January 3rd, 2017

बीमा समितिका अध्यक्षलाई बिमकहरुको आग्रह,  पहुँच बढाउनु प्रमुख आवस्यकता

बीमा समितिको अध्यक्षमा सरकारले चिरञ्जीवी चापागाँइलाई नियुक्त गरेको छ । नेपालको बीमा क्षेत्रको नियमन, व्यवस्थापन, विकास र विस्तार गर्ने काम बीमा समितिले गर्ने गर्दछ । पछिल्लो समय नेपालमा बीमा व्यवसाय पनि राम्रै अवस्थामा छ । बीमा समितिले राम्रो काम गरेको खण्डमा यो व्यवसाय अझै बढी फस्टाउने बताइन्छ । बीमा भनेको बिमक वा बीमा कम्पनीका लागिमात्रै नभएर बिमितहरुका लागि पनि उत्तिकै फाइदाजनक छ । त्यसैले सर्वसाधरणलाई बुझाउने हो भने बीमा व्यवसाय विस्तार गर्न त्यति धेरै चुनौति पनि छैन । यसमा सबैभन्दा महत्वपूर्ण भूमिका बीमा समितिको रहन्छ । यसै सन्दर्भमा हामीले विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमा विज्ञलाई बीमा समितिको नयाँ नेतृत्वले कुन–कुन कुरामा विशेष ध्यान पुर्याउनुपर्ला भनेर सोधेका छौँ ।
 
 अश्विनी कुमार ठाकुर, सीईओ, राष्ट्रिय बीमा संस्थान

नियमनकारी निकाय भएकाले बीमा समितिमा आउने नेतृत्व नियमन गर्ने क्षमताकै हुन्छन् ।  बीमा समितिको नेतृत्वले बीमा कम्पनी र नागरिक दुवैबीचको तादाम्यता कायम राख्ने खालका योजनाहरु बनाउन सक्नुपर्छ । बीमा क्षेत्रलाई नजिकबाट बुझेको व्यक्ति हुनुपर्छ । विश्लेषणात्मक क्षमता राख्नुपर्छ । किनकी बीमा कम्पनीबाट नियमन त हुन्छ साथमा सुपरिवेक्षण र मनिटरिङ पनि गर्न सक्नुपर्छ । अहिलेको अवस्थामा हेर्ने हो भने नियमन भएपनि बीमा समितिबाट सुपरिवेक्षण र मनिटरिङको अवस्था कमजोर छ । यसबारे अबको नेतृत्वले ध्यान पुर्याउनु आवश्यक छ । त्यसैगरी बीमा साक्षरतालाई प्राथमिकतामा राख्नुपर्छ । किनभने कुनै पनि व्यवसायको विकास र विस्तारको लागि त्यसको प्रचार र नागरिकमा त्यससम्बन्धी जानकारी अत्यन्तै महत्वपूर्ण मानिन्छ । केही वर्षयता बीमा व्यवसायको विस्तार सकारात्मक नै देखिन्छ । यसलाई अझ बढाउनुपर्छ । यसको लागि नियमनकारी निकायको भुमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । अहिले चयन हुनुभएका नयाँ अध्यक्षलाई सफल कार्यकालको शुभकामना छ ।


 
एनपी प्रधान, सीईओ, लुम्बिनी जनरल इन्स्योरेन्स 
 
सरकारले हालै बीमा समितिको अध्यक्षमा चिरञ्जिवी चापागाँईलाई नियुक्त गरेको छ । उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ । अब उहाँले बीमा व्यवसायलाई विस्तार गर्दै समितिलाई हाँक्ने योजनाहरु ल्याउनुहुन्छ भन्नेमा हामी विश्वस्त छाँै । स्वभाविक रुपमा अहिले हाम्रो मुलुक संक्रमणकालबाट गुज्रिरहेको छ । यो अवस्थामा कुनै पनि क्षेत्र प्रभावित नहुने कुरै हुँदैन । हाम्रो व्यवसाय पनि प्रभावित भएको छ । यस्तो परिस्थितिका बाबजुत समितिको मुख्य उद्देश्यअनुरुप काम गर्नुपर्छ । कसैको मनमा ठेस नपुगोस्, तर कुनै पनि निकायको नेतृत्वमा आउने व्यक्तिले कुनै पनि पार्टी वा आस्थाभन्दा माथि रहेर काम गर्नुपर्छ । राष्ट्र र राष्ट्रियतालाई प्राथमिकता दिएर काम गर्ने क्षमता राख्नुपर्छ । जो जसको सिफारिसमा आएपनि नागरिकको लागि काम गर्नुपर्छ । बीमा क्षेत्रमा अहिले जुन किसिमले अस्वस्थ प्रतिष्पर्धा बढीरहेको छ, यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ । बीमा इन्ड्रष्ट्रिलाई हाँक्ने व्यक्तिको खाँचो छ । बीमा व्यवसायका चुनौतिलाई बुझ्ने, नियमन र सुपरिवेक्षण गर्न सक्ने हो भने नेपालमा बीमा व्यवसाय व्यवस्थान, विस्तार र विकासका लागि धेरै समय पर्खिरहनुपर्छ जस्तो लाग्दैन ।
 
 
सञ्चित बर्जाचार्य, सीईओ, प्रभु इन्स्योरेन्स लिमिटेड
नेपाल सरकारको निर्णयबाट नियमनकारी नियका बीमा समितिको अध्यक्षमा चिरञ्जिवी चापागाँई नियुक्त हुनुभएकोमा उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ । नेपालमा बीमा व्यवसायको व्यवस्थापन, विकास र विस्तार गर्नु बीमा समितिको मुख्य उद्देश्य हो । यसका लागि समितिले बीमा कम्पनीहरुलाई नियमन गर्नुका साथै समयानुकुल नीति निर्माण पनि गर्ने गर्दछ । त्यसैले समितिमा आउनुभएका अबको  नेतृत्व बीमा क्षेत्रका समस्या, चुनौतिहरु केलाउनुपर्छ । उहाँ बीमा क्षेत्रमा भिजेको व्यक्ति मानिनुहुन्छ । त्यसैले पनि हामीले उहाँबाट धेरै कुराको अपेक्षा गर्न सक्छौँ । अहिले पनि बीमाको पहुँचमा जति नागरिक छन् त्यो चित्तबुझ्दो छैन । बीमामा नागरिकको पहुँच विस्तार गर्नैपर्दछ । त्यसका लागि बीमा साक्षरताको विकास गर्नुपर्दछ । जुनै क्षेत्र वा व्यवसाय विकास वा विस्तारका लागि उपयुक्त नीति र त्यसको प्रभावकारी कार्यान्वयन सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैल उपयुक्त नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने काममा चुक्नुहुँदैन ।
 
सुद्युम्नाप्रसाद उपाध्याय, सीईओ, प्रिमियर इन्स्योरेन्स कर्पोरेसन,
 
बीमा समितिले नयाँ नेतृत्व पाएको छ । नयाँ नेतृत्वको जिम्मेवारी पाउनुभएका चिरञ्जिीवी चापागाँईजीलाई बधाई तथा कार्यकालको शुभकामना छ । बीमा क्षेत्रमा रहेका चुनौतिहरु निश्चय पनि धेरै मानिसहरुलाई थाहै छ । अहिले बीमाको दायरामा रहेका मानिसहरुको संख्या कम छ । यो नै प्रमुख चुनौति हो । बीमा साक्षरताको कमी छ, यो अर्को चुनौति हो । बीमा बुझेर पनि बीमा नगर्नेहरुको संख्या पनि कम छैन यो पनि अर्को चुनौति हो । त्यसैले पनि बीमा समितिको नयाँ नेतृत्वले यी कुुराहरुमा विशेष ध्यान दिनुपर्छ । जुनै क्षेत्र वा संस्थाको नेतृत्वकर्ताले पनि ध्यान दिनुपर्ने कुरा के हो भने, विगतमा के कति कमजोरी भए र अब त्यसलाई सुधारेर कसरी अघि बढ्ने भन्ने विषयमा स्पष्ट कार्यदिशा बनाउनुपर्दछ । बीमा समितिले नेपालमा बीमा व्यवसायलाई अझै विस्तार गर्ने खालको नीति बनाउनुपर्छ । त्यतिमात्रै होइन यस व्यवसायलाई व्यवस्थित पनि बनाउनुपर्छ ।
 
चन्द्र सिंह साउद, बीमा विज्ञ

पहिले त, हालै बीमा समितिको अध्यक्षमा नियुक्त हुनुभएको चिरञ्जिवी चापागाँई जीलाई धेरै धेरै बधाई छ ।
नेपालमा बीमा व्यवसाय सुरु भयो लामै समय भईसकेको छ । तर अझै पनि ६÷७ प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा देखिन्छन् । त्यसैले बीमाको पहुँच विस्तार गर्ने खालको योजनाहरु अबको नेतृत्वले अघि बढाउनुपर्छ । यो बीचमा पशु तथा बाली बीमा सुरु हुनु सकारात्मक छ । अब यसैलाई विस्तार गर्ने हो भने पनि बीमाको पहुँच केही हदसम्म विस्तार हुन मद्दत पुग्नेछ । अहिलेसम्म बीमा ठूलो कारोबारीको पहुँचमै सीमित देखिएको छ । ग्रामिण क्षेत्रमा बीमा व्यवसाय विस्तारका लागि बीमा समितिले पनि खासै राम्रो भूमिका निर्वाह गर्न सकेको छैन । सरकारको पनि यसमा कमीकमजोरी थुप्रै छन् । त्यसैले अबको नेतृत्वले आफ्नो कार्यकालमा ७ प्रतिशतबाट १० प्रतिशत नागरिकमा बीमाको पहुँच विस्तार गर्ने क्षमता राख्नुपर्छ । पशु तथा बाली बीमाको प्रचार गरी ग्रामिण क्षेत्रमा बीमा व्यवसाय विस्तार गर्ने रणनीति तयारी गरी लागू गर्न सक्नुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]