December 29th, 2016

बीमा समिति अध्यक्ष नियुक्तिमा विवाद

नवराज कुँवर–
 अर्थमन्त्रीले बीमा समितिको अध्यक्ष आजै (विहिबार) नियुक्त गर्ने तयारी गरेपनि विवादका कारण नियुक्ति प्रक्रिया अल्झिएको छ । श्रोतका अनुसार अर्थमन्त्री कृष्णबहादुर महराले सिफारिस गरेका नाममा माओवादी केन्द्रकै केही नेता र मन्त्रीहरुले आ–आफ्नो पक्षकालाई नियुक्त गर्न दबाब दिएपछि आज निर्णय हुन नसकेको हो । तर अर्थमन्त्रीले भने बीमा समितिको अध्यक्षमा आफुले भनेको व्यक्ति नै हुनुपर्ने अडान राखेका श्रोतको दाबी छ । अर्थमन्त्रीले पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेलाई नियुक्त गर्ने तयारी गरेका छन् । उनी निकट श्रोतले भन्यो, ‘घिमिरे नै समिति अध्यक्षमा नियुक्त हुने पक्कापक्की हो । यसबारे एकहदसम्म निर्णय पनि भईसकेको छ तर भोलि औपचारिक रुपमा जानकारी गराइनेछ ।’
 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बिहिबार) बिहान मन्त्रिपरिषदको बैठक बसेको थियो । करिब एकहप्ताअघि देखि रिक्त रहेको बीमा समितिको अध्यक्ष पदमा सरकारले आजै नयाँ व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको थियो । तर त्यस विषयमा सामान्य विवाद उब्जिएकाले निर्णय हुन नसकेको एक मन्त्रीले जानकारी दिए । यही पुस ७ गतेबाट प्रा.डा. फत्तबहादुर केसीको कार्यकाल सकिएपछि बीमा समितिको अध्यक्ष पद रिक्त छ । सरकारले सोही दिन समितिमा नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी गरेपनि अध्यक्ष प्रत्यासीहरुको संख्या बढी भएपछि अध्यक्ष नियुक्तिको प्रक्रिया झण्डै एक साता पछि धकेलिदै आएको छ । बिहिबारको बैठकमा अर्थमन्त्री महराले बीमा समितिको अध्यक्षको लागि आफुले तयार पारेको ‘सर्टलिष्ट’ प्रस्तुत गरेका थिए । महराले पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरे, रमेश कुमार भट्टराई र चिरञ्जीबी चापागाईको नाम सिफारिस गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]