December 31st, 2016

एउटा साहित्यकारले यसरी बनाए सफल बैंकर्सको छवि : बैंकर्स देवेन्द्र प्रताप शाहको जीवनी

नवराज कुँवर – हरेक मानिससँग सपना हुन्छन् । त्यहि सपना अनुसार मानिसहरु दौडिरहेका हुन्छन् । त्यसैले पनि हुन सक्छ, दुनियाँका हरेक मानिस व्यस्त देखिन्छन्, आफ्नै चाहाना, रहर र सपनाको खोजीमा । तर विडम्बना मानिसले देखेका सबै सपना पूरा हुँदैनन् । त्यसैले एकजना साहित्यकारले लेखेका छन्– ‘पूरा सपना साकार हुँदैन, भाग्यको कुनै आकार हुँदैन ।’
 
आफ्नो सपनाले पूर्णता नपाउँदा धेरै मानिसहरु हतोत्साहित हुन्छन्, जीवनबाट हार खान्छन् र बाँकी जीवनलाई त्यहि हारमुनि राखेर जिउँछन् । तर कोहि मानिस हारेपनि प्रयास गरिरहन्छन् । किनकी यो संसारमा प्रयास र अभ्यास नै त्यस्तो शक्ति हो जसले एकदिन जितसम्म पुर्याएरै छाड्छ । जीवनचक्रमा बाध्यताको ठाउँ पनि फराकिलै हुन्छ । मानिसलाई बाध्यता आइ नपर्दो हो त न उसले जीवनमा कहिले गल्ती गर्छ, न हार्नु नै पर्छ । मानिसको असफलतामा बाध्यताले निकै ठूलो भूमिका खेलेको हुन्छ । फुटबलर बन्न चाहाने व्यक्तिको घर हिमाली क्षेत्रमा छ, घरमा आफ्नै किसिमको बाध्यता छन् । यहाँनेर उसको सपना किचिन्छ । भन्नेले भन्छन्– ‘दृढ इच्द्धाशक्ति भयो भने सबै कुरा सम्भव छ ।’ यो भनाई आफ्नो ठाउँमा ठीक छ । तर कहिले काहिँ बाध्यता पनि यस्तो शक्ति भएर देखिन्छ, जसले साँच्चै मानिसका रहरहरुमाथि दमन गरिदिन्छ । त्यसैले मानिसले आफ्नो चाहाना र सपना एकापट्टि थन्क्याएर बाध्यताले देखाएको बाटो अंगाल्न बाध्य हुनुपर्छ । तर कतिपय मानिसले सपना र बाध्यताको झोली दुइवटै काँधमा बाकेर हिँडेको पनि देखिन्छ ।

यसरी भूमिका बाँधिरहँदा यहाँ एकजना यस्ता उदहरणीय व्यक्तिबारे लेख्न खोजिएको छ, जसलाई हामी बहुप्रतिभाशाली व्यक्तिको रुपमा चिन्न सक्छौँ । उनी एक सफल बैंकर्स, व्यवस्थापक तथा एक कुशल साहित्यकार पनि हुन् । हो, बैंकर्स देवेन्द्र प्रताप शाह, जो आफ्नो सपना र बाध्यताबीचको तादाम्यतालाई मिलाएर जीवनमा अघि बढिरहेका छन् । उनले जीवनमा एउटा सफल साहित्यकार बन्ने सपना बुने । तर अहिले उनी एक सफल बैंकर्सको रुपमा परिचित छन् । उनलाई अहिले पनि त्यहि सपनाले सताइरहन्छ जुन उनले देखेका थिए । त्यसैले पनि आफ्नो प्रोफेसन जे भएपनि उनले कलम विर्सिएका छैनन् । र रंग्याइरहन्छन् डायरीका खाली पानामा सहित्यका मसिहरु ।

बाल्यकाल
धादिङमा जन्मिएका उनको बाल्यकाल सामान्य थियो । सानैदेखि साहित्यमा उनले रुचि देखाएका थिए । लेखपढ गर्ने बेला भएपनि उनी काठमाडौँ आए र यहिँ पढ्न थाले । शहरको रेसमा उनको साहित्यप्रतिको झुकाव उस्तै रहेपनि वास्तविकता त्योभन्दा अलि पर पुग्यो । किनकी एउटा साहित्यकार भएरै मात्र जिउन गार्हो थियो । जिउनका लागि यहाँ रेस जित्नुपर्छ । त्यहि रेस जित्ने क्रममा उनले साहित्यभन्दा फरक विदामा आफ्नो पढाई पूरा गरे । जसले उनलाई बैंकिङ क्षेत्रमा ल्यायो ।

बैंकिङ करियर
विक्रम सम्बत २०२९ सालमा उनी कृषि विकास बैंकमा सेक्सन अफिसरको रुपमा बैंकिङ क्षेत्रमा प्रवेश गरे । झण्डै ३० वर्ष उनले कृषि विकास बैंकमा विताए । त्यसपछि उनी बीमा कम्पनीहरुको नियमक बीमा समितिमा डेढ वर्ष काम गरे र उनी नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन् ।

नेपाल बैंकमा आएपछि उनी आफुलाई एक सफल बैंकर्स तथा कुशल व्यवस्थापकको रुपमा स्थापित गराउन सफल भएका छन् । किनकी केहि महिनाअघिसम्म रोगी अवस्थामा रहेको बैंकलाई उनले अहिले स्वस्थ बनाइदिएका छन् । त्यसअघि उनले कृषि विकास बैंकको जीएम् तथा बीमा समितिको अध्यक्ष बनेर समेत काम गरेको त्यहिँ रहँदा उनले एक सफल व्यवस्थापक परिचय बनाइसकेका थिए ।  

सहित्य र शाह
देवेन्द्र प्रताप शाह एक लेखक तथा साहित्यकार पनि हुन् । साहित्य उनको सपना हो । त्यसैले भन्छन्– ‘बैंकिङ क्षेत्रबाट रिटायर्ड भएपछि साहित्यमा नै सक्रिय हुनेछु ।’ किनकी बैंकर्सको रुपमा काम गरिरहँदा पनि उनलाई आफ्नो सपनाले पछ्याउन छाडेको छैन । यद्यपी अहिले पनि उनी साहित्यबाट धेरै टाढा भने छैनन् । उनको भाषामा पर्याप्त समय साहित्यलाई दिन नसकेकामात्रै हुन् । एउटा व्यस्त जीवन जिइरहँदा पनि उनले केहि कृतिहरु भने पस्किसकेका छन् । उनले बैंकसँग सम्बन्धित केही फिक्सन र नन फिक्सन पुस्तकहरु लेखेका छन् भने एउटा कथा संग्रह साझा प्रकाशनबाट प्रकाशित छ । शाह भन्छन्– ‘मेरो रुचि साहित्य हो, म कथा लेखक पनि हुँ । जतिबेलामा मलाई फुर्सद मिल्ने गर्दछ, त्यतिबेला म लेख्ने र पढ्ने गर्दछु ।’ उनले बैंकर्सको अनुभूति सम्बन्धी एउटा किताब पनि लेखेका छन् ।

साहित्य र पत्रकारिताको सपना  
आफु बैंकिङ क्षेत्रमा नआएको भए, साहित्य र पत्रकारिता क्षेत्रमा जाने इच्छा रहेको उनले सुनाए । पत्रकारितामा जाँदा साहित्यमा गहनता बढ्ने भएकाले उनी पत्रकार पनि हुन चाहान्थे तर बैंकिङ क्षेत्रमा नआएको भए ।

बैंकिङ क्षेत्रको रमाईलो अनुभूति
कृषि विकास बैंकमा ३० वर्ष काम गर्ने क्रममा उनले भोगको एउटा स्मरणीय अनुभव उनले यसरी सुनाए– ‘कृषि विकास बैंक गतिशिल र सामान्य वर्गका मानिससँग जोडिने बैंकको रुपमा छ । कृषि विकास बैंक सिधै गरीब मानिसहरुसँग जाने बैंक भएकाले जनतालाई उधारो सहयोग गर्ने पनि बैंकको रुपमा परिचित छ । यो बैंककोे ऋण उत्पादनमुखि क्षेत्रमा बढी जाने गदर्छ । त्यसो हुँदा म त्यहाँ काम गर्दा धेरै गरीबको मुखमा हाँसो पनि दिलाउन पाएँ, हेर्दा हेर्दै उनिहरुको जिवनस्तर उकासिएको पनि देख्न पाईयो । बच्चाबच्ची स्कुलमा पढाउन नसकेकालाई पनि स्कूलमा पठाउन सफल भइयो । यो सबै कुरा संम्झिदा रमाईलो अनुभूति हुन्छ ।’

भविष्यका योजना
आफ्ना भविष्यका योजनाबारे शाहले भने–‘मेरो व्यक्तिगत जीवनमा यो बैंकबाट अवकास प्राप्त गरेपछि पनि साहित्यमानै समय दिनेछु । किनकी मेरो विधा नै साहित्य र दर्शन हो । मेरो सिद्धान्त जसो तसो जनतालाई सेवा गर्ने हो । यसको मतलव म राजनीतिमा जाने होइन । मेरो जागिर नभएको भए लेख्ने र पढ्ने काममा व्यस्त हुने थिएँ । म पढ्नमा भोको भएकाले आफैमा गुनासो छ । घरमा सबैखालका किताबहरु छन्, फुर्सद नभएकाले पढ्न पाएको छैन । यो मेरा आफैप्रति गुनासो छ । त्यसैले भविष्यमा साहित्यलाई निरन्तरता दिने छु ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]