January 5th, 2017

भारतबाट एक अर्ब भारु ल्याउने राष्ट्र बैंकको निर्णय, अब वाणिज्य बैंकले पनि टुक्रे सुन र अमेरिकी डलर ल्याउन पाउने

नवराज कुँवर

नेपाल राष्ट्र बैंकले भारतबाट एक अर्ब बराबरको भारु नोट ल्याउने भएको छ । बिहिबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । भारतीय रिजर्भ बैंकलाई भारु उपलब्ध गराउन गरेको आग्रह स्वीकृत भएपछि राष्ट्र बैंकले एक अर्ब बराबरको भारु नोट ल्याउने निर्णय गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नाराणप्रसाद पौडेलले बैंकिङ खबरलाई जानकारी दिए । 

भारतले डेढ महिनाअघि कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजार दरका नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा पनि भारुको अभाव हुँदै आएको छ । त्यसैले नेपालमा भारु अभाव समाधान गर्न भन्दै आरबीआईसँग भारु नोट उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको थियो । सो आग्रह स्वीकार गर्दै तत्कालका लागि १ अर्ब भारु दिन आरबीआई तयार भएको हो ।

माघको दोस्रो साताभित्र १ अर्ब भारु नेपाल भित्रिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए । राष्ट्र बैंकले आफुसँग भएको डलर आरबीआईलाई बेचेर भारु खरिद गर्न लागेको हो । भारतबाट आएपछि नेपालमा भारुको अभाव समस्या समाधान हुने पौडेलले बताए । भारतले २ हजार दरका नयाँ भारु नोट जारी गरे पनि आरबीआईले खुला नगरेकाले नेपालमा प्रतिवन्ध नै रहेको पौडेलले स्पष्ट पारे । 

नेपालमा रहेको ५ सय र १ हजार दरका प्रतिबन्धित भारु साट्ने विषयमा छलफल गर्न भारतीय अधिकारी नेपाल आउन लागेको समेत उनले जानकारी दिएका छन् । यद्यपी उनीहरु आउने समय भने तय भईनसकेको उनले बताए । राष्ट्र बैंकले व्यक्तिगत अवस्था हेरेर बढीमा २५ हजार भारुसम्म सटही गरिरहेको छ । नागरिकता देखाएर २ हजार, सटहीको उद्देश्य खुलाएमा बढीमा १० हजार र औषधी उपचारका लागि बढीमा २५ हजार भारु दिँदै आएको छ  । 

वाणिज्य बैंकले अब अमेरिकी डलर र टुक्रे सुन पनि ल्याउन पाउने 

 

निजी क्षेत्रबाट संचालित वाणिज्य बैंकलाई पनि नगद अमेरिकी डलर र टुक्रे सुन ल्याउन राष्ट्र बैंकले अनुमति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
डलर ल्याउन पाउने 

अहिलेसम्म राष्ट्र बैंकसहित सरकारी स्वामित्वमा रहेका बैंकलेमात्रै विदेशबाट डलर ल्याउन पाउँथे । त्यसैले निजी क्षेत्रका वाणिज्य बैंकहरुले पनि बिदेशबाट नगद डलर ल्याउन पाउनुपर्ने माग राख्दै आएका थिए । तर राष्ट्र बैंकले बट्टादर फरक पर्न सक्ने भन्दै अनुमति दिएको थिएन । बिहिबार बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले वाणिज्य बैंकहरुलाई विदेशबाट डलर ल्याउन अनुमति दिएसँगै अब निजी क्षेत्रका वाणिज्य बैंकले आफैँ अमेरिकी डलर ल्याउन पाउने भएका हुन् ।

वाणिज्य बैंकहरुले अब विदेशबाट ल्याएको डलरमा प्रतिडलर ३० पैसासम्म बढी हुने गरी विनिमय दर निर्धारण गर्न सक्ने अधिकार राष्ट्र बैंकले दिएको छ  । 

टुक्रे सुन ल्याउन अनुमति 

राष्ट्र बैंकले वाणिज्य बैंकलाई टुक्रे सुन ल्याउन पनि अनुमति दिएको छ । अहिलेसम्म वाणिज्य बैंकहरुले एक किलोभन्दा माथिका सुनका ढिक्कामात्र ल्याउन पाउँथे । तर सुन व्यवसायिहरुले टुक्रे सुन पनि किन्न पाउनुपर्ने माग गरेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई टुक्रे सुन ल्याउन अनुमति दिएको हो ।

राष्ट्र बैंकले सुनचाँदी आयात गर्न वाणिज्य बैंकहरुलाई मात्रै अधिकार दिएको छ । फेरि वाणिज्य बैंकहरुले १ किलोभन्दा घटीको सुन ल्याउन नपाउने व्यवस्थाले आफुहरु मर्कामा परेको भन्दै सुन व्यवसायिहरुले गुनासो गर्दै आएका थिए ।

राष्ट्र बैंकको बिहिबारको निर्णयसँगै अब सुन व्यवसायिको माग पनि सम्बोधन भएको छ । अब बैंकहरुले सय र पाँच सय ग्रामका सुनका टुक्रा पनि ल्याउन पाउने छन् ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]