोग गर्ने गरिन्थ्यो । अहिले व्यवसायिक हिसाबले लगानी पनि गर्ने र व्यवसायिक रुपले नै लगानीको रिटर्न पनि लिने हिसाबले कृषकहरु अगाडी बढीरहेका छन् । कृषिमा नै हाम्रो धेरै लगानी छ ।


कर्जा दिँदा तपाईहरुले बिना धितो कर्जा कति सम्म दिनु हुन्छ अनि धितो राखेर कति सम्म दिनुहुन्छ ?
७ लाख रुपैयाँसम्म कर्जा हामी धितो राखेर दिन्छौं । बिना धितो अर्थात सामूहिक जमानीमा अधिकतम २ लाख रुपैयाँसम्म दिन्छौँ ।


बिना धितो दिइने कर्जा डुब्ने जोखिम कतिको हुन्छ ?
निश्यय पनि बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा  सिद्धान्त नै हो । केहि सिद्धान्त पालना गरेर काम गरियो भने चाहि डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ । जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन्, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन  र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ । अर्थात सामूहिक जमानी बसिदिन्छ । हामीले त्यहि आधारमा कर्जा दिएका हुन्छौँ । त्यसैले भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्था सो समूहले कर्जा असुल्ने विषयमा हामीलाई सहयोग गर्नेछ ।
कर्जा दिलाई दिने काम पनि समूहको र उठाइदिने काम पनि समुहको नै भएको हुँदा केहि निश्चित सिद्धान्तलाई पालना गरेर जाँदा हामीले धेरै जोखिम महसुस गरेका छैनौं । त्यसो त नेपालमा मात्र हैन । लघुवित्तहरु संसारमा नै सफल छ । झण्डै झण्ड संसारमा १३ देखी १४ करोड जना महिलालाई लघुवित्तले सेवा दिईरहेको छ ।  र त्यो १४ करोड महिलालाई दिइएको सेवा बिना धितो नै हो ।


कस्तो अवस्थामा कर्जा डुब्ने खतरा हुन्छ ?
गैर स्थानीयलाइृ कर्जा दिँदा चाहिँ डुब्ने खतरा हुन्छ । सम्पती भन्दा दायित्व धेरै भए पछि भाग्ने गर्छन । हामी पनि कुनै बेला त्यस्तो चपेटामा परेका थियौँ । तर स्थानीयलाई राम्रोसँग बुझेर लगानी गर्दा लगानी डुब्ने खतरा हुँदैन् ।
कुनै एक व्यक्ति स्वरोजगार बन्नका लागि सिधै यस लघुवित्तमा आएर कर्जा लिन सक्छ कि सक्दैन ?
बिना समूह त सम्भव छैन । समूह भएर महिला–महिला मिलेर आउनु भयो भने मात्र हामी कर्जा प्रवाह गर्न सक्छौँ ।


बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई लघुवित्तहरुले बैंक लेख्न नपाउने व्यवस्थासहित संसदमा टेबुल गरिएको छ, यसले लघुवित्तहरुलाई केही असर पार्छ ?
निश्चय पनि केहि असर त पर्छ नै । यो व्यवस्था आपत्तिजनक छ । लघुवित्तहरुलाई बैंक लेख्न बन्देज लगाउनु भनेको जनताप्रतिको धोका हो । के बैंकमा चाहिँ हुने खाने र सभ्रान्त वर्गले मात्रै कारोबार गर्ने ? ग्रामिण क्षेत्रका गरिबहरुले चाहिँ बैंकमा कारोबार गर्न नपाउने ? ग्रामिण क्षेत्रमा हेरौँ, ठूला वाणिज्य बैंक तथा विकास बैंक नपुगेका ठाउँमा हामी लघुवित्तहरु गएर काम गरिरहेका छौँ । त्यहाँका नागरिक बैंकसँग कारोबार गर्न पाइएकोमा खुशी पनि छन्, उनीहरु र हामीबीच एक किसिमको विश्वास स्थापना भईसकेको छ । तर अहिले आएर फेरि लघुवित्तलाई बैंक लेख्न बन्देज लगाउन उचित निर्णय होइन । यो अहिले संसदमा टेबुलमात्रै भएको छ, तर पारित भएको छैन । त्यसैले पारित गर्नुपर्ने बेलामा सांसदज्युहरुले सोच्नुहुन्छ भन्ने विश्वास छ ।


आम नागरिक, समाज र राष्ट्रले लघुवित्तबाट कस्तो अपेक्षा गर्न सक्छन् ?
धेरै अपेक्षा गर्न सक्छन् । हामीले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छौँ । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहँुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिदैन थियो । नेपालमा गरिबीको तथ्यांक हेरौँ न, सन् २००३ मा ४१ प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि थियो । तर २०१७ सम्म आइपुग्दा त्यो घटेर २० प्रतिशतको हाराहारीमा आएको छ । यसको मुख्य जस लघुवित्तहरुलाई नै जान्छ ।


भनेपछि देशको अर्थतन्त्रमा लघुवित्तको भूमिका नै सर्वोच्च मान्नुहुन्छ ?
देशको अर्थतन्त्रमा लघुवित्तको भूमिका एकदमै महत्वपूर्ण छ । देशको गरिवी घटाउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । पछिल्लो १५÷२० बर्षमा झण्डै २५ प्रतिशत जनसंख्या गरिबीको रेखामाथि आइसकेको छन् । यसमा रेमिट्यान्स तथा लघुवित्तको भूमिका महत्वपूर्ण छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् । यस्ता प्रकारले लिने कर्जामा लघुवित्त नै हो । लघुवित्त बाटै धेरैले लिन्छन् । हालै मात्र राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार चानचुन २० लाख परिवारले लघुवित्तबाट सुविधा पाइरहेका छन् । शुद्ध लघुवित्त विकास बैंकको सदस्य भएर २० लाख लभान्वित भएका छन् ।


तपाईको विचारमा आम नागरिकको जीवनस्तर उकास्नका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
उद्यमशिल शिक्षा दिनुपर्छ । बाउले छोरालाई इतिहास र अर्थशास्त्रमा बिहे पास गराइदिन्छन् । बिए पास गरेपछि छोरामा एउटा अहम विकास हुन्छ कि मैले बिहे पास गरे अब हलो जोत्नु हुँदैन् । यसको मतलव हाम्रो शिक्षा यद्यमशिल रहेनछ भन्ने हो । त्यसैले अब पढ्दा वा पढाउँदा प्राविधिक शिक्षापटि जोड दिनुपर्छ । स्नातक पनि बाख्रा पालन, कुखुरा पालन तथा व्यवसायिक तरकारी खेति जस्ता बिषयमा स्नातक गनुपर्छ । जुन शिक्षा लिइन्छ त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । व्यवसायिक शिक्षा लिनु आवश्यक छ । आफै स्वरोजगार बन्न सक्नु पर्छ । मान्छे आफै स्वरोगार भन्दा बाहिरी जागिरतिर ध्यान दिन्छ । मान्छेलाई कि जागिर खाने कि बिदेश जाने भन्ने सोच हुन्छ । यसलाई म जोकको रुपमा लिन चाहान्छु । नेपालको यति उर्बर माटोमा सुन फलाउन छाडेर मान्छे अरब कतारमा बालुवा जोतिन जाँदैछन् ।
 
नेपाललाई आर्थिक समृद्धि तर्फ धकेल्न यहाँका केहि सुझाव छन् कि ।
हामी सोच बनाउँछौँ, त्यसको कार्यान्वयन गर्दैनौँ । हामी पढ्छौँ, व्यवहारमा त्यो ज्ञान लागु गर्दैनौँ । हामी अरुको हेर्छौ र छक्क पर्छौँ, तर अरुलाई छक्क पार्ने गरी काम गर्नेतिर अग्रसर हुँदैनौँ ।
हामी सरकारलाई गाली गर्छौँ, राजनीतिलाई गाली गर्छौँ, तर आफु चाहिँ केहि गर्दैनौँ । सरकारलाई गाली गर्दै विदेशिन्छौँ । समृद्धिका बाधक भनेको हाम्रा यस्तो प्रवित्तिहरु हुन् । हेर्नुस, आज विकसित भएका देशका नागरिकले विगतमा हामीजस्तै अरुको काम गरेर वा अरुको देशमा मजदुरी  गरेरै भविष्य गुजार्ने ठानेका हुन्थे भने आज उनीहरु हामीभन्दा धनी हुँदैन थिए । अहिलेसम्म पनि ती देशका नागरिक अरुकै देशमा काम गरिरहेका हुन्थे । तर उनहरुले आफ्नै देश बनाउन सकेमात्रै भविष्य सुनिश्चित छ भन्ने कुरा सोच र आज हाम्रोजस्तो मुलुकका युवालाई काम लगाएर आफ्नो देशलाई अझै विकास गरिरहेका छन् । उदाहरणका लागि इजरायल, आजभन्दा ७० वर्षअघि इजरायलमा भोकमरि थियो, आज कृषिमा विश्वकै नेता निर्यातक देशमा पर्छ । त्यसैले भविष्य यहिँ खोज्ने हो भने मुलुकको समृद्धि अवश्यम्भावी छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *