December 28th, 2016

प्रसंग – भारतीय नोट प्रतिबन्ध : कांग्रेसले सरकारसँग गर्यो यस्तो प्रश्न

कांग्रेस उपाध्यक्ष राहुल गान्धीले बैंक खाताबाट पैसा निकाल्ने सम्बन्धमा लगाइएको सबै प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् । पाँच सय र एक हजार दरको नोटमा प्रतिबन्ध लगाएसँगै मुलुकमा नोट अभावको समस्या देखिएपछि सरकारले हरेक हप्ता २४ हजार रुपैयाँ निकाल्नुपर्ने भनि सीमा तोकिदिएको थियो । सो प्रतिबन्ध तत्काल फुकुवा गर्न गान्धी सरकारलाई आग्रह गरेका हुन् । साथमा नोटमा प्रतिबन्द लगाइनुभन्दा पहिले आफ्नो खातामा २५ लाख वा सोभन्दा बढी रकम जम्मा गर्नेहरुको सूची पनि सार्वजनिक गर्नुपर्ने गान्धीको भनाइ छ । 

गान्धीले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमार्फत सो आग्रह गरेका हुन् । उनले गरेको ट्विटमा भनिएको छ, ‘नोटबन्दीको फैसला अत्यन्तै धनी व्यक्तिहरुका लागि गरिएको हो । तर, यसमा हिन्दुस्तानका गरीब, किसान, मजदुर, मध्यम वर्गीय तथा विपन्न वर्गका मानिसहरुको बलि चढाइएको छ ।’ 

कांग्रेस पार्टीको स्थापना दिवसको समयमा कांग्रेसले नोट प्रतिबन्धसँग सम्बन्धित एक मागपत्र जारी गरेको थियो, जसमा नोट प्रतिबन्धसँग सम्बन्धित हरेक प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनैपर्ने बताइएको थियो । उक्त मागपत्रमा सोधिएको थियो, ‘नोटमा प्रतिबन्द लगाइएदेखि आजसम्म कति कालो धन बाहिर आयो ? सरकारको यस फैसलाले देशको अर्थव्यवस्थामा कस्तो असर परिरहेको छ ? यो फैसलापछि आजसम्म कतिले आफ्नो जागीर गुमाए ? नोट प्रतिबन्धका कारण मारिएका व्यक्तिको आफन्तले कति क्षतिपूर्ति पाए ?’

गरीबीको रेखामुनि रहेका महिलाहरुले नोट प्रतिबन्धको असर सबैभन्दा बढी भोग्नुपरेको भन्दै कांग्रेसले यस्ता सबै महिलाहरुको खातामा २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने माग समेत अघि सारेको छ । (बीबीसी हिन्दीबाट अनुवाद गरिएको)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]