January 3rd, 2017

रेमिट्यान्स पठाउने सरल र सुरक्षित तरिका, थाहा पाउनैपर्ने जानकारी

नेपालीहरु अध्ययन, घुमफिर तथा रोजगारीका लागि विदेशिने गर्दछन् । जसमध्ये, वैदेशिक रोजगारमा बढी मात्रामा जाने गर्दछन् भने घुमफिरका लागि जानेको संख्या कम हुने गर्दछ । नेपालमा व्याप्त वेरोजगारी तथा गरीबीको समस्याले पैसा कमाउने उद्देश्यले लिएर वर्षेनि लाखौँको संख्यामा युवाहरु कतार, मलेशिया लगायतका खाडी मुलुकमा गएका हुन्छन् । विदेशमा पैसा कमाएर नेपालमा परिवार पाल्नेहरुले पैसा पठाउनको लागि विभिन्न उपायहरु खोजिरहेका हुन्छन् । विशेषतः भर्खरै विदेश गएकाहरुलाई सुरुमा पैसा पठाउनुपर्दा कसरी पठाउने होला भन्ने द्धिविधा हुन सक्छ । विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई सुरक्षित रुपमा पैसा पठाउन बैंक खाता वा रेमिट्यान्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ । यसका लागि Prabhu money transfer, Western Union Money Transfer, IME, Money Gram जस्ता विभिन्न रेमिट्यान्स कम्पनिहरु सञ्चालनमा आएका छन् । बैंक खाताभन्दा रेमिट्यान्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ । पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ । 

कसरी पठाउने पैसा ?
रेमिट्यान्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिट्यान्स कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिट्यान्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ । फारममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिट्यान्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ । बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तर्राष्ट्रिय सञ्जाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तर्राष्ट्रिय कोड जसलाई स्विफ्ट कोड -(SWIFT-Society of Worldwide International Financial Software)भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ ।

हुन्डी कारोबार गर्दै नगर्नुस्
हुन्डीबाट गरिएको कारोबार अवैधानिक हो । त्यसैले यो दण्डनीय छ । नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । हुन्डी कारोबार गरेको थाहा पाएमा विभागले कारबाहीका प्रक्रिया अघि बढाउँछ । यसबाहेक, हुन्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुने पो होकि ? या, आफूू रकम पठाएको एजेन्ट पक्राउ पो पर्यो कि ? जस्ता डर मनमा भइरहन्छन् । जबसम्म आफन्तको हातमा पैसा पुगेको खबर पाइँदैन तबसम्म पैसा पठाउनेलाई चिन्ता भइरहन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]