Sunday , February 26 2017

प्रविधिबारे कति थाहा छ तपाईँलाई ? हेर्नुस्, जान्नैपर्ने केही प्राविधिक शब्दावलीहरु

December 31, 2016

आज हामी विज्ञान तथा प्रविधिको युगमा छौँ र यसमा हामी गर्व गर्छौँ । दिनदिनै नयाँ नयाँ प्रविधि भित्रिइरहेको कुरा गर्छौँ । तर, के हामी आफूले आफूलाई नयाँ प्रविधिसँग जोड्न सफल भएका छौँ त ? हामी प्रविधिको युगमा भएकाले कम्तीमा प्रविधिहरुका बारेमा आधारभूत ज्ञान लिइरहनु राम्रो हुन्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिको दुनियाँमा हामीले जान्नैपर्ने केही शब्दावलीहरुलाई यहाँ प्रष्ट पार्ने कोसिस गरिएको छ : 

थ्रीजी/फोरजी/फाइभजी
पछिल्लो समयमा धेरै प्रचलनमा आएका शब्दमध्येमा पर्छन, थ्रीजी, फोरजी र फाइभजी । जी भन्नाले जेनेरेशन (पुस्ता) भन्ने बुझिन्छ । हरेक जेनेरेशनको फरकसँगै इण्टरनेटको गति वा तीव्रतामा सुधार आउने गर्छ । अमेरिकाका ताररहित इण्टरनेट सुविधा प्रदायक तथा उपकरणका निर्माताहरू अहिले आफ्नो सुविधा थ्रीजीबाट फोरजी हुँदै फाइभजीमा स्तरोन्नति गर्नेतर्फ लागिपरेका छन् । अहिलेको सुधार तथा स्तरोन्नतिको प्रगति हेर्दा फाइभजी इण्टरनेट सुविधा हामीबाट धेरै पर नरहेको अनुमान गर्न सकिन्छ । नोपालमा भने भर्खरै फोरजीको सुरुवात गर्ने तरखर गरिएको छ । 

क्लाउड स्टोरेज
व्यक्तिगत सूचना, मिडिया तथा अन्य डाटा सञ्चयका लागि क्लाउड स्टोरेजको प्रयोगमा व्यापकता आएको छ । इण्टरनेट सुविधा रहेको कुनै पनि स्थानबाट आफूद्वारा सञ्चित सामग्रीसम्म पहुँच बनाउन सकियोस् भन्ने अवधारणाका साथ यसको विकास गरिएको हो । यसका प्रयोगकर्ताको सङ्ख्यामा समेत अहिले उल्लेख्य वृद्धि भएको छ । यसले समग्र सूचना प्रणालीको गतिमा कमी आउनुका साथै सुरक्षासम्बन्धी खतरा बढ्न थालेको बताइएको छ ।

साइबर सेक्युरिटी
साइबरमा रहेका सूचना, जानकारी तथा साइबरमा जडित उपकरणलगायतलाई सुरक्षित राख्न अपनाइने कदमलाई साइबर सेक्युरिटी भनिन्छ । क्लाउड स्टोरेजलगायत सञ्चय सुविधाको अत्यधिक प्रयोगका कारण यसको आवश्यकता झन् व्यापक हुन थालेको छ । भाइरस, हानिकारक कोड तथा अन्य व्यक्तिबाट आफ्नो सूचनाको अनधिकृत प्रयोग हुनेलगायत साइबर थ्रेटबाट जोगिन यसको थप परिमार्जित रूपको आवश्कयता महसूस गर्न थालिएको छ ।

साइबर फिजिकल सिष्टम (सीपीएस)
भौतिक कुराहरू नियन्त्रण गर्न प्रयोग हुने हार्डवेयर तथा सफ्टवेयरको एकीकृत रूप हो, सीपीएस । यो मानिसको संलग्नता हुने तथा नहुने दुवै किसिमका हुन सक्छन् । एण्टिलक ब्रेक तथा स्वचालित मास ट्राञ्जिट प्रणाली (सब–वे) हाम्रा सामु रहेका केही उदाहरण हुन् । यसको विकसित रूपहरू चालकरहित (स्वचालित) कारलगायत प्रविधि यसै वर्ष सार्वजनिक हुने सम्भावना छ । यसले मानिसको जीवनमा सहजता ल्याउने भए तापनि कुनै बेला बिग्रिएमा भने यसले समय, पैसा र मानवीय क्षतिसमेत निम्त्याउन सक्छ । यिनै कुरालाई ध्यानमा राखेर प्राविधिकहरू यसको थप विकासमा लागिपरेका छन् ।

औद्योगिक (इण्डष्ट्रियल) इण्टरनेट
लोकप्रिय सञ्चार संरचना (कम्युनिकेशन इन्फ्राष्ट्रक्चर)का रूपमा हाम्रा सामु आउँदै गरेको नयाँ प्रविधि हो, औद्योगिक इण्टरनेट । मानिस, डाटा तथा मेशिनसम्म पहुँच बनाउन तथा तिनलाई नियन्त्रणका लागि यसको प्रयोग गर्न सकिन्छ । यसले क्लाउड स्टोरेज, कम्प्युटिङ सुविधा तथा विभिन्न सफ्टवेयरको उपयोग गर्दै सेन्सरका सहायताले मेशिन चलाउन सहयोग गर्छ । जेट इञ्जिन, ग्यास टर्बाइन, मेडिकल स्क्यानरलगायत उपकरण यसको मद्दतले चल्छन् । सही व्यक्तिलाई सही जानकारी सही समयमा दिने क्षमता भएको यो प्रविधिले भविष्यमा निकै लोकप्रियता पाउने निश्चित छ ।

एडभान्ष्ड म्यानुफ्याक्चरिङ
सूचना प्रविधि सम्बन्धित प्रणाली र उत्पादकले आफ्नो उत्पादनकोे गुणस्तर बढाउन प्रयोग गर्ने विभिन्न उपायको एकीकृत रूपलार्ई एडभान्ष्ड म्यानुफ्याक्चरिङ प्रणाली भन्ने गरिन्छ । प्रयोगकर्ताको माग तथा चाहनाका आधारमा अहिले उत्पादनहरूमा अत्याधुनिक प्रविधिको प्रयोगले व्यापकता पाउने थालेको छ, जसले गर्दा तिनको प्रयोग समेत कठिन हुन थालेको छ । यस्ता उत्पादन तयार गर्न धेरै समय तथा लगानीको समेत आवश्यकता पर्दछ । यसरी मूल्य तथा समयको लागतमा कमी ल्याउन ¥यापिड प्रोटोटाइपिङ र कम्प्युटर मोडलिङलगायत उपाय अपनाउने गरिन्छ । उदाहरणका लागि, जीईएभिएशन म्यानुफ्याक्चरिङ कम्पनीले ग्यास टर्बाइन तथा जेट इञ्जिनलाई सुहाउँदो नयाँ सेरामिकको विकास गर्ने कार्यमा लागिपरेका छन् । यसको विकासले जेट इञ्जिन निर्माणका लागि लाग्ने मूल्य तथा समयमा कमी आउने बताइएको छ ।

बिग डाटा
साधारण डाटाबेस व्यवस्थापन प्रोग्रामबाट सङ्ग्रहित तथा मूल्याङ्कन गर्न असम्भव हुने ठूला प्रवृत्तिका डाटालाई बिग (ठूला) डाटाको संज्ञा दिइन्छ । यस्ता डाटा व्यवस्थित वा अव्यवस्थित दुवै प्रवृत्तिका हुन सक्छन् । व्यावसायिक हिसाब, ईमेल सन्देश, फोटो, सर्भे्यिन्स भिडियो, साइबरमा गरिने क्रियाकलापलगायत यसका उदाहरण हुन् । साथै, ब्लग्स तथा सामाजिक सञ्जालमा पोष्ट गरिएका ठूला डाटासमेत यसमा पर्दछन् ।

अग्र्युमेण्टेड रियालिटी
हलिउड अभिनेता आरनोल्ड स्वाजनेगरद्वारा अभिनीत ‘टर्मिनेटर’ फिल्ममा देखाएझैं भौतिक संसारमा रहेका चीजबिजको जानकारी बटुलेर आँखासामु ल्याउन सघाउने प्रविधिलाई अग्र्युमेण्टेड रियालिटी भनिन्छ । प्राविधिक उपकरणको सहायताले यो कुरा वास्तवमै यथार्थ सावित हुन लागेको छ । जस्तै– यो उपकरण सार्वजनिक भएपछि कपडा पसलेले आफ्ना ग्राहकलाई विशेष प्रोग्रामको सहायताले तिनले मन पराएको कपडा तिनले लगाउँदा कस्तो देखिन्छ भनी वास्तवमा लुगा परिवर्तन नगरीकनै देखाउन सक्नेछन् । त्यसैगरी, घर निर्माणमा लागेका कामदारले घरको भित्ता डिजाइनअनुरूप बने/नबनेको मापन आफ्नै आँखाबाट उपकरणका सहायताले गर्न सक्नेछन् । यस्ता कार्य अग्र्युमेण्टेड रियालिटीको सहायताले वास्तवमै निकट भविष्यमा यथार्थ पुष्टि हुने देखिन्छ ।

एजाइल डेभलपमेण्ट मेथड
सूचनाप्रविधिको सुविधालाई थप सहज र सजिलो बनाउने सिद्धान्तको उपज हो, एजाइल डेभलपमेण्ट मेथड । एजाइल सफ्टवेयर विकास प्रक्रियाले कोडलाई सहज, बढी अनुसन्धानात्मक तथा प्रयोगकर्तालाई थप सहजताको अनुभव दिने उद्देश्य राख्दछ । यसले ग्राहकलाई एकैपटक ठूला तथा कठिन उपकरण दिनुभन्दा उपकरणको विकास क्रममै तिनको आवश्यकताअनुसार स–साना परिमार्जन गर्दै त्यसको विकास गरिन्छ ।

म्यासिभओपन अनलाइन कोर्स (एमओओसी)
वेबमा आधारित एकैपटक धेरैजनालाई सिकाउने उद्देश्यका साथ सञ्चालित कोर्स वा कक्षालाई एमओओसी भनिन्छ । इण्टरनेट सुविधाको प्रयोग गरी सिक्न सकिने यी कक्षा सबैका लागि खुला हुन्छन् । यसले परम्परागत कक्षाको अवधारणालाई ठूलै चुनौती दिने देखिन्छ ।

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *