Friday , March 31 2017

बैंकिङ मर्जर :  व्यबस्थापनमा समस्या 

December 28, 2016

नवराज कुँवर-

नेपाल राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजीको बाध्यकारी व्यवस्था लागू गरेपछि बैंक तथा वित्तीय संस्थाहरु मर्जर, एक्वीजिशनमा गईरहेका छन् । कतिपयले हकप्रद, बोनश सेयर जारी गरेर चुक्ता पुँजी पुर्याइरहेका छन् । तर बोनश र हकप्रदबाटमात्रै चुक्ता पुँजी पुर्याउने बैंक तथा वित्तीय संस्थाको संख्या एकदमै न्यून छ । अर्थात मर्जर वा एक्वीजिशनबाट चुक्ता पुँजी पुर्याउँदै गरेका बैंक तथा वित्तीय संस्थाको संख्या नै बढी छ ।
मर्जरमा जानु बैंक तथा वित्तीय संस्थाको बाध्यता हो । एउटा ढाँचा र गतिमा चलिरहेको संस्थामा अर्को संस्थाको फरक ढाँचा र फरक गति मिसाउँदा निश्चय पनि केही प्राविधिक तथा कार्यगत भिन्नता देखा परिहाल्छ । फेरी केन्द्रीय बैंकले लागू गरेको नियम मान्दिन भन्न पनि पाइँदैन । नीति पालना गर्नका लागि अन्य विकल्प पनि केही छैन । त्यसैले अधिकांश बैंक तथा वित्तीय संस्थाले मर्जरको बाटो अपनाउने क्रम जारी छ । गत भदौमा दुई वटा डेभलपमेण्ट बैंक गाभिएर एउटा बैंकले एकीकृत कारोबार सुरु गर्यो । मर्जरअघि दुवै विकास बैंक ग्राहकको मन जित्न सफल बैंकका रुपमा स्थापित थिए । तर चुक्ता पुँजीको चटारोले उनीहरुलाई मर्जरमा जान बाध्य पार्यो । त्यसैले बैंकको अध्यक्ष, कार्यकारी अधिकृतलगायत अन्य कर्मचारीको प्रारम्भिक समायोजन गरी दुवै बैंक मर्जरमा गए, र एकीकृत कारोबार पनि सुरु गरे । तर पछि बैंकमा कर्मचारी व्यवस्थापन, कार्यशैली, प्राविधिक पाटोलगायतका केही समस्या देखा परे । ‘कर्मचारी समायोजनको पाटो त्यति ठूलो समस्या थिएन’, मर्जरपछि बनेको सो बैंकका एक विशिष्ट कर्मचारीले भने, ‘कार्यशैली र प्राविधिक समस्या भने देखा पर्यो ।’ यद्यपी बैंक व्यवस्थापन समिति सक्षम रहेकाले त्यस्ता समस्या हल हुँदै गएको ती कर्मचारीले सुनाए ।


मर्जर गरेका कतिपय वाणिज्य बैंक पनि यस्ता समस्याबाट अछुतो छैनन् । वाणिज्य बैंकहरुलाई पनि मर्जरपछि कर्मचारी व्यवस्थापन, कार्यशैलीलगायतका समस्याले सताउने गरेको छ । त्यसैले धेरैजसो वाणिज्य बैंकहरुले मर्जरभन्दा एक्वीजिशनलाई बढी जोड दिने गरेको पाइन्छ । यसरी बैंक तथा वित्तीय संस्थालाई एकापट्टि मर्जरमा गएरै भएपनि केन्द्रीय बैंकद्धारा निर्दिष्ट चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता छ भने अर्कोतिर फेरी मर्जरपछि केहि समस्या आइपर्दा संस्थालाई प्रतिकुल प्रभाव पर्ने सम्भावना पनि उत्तिकै रहन्छ । अझै कतिपय बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गईरहेको सन्दर्भमा हामीले विभिन्न बैंक तथा वित्तीय संस्थालाई मर्ज गरी एकीकृत कारोबार सुरु गरेका, त्यतिमात्रै होइन आफ्नो संस्थालाई केन्द्रीय बैंकद्धारा निर्दिष्ट चुक्ता पुँजी नजिक पुर्याइसकेका बैंकर्सलाई सोधेका छौँ–‘मर्जरपछि देखिने समस्याहरु के–के हुन् र त्यस्ता समस्यालाई कसरी समाधान गर्न सकिन्छ ?’ हेरौँ उनीहरुको जवाफ :   
 
 
उपेन्द्र पौडेल, प्रमुख कार्यकारी अधिकृत, एनएमबि बैंक
खासगरी मर्जरपछि बैंक वित्तीय संस्थाका कर्मचारीहरुको काम गर्ने शैलीले केहि समस्या निम्त्याउने गर्दछ । दुई संस्थाहरुमा नीति तथा प्राथमिकताका कुराहरु नै फरक हुने गरेकाले पनि काम गर्ने शैली नमिल्न सक्छ । अर्को, कर्मचारी व्यवस्थापनको पाटो मुख्य समस्याका रुपमा देखिन्छ । त्यस्तै कर्मचारीहरु नयाँ संस्थामा झट्टै जाँदा कामको सवालमा अन्यौलमा पर्ने गर्छन् । त्यतिबेलै बैंकलाई पनि कर्मचारी व्यवस्थापनको चटारोले सताउँछ । कर्मचारीहरुमा काम गर्ने तरिका र उनीहरुसँग भएको सीपमा भिन्नता हुने गर्दछ । सञ्चार शैली पनि नमिल्न सक्छ, कर्मचारीहरुको शृङ्खला तलदेखि माथि कि माथि देखि तल भन्ने अन्योलता हुन सक्छ । प्रमुखरुपमा यीनै समस्या देखा पर्दछन् ।


तालिमको माध्यमबाट समाधान खोज्ने
मर्जरपछि देखिने समस्याको समाधानका लागि कर्मचारीहरुमा सञ्चार र तालिमको विकास गर्नु हो । मर्जरमा जाने संस्थाको प्रणाली के छ, त्यो विषयमा स्पष्ट हुनुपर्दछ । त्यसैगरी सबै कर्मचारीहरुबीचमा तालिमको विस्तार गर्नुपर्दछ । कर्मचारीलाई मर्जरमा गएर बनेको संस्थाले वा नेतृत्वले विभेद गर्नुहँदैन । उनीहरुलाई बढुवा गर्ने, सरुवा गर्ने, त्यसैगरी सेवासुविधामा हेरविचार गर्ने काममा विलकुल विभेद गर्नुहुँदैन ।

 
कृष्ण राज लामिछाने, प्रमुख कार्यकारी अधिकृत, कैलाश विकास बैंक
बैंक तथा वित्तीय संस्था मर्जरपछिको प्रमुख समस्या भनेको कर्मचारी व्यवस्थापन हो । मर्जरपछिको केही समय कर्मचारीबीचको सहकार्य मर्जरमा जानुअघिको संस्थामा जस्तो हुँदैन । मर्जरअघिको संस्थाको र पछिको संस्थाको संस्कृति नै फरक हुने गर्छ । त्यहि कारणले गर्दा कर्मचारीमा केही समस्या देखा पर्दछ । त्यसैगरी संस्थाका अरु वित्तीय अवस्थाको बारेमा सबै पूर्व सहमति हुने गर्दछ । सञ्चालक समिति पनि मर्जर अघि नै सहमतिका आघारमा टुङ्ग्याईन्छ र बाँकी केहि समस्या रहेमा साधारण सभाले कार्यसमितिको टुङ्गो लगाउँछ । अततः मर्जरपछि देखिने प्रमुख समस्या भनेकै कर्मचारी व्यवस्थापनको हो । 


समाधानको लागि के गर्ने ?
मर्जरपछि जे जति समस्याहरु देखा पर्दछन्, त्यसको समाधान भनेको बैंक तथा वित्तीय संस्थाहरुले मर्जरमा जानुअघि आफ्ना संंस्थाका कर्मचारीबीच व्यापक रुपमा छलफल तथा अन्र्तक्रिया गर्नुपर्छ । संस्था मर्जरमा जानुअघि नै कुन कर्मचारीलाई कुन पदमा राख्ने हो सोही कुराको निक्र्यौल गर्नुपर्छ । त्यसका साथै मर्जरमा जाने संस्थाका बारेमा तालीम दिने गर्नाले मर्जरपछि देखिएका समस्या समाधान गर्न सकिन्छ ।

धर्मराज पाण्डे निवर्तमान अध्यक्ष, नेपाल माइक्रोफाइनान्स एसोसियसन 

हाम्रो अनुभवमा बैंक तथा वित्तीय संस्था मर्जरमा गईसकेपछि जनशक्ति व्यवस्थापनमा प्रमुख समस्या देखा पर्दाे रहेछ । भावनात्मक रुपमा एकता गर्न समस्या पर्दाे रहेछ । त्यसैगरी कर्मचारीको क्षमता बढाउनुपर्ने आवश्यकता पनि हुन्छ । कर्मचारीमा हिनताबोध हुने गर्दाे रहेछ । हाम्रो बजार प्रतिस्पर्धा उन्मुख भएकाले मर्जरपछि कर्मचारीमा केहि समस्या निश्चयनै देखा पर्छ कि नयाँ संस्थामा के कसरी अघि बढ्ने भनेर । त्यतिमात्रै होइन, कर्मचारीमा अन्यौलता समेत बढेको पाइन्छ । त्यस्तै बोर्डमा पनि केही समस्या देखा पर्दछ । मर्जरपछि छोडेका बोर्ड सदस्यहरुले आफ्नो प्रतिनिधित्व नभएको जस्तो महसुस गर्ने गर्छन् । मर्जरपछिका प्रमुख समस्या यीनै हुन् ।


समाधानका लागि यसो गर्न सकिन्छ :
बोर्डमा आलोपालो गर्नुपर्छ । संस्थाको प्रमुखले लगानीका हिसाबमा सोहि संस्थाका कर्मचारी देखि सबै सञ्चालकहरुलाई समेटर जानुपर्छ । कर्मचारी कुन तहमा लिने, कसरी लिने, उनीहरुको स्तरोन्नति कसरी कायम गर्नेलगायतका कुरामा विचार पु¥याएर निर्णय लिनुपर्छ । यसो गर्दा कर्मचारीमा सोही निर्णयले हिनताबोध हुने सम्भावना कम हुन्छ । कर्मचारीलाई तालिम दिएर कार्यक्षमतामा बृद्धि गर्ने, बढुवा गर्ने तलब तथा सेवा सुविधामा स्तरोन्नति गर्ने लगायतको कामले यी समस्याहरु समाधान हुँदै जान्छन् ।   


मर्जर अनुभवले देखाएको बाटो
विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर सम्पन्न गरिसकेका यी बैंकर्सहरुको अनुभव अनुसार बैंक तथा वित्तीय संस्थामा मर्जरपछि देखिने प्रमुख समस्या भनेको, कर्मचारी व्यवस्थापन र कार्यशैलीको फरकपन नै मान्न सकिन्छ । उनीहरुले दिएको सुझावअनुसार यस्ता समस्याबाट छुट्कारा पाउन मर्जरमा जानुअघि नै कर्मचारीहरुसँग प्रभावकारी छलफललाई प्राथमिकता दिने, यदि मर्जरमा गइसकेको भए कर्मचारीहरुमा विभेदरहित व्यवहार गर्ने हो भने विस्तारै यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *