March 26th, 2016

तरलता व्यवस्थापनमा बढ्दो चुनौती

nepal-rastra-bank photoबैँक तथा वित्तिय संस्थामा निक्षेप बढिरहेको छ । भूकम्प, तराई आन्दोलन र नाकाबन्दीका कारण चालू आर्थिक वर्षमा बैँकहरुको लगानी भने खुम्चिएको छ । निक्षेपअनुसारको कर्जा लगानी हुन नसक्दा बजारमा तरलता थुप्रिरहेको छ । बजारमा भएको सो तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैँकलाई हम्मे हम्मे परिरहेको छ । नेपाल राष्ट्र बैँकले चालू आर्थिक वर्षको माघसम्ममा मात्र बजारबाट ४ खर्ब रुपैँयाभन्दा बढी तरलता प्रशोचन गरिसकेको छ । केन्द्रिय बैँकले विभिन्न मौद्रिक उपकरणमार्फत सो लगानीयोग्य रकम उठाएको हो । 

बैँकहरुमा तरलता अधिक भएपछि चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा बजारबाट ४ खर्ब ४ अर्ब ८५ करोड  रुपैँया बराबरको तरलता खिचिसकेको राष्ट्र बैँकले जनाएको छ । गत आर्थिक वर्षभरिमा ४ खर्ब ७६ अर्ब ८० करोड रुपैँया बराबरको तरलता प्राशोचन गरिएको थियो । चालू आर्थिक वर्षमा बजारबाट खिचिएको तरलतामध्ये निक्षेप बोलकबोलमार्फत २ खर्ब ८५ अर्ब ४० करोड रुपैँया उठाइएको छ । त्यस्तै, रिभर्स रिपोमार्फत् १ खर्ब ३७ अर्ब ३५ करोड रुपैँया तरलता प्रशोचन गरिएको छ भने सोझै विक्रि बोलकबोलबाट १ खर्ब १ अर्ब रुपैँया रकम प्रशोचन गरेको राष्ट्र बैँकले जनाएको छ । बजारबाट खिचिएको उक्त रकम व्यवस्थापन गर्नका लागि राष्ट्र बैँकले १९ करोड व्याज खर्चिएको छ । 
चालू आर्थिक वर्षको माघसम्ममा बैँकहरुले १९ खर्ब २२ अर्ब निक्षेप संकलन गरि १४ खर्ब ५८ अर्ब कर्जा लगानी गरेका छन् । राष्ट्र बैँकका अनुसार ०७२ माघमा भने ८.२ प्रतिशतले बढेको छ । यस अवधिमा वाणिज्य बैँक, विकास बैँक, र वित्त कम्पनिहरुको निक्षेप क्रमशः ८.८, ४.७, र ७.४ प्रतिशतले बढेको छ । यसअघि, ०७१ माघसम्ममा बैँकहरुको निक्षेप ५.९ प्रतिशतले बढेको थियो । त्यस्तै, चालू आर्थिक वर्षको माघसम्ममा बैँकहरुको कर्जा लगानी ७.१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैँकहरुको कर्जा लगानी १०.५ प्रतिशतले बढेको थियो । 
तरलता अझै बढ्न सक्ने प्रक्षेपण
राष्ट्र बैँकले जनाएअनुसार विदेशबाट प्राप्त हुने रेमिट्यान्स समेत बढेकाले बैँकहरुमा रकम थुप्रिएको हो । अहिलेको आर्थिक मन्दीका कारण कर्जाको माग न्यून रहेको बैँकहरु बताउँछन् । तराई समस्या समाधान भई विकास खर्च बढ्ने र पुनर्निर्माण प्राधिकरणमार्फत पुनर्निर्मााणको कार्य अघि बढेसँगै फेरि तरलता उच्चदरमा बढ्ने बैँकहरुको अनुमान छ । 
उच्चदरमा निक्षेप बढेपनि कर्जा प्रवाहमा समस्या हुन थालेपछि बैँक तथा वित्तिय संस्थाले लगातार व्याज घटाउन थालेका छन् । उनीहरुले आफ्नो बेसरेटभन्दा पनि कममा लगानी गरिरहेका छन् । अहिले बैँकहरुको बचतमा औसत १.२५ देखि १.७५ प्रतिशत मात्र व्याज प्रदान गरिरहेका छन् भने नयाँ सवारी तथा घरकर्जाको औसत व्याजदर ६ देखि ७ प्रतिशतमा झरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]